
नोष्टाल्जियामा सिन्दुरी गाई !
पेशल आचार्य
सम्वत् २०३५ देखि २०३६ फागुन सम्मका केही धुमिल घटनाहरूलाई आजको स्मृतिमा राख्ने कोसिस गरेको छु । कति सक्छु हेरौं ।
यो मेरा बाल्यकालीन तथा किशोरकालीन वयका र हाम्रा घरमा पालिएका पशुहरूका बारेमा देखेभोगेका कुराहरूलाई जस्ताको तस्तै राख्ने प्रयास गरेको छु ।
हाम्रो घरमा खासगरी गाई र बाख्रा पालिएको सम्झना छ । भैँसी एकदम कम मात्रामा पालिएको छ भने बुवाले आफ्नो जागिरमा फिल्ड जान आउनका लागि केही घोडाहरू समेत पाल्नु भएको छ ।
घोडाका बारेमा बिस्तारमा पछि लेख्ने छु ।
आजचाहिँ सिन्दुरी गाईका बारेमा औधी लेख्न मन छ । त्यो मुक पुश नजाने अहिले कहाँ पुगिसक्यो होला ? कहाँ पुग्यो भन्नुको सेन्स ‘दिवङ्गत भयो होला’ भन्न खोजेको हो । म त लगभग अब बूढ्यौली उमेरमा हिँड्न लाग्दै छु भने म आफू १३–१४ वर्षको हुँदा पालिएको गाई यतिखेर कहाँ पुग्यो पुग्यो ? कुन रूपमा अर्को जुनी बिताउँदै होला या त्यो पनि नहोला ? के हो के हो ? यो सृष्टिको रहस्य । के थाहा !?
गाईभैँसी र गोरुको आयु बीस वर्ष हो भनेर सुनेको हूँ । यकिन अझै थाहा छैन । झापामा पटुवारी टोलका एकजना पोखरेलले पालेको बूढो रातो सिलेवा रङ्को गोरु देखाउँदै त्यस बेलाका बूढा पाकाहरू भन्ने गर्थे –‘यो बीस सालको बहर रे ! यसले आफू बहर हुँदा उधुमै शक्ति देखाउँथ्यो रे !!’ मैले २०३७ साल हिउँदमा देख्दा त्यो गोरु १७ वर्षको थियो । लामालामा सिँङ् भएको गोरुलाई घन्टी बाँधेर सबैभन्दा अघि हिँडाउने गरिएको देखेँ । सायद् पुरानो भएकाले जंगलमा चर्न जाँदा अरूलाई बाटो देखाउने र घर फर्किंदा हराउँदैन भनेर होला । ठूलो रालो बजाएर पचास साठी गाईवस्तुको थकाली झैँ भएर घरबाट जंगल र जंगलबाट घर गरेका चित्र अझै मेरा आँखा सामु झल्झली आइरहन्छन् ।
गाई गोरुको आयु कति हो ? कति उमेर बाँच्छन् तिनीहरू ? यो कुरा मैले त्यो बेला कसैलाई सोधिन् । सोध्ने जरुरतै परेन पनि ।
अहिले सम्झिरहेको छु । एकसाथ बीस सालको बहर र हाम्रो घरको सिन्दुरी गाईलाई ।
अँ ! सिन्दुरी गाईचाहिँ सुनसरीमा पालिएको हो । कुप्राकुप्रा सिँङ भएको त्यो गाई गाई मात्र थिएन हामी केटाकेटीका लागि ‘धाइ आमा’ जत्तिकै थियो । त्यसैले पनि अहिले यो मेसोमा त्यसलाई सम्झेको हूँ ।
घरै नजिकको स्कुल । चार घन्टी पढेर खाजा खाने हाफ छुट्टी हुन्थ्यो । नजिकै घर हुने हामी खाजा खान हुरुरुरुरुरु घरै आउँथ्यौ । मजा लाग्थ्यो । बिहानको उब्रेको भात राखिदिएको हुन्थ्यो आमाहरूले । आमाहरू खेतबारीमा काम गर्न कता जानु भएको हुन्थ्यो पत्तै हुँदैनथ्यो । ढोकाको चाबी कहिले दलानको छानाको पालीमा, कहिले गुहालीमा कहिले कसैका घरमा छोडिने चलन । स्कुलबाट कुद्दै आयो । भोकले आँखा देखिँदैनथ्यो । अनि बिहानको भात खोज्यो । तताउन, भुट्न र मजाले खान मन त लाग्थ्यो नि तर के गर्नु ? स्कुलमा घन्टी लागि हाल्थ्यो । पढाइ छुट्ने डरले थरहरी हुइन्थ्यो ।
अनि जे छ त्यसैलाई तीन भाग लगाएर बाँड्यो । खायो । मिठो लाग्थ्यो । अझ के मानेमा मिठो भने जसले जति चाँडो खान्थ्यो उसले कचौरा र पिलेट माझ्नु पर्दैनथ्यो । त्यो खुसीमा पनि हामी तीन भाइका बीच प्रतिस्पर्धा हुन्थ्यो ।
