
पानका बारेमा कुनै दिन लेख्ने छु
कृष्णचन्द्र सरको कडा अनुशासनले मान्ने बन्न प्रेरित ग-यो
पेशल आचार्य
आजको सम्झौटोमा सम्वत् २०३४ देखि २०३६ फागुनसम्मका केही घटनाहरूलाई राख्ने जमर्को गरेको छु ।
यो ६ कक्षा पढ्दाको घटना हो । कृष्णचन्द्र निरौला हामीलाई नेपाली पढाउनु हुन्थ्यो । वहाँ अत्यन्त कडा मिजाज र समयको चुस्त परिपालक हुनुहुन्थ्यो । वहाँले पढाउने पहिलो घन्टीमा स्कुल ड्रेस, जुत्तामोजा र कपाल कोरेर चिटिक्क परेर जानु पर्दथ्यो । कुनै कुरामा केही कमी भएको पाउनु भएमा सजायको भागिदार हुनु पथ्र्यो । सजायचाहिँ कक्षामै भाटाले नली खुट्टामा हान्ने हुन्थ्यो । दुखेर मरिहालिन्थ्यो तर पनि गल्ती गर्नेहरू सहन्थे । सहनुको कुनै विकल्प थिएनन् ।
धेरै साथीहरूले मन्त्र नै बनाएका थिए, ‘सहनम् मनोरञ्जनम् ।’
याने कि सहेर पनि मनोरञ्जन लिने बानी । मैले उति सजाय पाएको हेक्का छैन । एकादुई त कहिलेकाहीँ हुन्थ्यो नै ।
स्कुल ड्रेसमा केटालाई सेतो सर्ट, नीलो पाइन्ट, कालो रङ भएका छालाका जुत्ता, नीला मोजा अनिवार्य र शीरमा भादगाउँले कालो टोपी हुनै पर्दथ्यो । कृष्णचन्द्र सरले हाजिर गर्दा केटा होस् या केटी दुवै थरीले ‘उपस्थित छु सर’ भनेर आदरपूर्वक हाजिरी नजनाएका खण्डमा मार खाने लिष्टमा नाम चढी हाल्थ्यो । पहिलो घन्टीको यस्तो कडा शासनले हामीलाई समयको परिपालना, लुगा, जुत्ता, मोजा, रुमाल र टोपी सधैँ फिट एण्ड फाइन हालतमा राख्नु पर्ने ज्ञान दिन्थ्यो ।
मैले वहाँसँग चानचुन तीन वर्ष पढ्ने अवसर पाएँ । तल्ला कक्षामा कुमार पोखरेल सर, शिव पोखरेल, सर, गोविन्द भट्टराई सर र पद्म पौडेल सरहरूले पढाउनु हुन्थ्यो । स्वास्थ्य र शारीरिक शिक्षा जीवनाथ पोखरेल सरले पढाउनु हुन्थ्यो । हिसाब विषय चाहिँ बीएस्सी सरले पढाउनु हुन्थ्यो । वहाँको खास नाम भने बुद्धिप्रसाद पौडेल थियो तर बीएस्सी सरको नामले प्रख्यात हुनुहुन्थ्यो ।
अरू सबै सरहरू सामान्य तवरले आफ्नो जागिरबाट रिटायर्ड भएर गए । कोही बिते । कोही अहिले जीवितै छन् तर जीवनाथ सरको चाहिँ शिक्षक अलावा अर्को व्यक्तित्व थियो । हो, वहाँ चित्रकार हुनुहुन्थ्यो । चित्रकार भएकाले वहाँले रिटायर्ड लाइफमा चित्रकारितालाई निरन्तरता दिनुभयो । मानिसले उसले रूचि मानेको काम गर्न सक्छ तर त्यो कामलाई निरन्तरता दिन सक्यो भने जीवनमा उसले त्यही कामबाट नाम कमाउँछ । यो कुरा जीवनाथ सरमा लागू हुन्थ्यो ।
अहिले पनि भएको छ । वहाँ संगीत तथा चित्रकला एकेडेमीको प्राज्ञ भएर एक कार्यकाल काम गर्नुभयो । उहाँको सो प्राज्ञ व्यक्तित्व हाइस्कुलमै हामीलाई पढाउँदादेखि नै सुरु भएको थियो । तर त्यसलाई मलजल दिने काम र सफल हुने काम चाहिँ जागिरे जीवनपछि मात्र सफल भयो ।
