यो ‘ब्वाइलर’ होली र त्यो ‘लोकल’ फागु !

पेशल आचार्य

यो कुरा ४० वर्षभन्दा अघिको हो । अझ बयालीस नै भनुँ कि क्या हो ।

सम्वत् २०३६ साल । हामी कक्षा ८ मा पढ्थ्यौं । हाम्रो घर सुनसरी इनरुवामा थियो । बलाहा नामको बाक्लो गाउँ । गृहस्थी परम्परामा रमाएका निम्न र मध्यम वर्गीय परिवारले भरिभराउ गाउँलेहरू । पोखरेल, भट्राई, निरौला, दहाल, भँडारी, सुवेदी र रेग्मी थरका धेरै बाहुन र क्षेत्रीहरू । हामी अचार्ज थोरै थियौं । बाहुनहरू प्रायः खोटाङ र ओखलढुङ्गातिरबाट बसाइँ सरेर आएका ।

नेवार, थारु, मगर, भुजेल र दलित जातहरूको मिश्रण असाध्यै मिलेर बसेको थियो । अहिलेको जस्तो ‘तँ फलानो जात, म फलानो जात । तँ त्यो म यो’ भन्ने केही थिएन । आदर र अदप सबैले सबैलाई गर्दथे । परिश्रम र पसिनामा विश्वास गर्ने मानिसहरू पउल थिए ऊ बेलाँमा । धर्मकर्म, रीतिरिवाज, चाडपर्व र मेलापातमा खूबै जमेको जमाना थियो ।

गामघरमा कताकति भनेको सुनिन्थो– ‘पढी गुनी कुनै काम, हलो जोती खायो माम ।’ देश पनि सायद् कृषिप्रधान थियो त्यो बेलामा ।

जिल्लाको नामै त सुनसरी ! उधुमै खेतीपाती हुन्थ्यो । धान, मकै, गहूँ, दलहन र तेलहनका फसलले मानिस मात्र होइन गाईभैँसी, बाख्रापाठा र परेवाकुख्रा पनि सप्रेकाजस्ता देखिन्थे । तरकारी, फरकारी, हथकारी र पुष्टकारीले पोसिला थिए मानिसका जीवन र स्वास्थ्यहरू । अझ यसो भनौं कि केही उत्पादनले जनजीवन र प्राणीहरूलाई शिष्ट र सौम्य बनाएको जस्तो लाग्थ्यो । हुन त यो मेरो कल्पना पनि हुन सक्छ !

धेरैको पेसा खेतीपाती । सामान्य जागिरे पनि । लगभग इनरुवाको ९ र १० नम्बर वडामा चार हज्जार बढी घरधूरीहरू थिए होलान् । त्यो बेलाको सामाजिक चित्र मेरो मानसपटलमा अझै खेलिरहन्छ । एकान्तमा म त्यो अद्भूत चित्र सम्झेर नोष्टाल्जिक भैरहन्छु । कताकता मलाई मेरो बालापनमै फर्काउने त्यो चित्रले मलाई जीवनमा असीम ऊर्जा र लेखनका वैविध्य विषयका फाँकीहरू दिएका छन् ।

हामी होलीलाई फागु, फगुवा र होली तीनवटै नामले पुकार्दथ्यौं ।

होली पर्व खूब धुमधामका साथ मनाइन्थ्यो । साथी साथीको दयाँली हुन्थ्यो, हाँच मिल्थ्यो । खासगरी स्कुल पढ्ने एकै उमेरका साथीहरूमा होली खेल्ने गरिन्थ्यो । होलीका दिनमा अहिले एकै खालका भेष्ट, कट्टु, क्याप र ट्रयाक लगाएर होली खेल्ने जमाना आएकै थिएन ।

घरमा भएका मैला र च्यातिन लागेका वा कहीँकहीँ च्यातिएका लुगाहरू लगाएर हामी होली खेल्थ्यौं । भात खानुअघि अबीर दल्ने र लगाउने चलन थिएन । भात खाइसकेपछि र एकलग काम सकेर साथीभाइहरूसँग भेला भई अबीर लगाइदिने गरिन्थ्यो । धेरै कुरा थाहा पनि थिएनन् । होलीमा खाने भनेको भाँङको घोट्टा खाने, भाँङ मिसाएकै लड्डु खाने गरिन्थ्यो । कोहीकोही अलि छिप्पिएका साथीहरू चुरोटमा गाँजा हालेर समेत खान्थे । हामी भने अलि सानै थियौं चिचिले भुराले त्यत्रो उपध्रो गर्ने कुरै भएन ।