म जहिल्यै हार्ने । मेरो काम कचौरा र पिलेट माझ्ने । झरेका भातका सिता टिप्ने र सफा गर्ने । सकेर जाँदा पाँचौं घन्टी लागिसकेको हुने । कहिले त कुटाइ पनि मिल्ने तर धेरैजसो खाजा छुट्टीपछि जगमंगल चौधरी सरको भूगोल विषय भएकाले वहाँले कहिल्यै नमिठो बोल्नु भएन । पिट्नु भएन । आफैँ बरु एक वर्ष पनि नपढाई स्कुल छाडेर हिँड्नु भो । यो कुरा मैले अघिल्ला स्मृतिमा लेखिसकेको छु ।
अँ ! सिन्दुरी गाईको कुरा थियो । बडो सुवानी गाई । झट्ट हेर्दा हान्ने जस्तो मुहुडा तर नहान्ने सुवानी गाई ।
सुवानी मात्र नभएर दुधालु समेत । कहिलेकाहीँ घरमा बिहानको भात उब्रिदैनथ्यो त्यो बेलामा गाई गुहालीमै छ भने या बाहिर छ भने हामी सरासर गएर गाईको कल्चौंडो र थुन पखालेर चुस्न थाल्थ्यौं । उभिएको भए सजिलोसँग चुस्न सकिन्थ्यो तर गाई बसेको छ भने गाह्रो हुन्थ्यो । लोतोलोतो थियो सिन्दुरी गाई उठाउनै नसकिने । अनि कहिले त भोकै स्कुल जानु पर्दथ्यो । स्कुल नजाऊँ बेलुका बाको धुलाई खाने पिर । जाऊँ घरमा आएर पनि न भात न दूध होइन्थ्यो ।
त्यो बेलामा गाईले मुक भाषामै भनेको बुझिन्थ्यो –‘कति तिमीहरूलाई मात्र दूध दिऊँ । मेरो बाछीलाई चैँ दिनु पर्दैन । भो आज नखाओ ल ।’ आँखाले भनेका यी कुरा हामी आँखैले बुझ्थ्यौं । कस्तो मजाको थियो त्यो मुक साम्राज्य । हामी मान्छे भएर पशुको अभिनय गर्ने अनि ऊ चाहिँ पशु भएर पनि मान्छेको अभिनय गर्न सिपालु ।
अहिले सम्झँदा गहभरि आँसु हुन्छ ।
हामीलई माया गर्ने त्यो सिन्दुरी गाईले हाम्रा घरमा लगालग पाँच–छ बेत ब्याई । कहिलेकाहीँ मात्र बाछो पाएको याद छ नत्र बाछी नै धेर ब्याई । हामी इनरुवा सुनसरीबाट सम्वत् २०३६ सालमा झापा बसाइँ जाँदा पनि ६ वटा गाईबाछा खेदेर ४ दिनमा खत्री जेठाले झापा लगिदिएका थिए । दुईजना मिलेर दुःख गरेर झापा पु¥याउँदा समेत सिन्दुरी गाईले हाम्रो सेवा गर्न छाडिनन् ।
झापामा त्यसले फेरि एउटा बाछी पाई । जसको नाम हामीले ‘डुसी’ राख्यौं । सानो र खिनौटो भएकाले त्यसलाई डुसी भनिएको थियो । पछि त्यसलाई पगाहा लगाएका ठाउँमा बौलाहा कुकुरले टोकेर बिरामी बनायो । मानिसको जात स्वार्थी हुने घरमा निश्चिन्त भएर बेरामी बाछी पालिरहन सकिएन अनि बुवाले भद्रपुर हटियामा लगेर सित्तै दाममा फालेर आउनु भयो । कतिमा बेच्नु भो त्यो चाहिँ बिर्सें ।
मलाई त्यसको पनि निकै सम्झना आयो । पछि मैले रामेछापमा पढाउँदाका समयमा २०६० सालतिर एउटा ‘डुसी बाछी र भाइटीका’ नामको बाल कथासङ्ग्रह लेखेँ जसमा ‘डुसी बाछी र भाइटीका’ शीर्षकमा टाइटल कथा नै रचना गरेँ । त्यो बालकथा पछि ऐरावती प्रकाशनले उसले सम्पादन गरेको किताबमा कक्षा ः ५ मा हालेर बोर्डिङ् स्कुलको सिलेबसमा राख्यो । अहिले त्यो १७ वर्षदेखि त्यहाँ पढाइ हुन्छ ।
सिन्दुरी गाई झापामा दुई वर्ष जति पालेपछि बेचियो । कसलाई बेचियो त्यो अहिले सम्झन सक्तिनँ । धेरै वर्ष भएकाले घटना चाहिँ विस्मृतिको गर्भमा गैसकेको छ तर गाईको चित्र र त्यसको सुवानी बानीबेहोर भने अहिले पनि एक्लै बसेका बेलामा सम्झनामा आइहाल्छ ।
प्रिय सिन्दुरी ! तिमी जहाँ भए पनि यो अज्ञान बालकलाई शुभाशीर्वाद दिई रहू । म तिमीलाई जीवनभर धाई आमाझैँ सम्झिरहने छु ।
पशुप्रति गरेको यो मेरो पहिलो प्रेम थियो । दोस्रो, तेस्रो र चौथो प्रेमका कहानीहरू पनि अश्रुपुरित भावले पछि यही डायरीका पानामा खुलस्त लेख्ने छु ।
अहिले चाहिँ ‘अलविदा सिन्दुरी ! मेरो प्रिय धाई आमा !!’
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




Beautiful