बडो रमाइलो मान्छे वहाँ ! मैले म शिक्षणमा आइसकेपछि पनि वहाँसँग निक्कै सङ्गत गरेको छु । धेरैपटक इनरुवा बलाहास्थित उहाँको घरमा गएर चित्र र मूर्तिहरू अवलोकन गरी गुरुलाई सुझाव समेत दिएको छु । यो बीचमा उहाँले धेरै सम्मान र पुरस्कारहरू समेत पाउनु भएको रहेछ । त्यो मैले केही वर्षअघि उहाँको निवासमा पुगी हेरेर थाहा पाएँ ।
अँ ! कृष्णचन्द्र निरौला सरले हामीलाई नेपाली भाषा पढाउँदा व्याकरणका केही सूत्रहरू कहिल्यै नबिर्सिने गरी घोकाएर दिमागमा अमिट छाप पारिदिनु भयो जो अहिले स्कुल र कलेजका कक्षाहरूमा सिकाउन धेरै काम लाग्ने गरेका छन् ।
छन्दको सूत्र, व्याकरणका सूत्र, घोक्ने बानी र विषयवस्तुलाई सानो बनाएर दिमागमा राख्ने अनि दिमागमा राखिएको विषयवस्तुलाई विस्तृतमा बढाएर लेख्ने कला अहिले म मेरा शिष्यहरूमा बाँड्न पाउँदा मेरा आदरणीय गुरु कृष्णचन्द्र निरौलालाई सम्झेर अनवरत हर्षविभोर भइरहन्छु ।
जीवन नै रिले त रहेछ नि । कसैले हामीलाई दिएका राम्रा र जीवनवादी कुराहरू हामीले पनि समय, प्रसङ्ग र मेलो मिलाएर कसैलाई दिने सन्दर्भ । यो मानेमा म कृष्णचन्द्र निरौला सरसँग धेरै आभारी छु । अहिले थाहा छैन वहाँ कहाँ हुनुहुुन्छ या हुनुहुन्न । धेरै वर्षदेखि म वहाँका बारेमा जानकार छैन । तर मेरो दिल र दिमागमा वहाँ सधैँ आदरपूर्वक बस्नु भएको छ । म वहाँलाई समय समयमा नमन प्रकट गरिरहन्छु ।
त्यही बेलाको एउटा घटना छ । हामी स्काउटमा भागलिनका लागि भर्खर सूचना भएर तयार गर्दै थियौं । सबै थोक जोडियो कालो भादगाउँले टोपी जोड्न बाँकी थियो । एकजना साथीले पुरानो कालो टोपीलाई नयाँ बनाउने उपाय सिकाए । फलेकमा टोपी राख्ने, पूरै मट्टीतेलले पूरै टोपी भिजाउने अनि हतारहतार सलाई कोरेर लगाउने । टोपी नबल्दै तपेसले स्वाट्ट बलेको टोपीलाई छोपी दिने । निभाएर पखाल्ने । होला त नि भनेर त्यसै गरियो तर टोपी जलेर नष्ट भयो । पछि अर्कै साथीको टोपी मागेर सुनसरीको तरहरा कृषि फार्म हाइकिङ् गइएको थियो ।
जीवनमा यस्ता जानी नजानी गरेका उपध्राहरू निकै छन् । जसले केही न केही शिक्षा दिएका छन् । अहिले ती सानासाना गल्तीहरू सम्झँदा पनि निकै खुसी लाग्छ । कहिलेकाहीँ त खुसीको सिमा नै रहँदैन ।
कृष्णचन्द्र सर सधैँ सेता टक्टक भएका कुर्ता सुरुवाल लगाउनु हुन्थ्यो । वहाँको पहिरन, कडा अनुशासन र बोलीचालीबाट प्रभावित नहुने मानिस नै हुँदैनथे । अर्को वहाँको बानी मलाई अति मन पर्दथ्यो कि वहाँ पानको सौखिन हुनुहुन्थ्यो । त्यो बेला तराईमा पान खाने मानिसलाई खान्दानी क्याटागोरीमा हेरिने चलन थियो । नाम र दाम कमाएका मानिसहरू प्रायः पान खान्थे । पान सरहरूले खाएको देखेर हामी चिचिले भुराहरू पनि लुकीलुकी पान खान्थ्यौं ।
मिठा पान भनेपछि अहिले पनि जीब्रामा पानी आइहाल्छ । पानका बारेमा कुनै दिन पूरै लेख नै लेख्ने सोच राखेको छु ।
जे होस् स्कुले शिक्षाका मेरा गुरुहरू सबैले एकौटा गतिला सम्झनायोग्य शिक्षा दिनु भएकोमा म यो बेला उहाँहरूमा नमन प्रकट गर्न चाहन्छु ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



