
महिला राष्ट्रपति भएको देशमा दुधे बालिकादेखि बृद्ध आमासम्म कोही सुरक्षित छैनन्
सुप्रिया खनाल
झिसमिसेमा आमाले रेडियो खोल्नु हुन्छ । समाचार आउँछ । समाचारमा सुनिन्छ, अर्धनग्न अवस्थामा एक युवतीको शव फेला । बिहानको झुल्के घामससँगै बा उठेर टिभि खोल्नुहुन्छ । त्यहाँ पनि उस्तै समाचार सुनिन्छ ।
आजभोलि निकै डर लाग्छ । मेरो पालो कतिखेर आउने हो ? अरु दिदीबहिनी जस्तै अपराधको सिकार कतिखेर म हुन पर्ने हो ? आमा भन्नु हुन्छ, छोरी जाऊ त डेरी, दूध लिएर आऊ । पाँच रुपैयाँ पाउने आशामा दगुर्दै डेरी जाने मान्छे म । आज डर लाग्छ, कतै जाँदाजाँदै कसैले मलाई नराम्रो गरिदियो भने । जङ्गलमा घाँस काट्न जाँदा खस्रक्क आवाज आउँदा नि मुटुले ठाउँ छोड्छ आजभोलि ।
आफ्नै दाजुभाइ मायाले आफूसँग नजिक आएर बस्दा पनि कताकता डर लाग्छ । गुरुलाई भगवान सरह मानिन्छ तर त्यही गुरु केही सिकाउने क्रममा आफ्नो नजिक पर्दा पनि यो मुटुको गतिमा परिवर्तन आइसकेको हुन्छ । आफ्नै बाउसँग घरमा एक्लै बस्दा पनि मन कता कता आतिन्छ । किनकि, मजस्ता थुप्रै दिदीबहिनी आफ्नै बाबुबाट, आफ्नै गुरुबाट र आफ्नै दाजुभाइबाट दुव्र्यवहारको शिकार भएका छन् भने म हुन सक्दिन र ?
निर्मला, संझना, भागीरथी, करुणाजस्ता कयौंको आत्मा न्यायको लागि छट्पटाइरहेका छन् । बोली समेत राम्रोसँग नफुटेकी १८ महिनाकी एउटी अबोध बालिका सामूहिक बलात्कारको शिकार हुन्छिन् । उनको लागि आवाज उठाउँदा पीडितमाथि नै लाठी प्रहार हुन्छ । महिला राष्ट्रपति भएको देशमा दुधे बालिकादेखि बृद्ध आमासम्म कोही सुरक्षित छैनन् । न्याय पैसा र पावरमा विकेको छ । कुर्सीमा बस्ने हरुले अपराधीलाई आफ्नो छातीमा लुकाएर सुरक्षित राख्ने व्यवस्था जो गरेका छन् । अपराधीहरूलाई मानौं अपराध गर्ने लाइसेन्स नै दिइएको छ ।
ए पुरुष एउटी नारीको शरीर भित्र नौं महिना बसेर त्यही नारीको रगत जमेर डल्लो भएको शरीर लिएर त्यही नारीको शरीरबाट जन्म लिई त्यही बनावट भएकी नारी देखेर तिमीहरू कसरी उत्तेजित हुन सक्छौं ? तिम्रो आमाको र अरु नारीको शरीरको बनावट उही होइन र ? आफ्नी दिदीबहिनीलाई कसैले कर्के नजरले हेर्दा मात्र पनि रिसले आगो बल्ने तिमी अरूको दिदीबहिनीको इज्जतमाथि कुन नियतले खेल्न सक्छौ ?
हे पशुपतिनाथ, हाम्रो समाज कहाँ जाँदै छ ? यहाँ छोराले आफ्नै आमा अनि बाउले आफ्नै छोरी चिन्न छोडे । अब त यस्तो भन्न मन लाग्छ, वस्त्र लगाएर जन्म लेऊ है नारी हो, तिमीलाई नाङ्गै जन्मिएको देख्दा उत्तेजित हुन सक्छन् कामबासनाका पुजारीहरू । अनि माफी माग्न मन लाग्छ, माफ गर्नु होला नेपाल आमा, हिजो सीता पार्वती भगवतीको आरतीसँगै सुरु हुने बिहानी आज बलात्कारको समाचारसँग हुँदै छन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