दिनभरि रङ खेलेर हामी चारपाँच बजेतिर नुहाइधुवाई गरी फ्रेस हुुन्थ्यौं । यो हाम्रो फागु मनाउने शैली थियो । ठूलो गाउँ हुनाले थारू केटाहरू ‘आज होरी है !’ भन्दै गीत गाएर नाचगानमा भाग लिन्थे । हामीसँगै पढ्ने धेरै थारू साथीहरू थिए । कहिलेकाहीँ उनीहरूका टोलमा जान्थ्यौं । उनीहरूले टीका अबीर लगाएर केही बनाएको–तुल्याएको छ भने प्रसादका रूपमा प्रेमले खान दिन्थे । मिठाइ सिठाई मात्र खाइन्थ्यो ।

ती होलीमा खेलिएका रङहरूमा साथीभाइहरूको प्रेम हुन्थ्यो । अपनत्व र भाइचारा हुन्थ्यो । उधुमै जानकारी त थिएन होलीका बारे । किन मनाइएको हो ? कहिलेदेखि मनाइएको हो ? कसरी मनाइएको हो ? पछिपछि बढ्दै र पढ्दै गएपछि केही कुराहरू साथीभाइले सिकाए । केही कुराहरू गुरुहरूले सिकाए । केही कुराहरू किताब र पत्रपत्रिकाहरूले मुक भाषामा सिकाए ।

जीवन नै सिक्ने क्रम रहेछ । सिकेर कहिल्यै नसिकिने रहेछ । त्यो कुरा भने अहिले आएर थाहा पाएको छु । किनकि सिकाउने पेसामा आएपछि मैले धेरै सिकाउनु पर्ने भएकाले आफूले सिक्ने अवसर जो पाएँ ।

एउटा मैथिलीमा उखान छ– ‘थोडा पढा हल से बाहर, ज्यादा पढा घर से बाहर ।’ अर्थात् जसले थोरै पढ्यो उसले हलो जोत्दैन रे ! अनि जसले चाहिँ धेरै पढ्यो ऊ घर बस्दैन रे ! हाम्रो घरमा त्यही लागू भयो । मैले २०४६ चैतमा बीए पास गरेँ । अनि म घरबाट बाहिरिएँ । त्यसपछि क्रमशः भाइहरू बाहिरिएका हुन्– पढ्न र जागिरका लागि ।

सम्वत् २०४६ सालसम्म घर नछोडीकन बढियो र पढियो । त्यसपछि जब उच्च शिक्षा (एम्ए गर्न) का लागि काठमाडौँ आउनु पर्ने बाध्यता भयो अनि घर, परिवार, चाडबाड, साथीभाइ, सम्झना र विगत् सबैसबै उतै इनरुवामै छोडेर आइयो ।

अहिले विगतको केवल सम्झना मात्र छ । साथीभाइ सबै भुरुरुरुरुरु उडेर आफूजस्तै कताकता गए कताकता ?

कसैका छोराछोरी थियौं हामी । अहिले हाम्रा छोराछोरीहरू छन् । अहिले पनि होली आउन त आउँछन् तर ती हिजोका जस्ता अग्र्यानिक होली हेर्न÷नियाल्न खोज्यो कति गरे पनि देखिँदैनन् । सबका सब रेडीमेड होलीहरू ! साला ! ब्वाइलर ! होलीहरू !!

दशक भित्रका कुनैकुनै होलीमा त मैले आफूलाई टीका नलाई पनि टारेको छु । कहिले चाहिँ फेरि उधूमै रौसिएर रङ खेलिएको छ । खेलाइएको छ । मस्ताना भएर । जागिरमा पनि खेलियो मिल्ने साथीभाइहरू हुँदा ।

ती होलीहरू लोकल थिए । आफ्ना थिए । अग्र्यानिक थिए । अपनत्वका भावले भरिएका थिए । तर यी होलीहरू ब्वाइलर छन् । परायाका छन् । आयातीत छन् । फागु नभएर होली भाका छन् ।

होलीको दिन । किनकिन यो मन त्यो बालापनमै कल्पनामा रमाएको छ । फरक खोज्दै छ यो होली र त्यो होलीमा ! कस्ले बुझ्ला मेरो कल्पना ? कस्ले बुझ्ला मेरो रहर ? कस्ले बुझ्ला मेरो बाध्यता ? फागुको र होलीको ???


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button