‘पुलिसले पाँच लात्ती कुटेर एक गन्थ्यो !’

पेशल आचार्य

यो सम्वत् २०३६ सालको घटना हो ।

पाकिस्तानमा त्यो बेलाका जल्दोबल्दा नेता जुल्फीकर अलि भुट्टोलाई फाँसी दिइयो । यो घटनाले दक्षिण एसिया र समग्र विश्वभरि एकाएक राजनीतिक तरङ्ग ल्यायो । उनी बेनजीर भुट्टोका पिता र राष्ट्रपति भैसकेका व्यक्तित्व थिए ।

नेपालमा विद्यार्थीहरू भुट्टोको फाँसीका विरुद्ध उठे । कीर्तिपुरबाट ठूलो आन्दोलन उठ्यो । विश्वविद्यालयको पढाइ अवरुद्ध भयो । देशैभरि आन्दोलनका शैलाबहरू उठ्न थाले । त्यो बेलाँ गृहमन्त्री कविवर केदारमान व्यथित र प्रधानमन्त्री सूर्यबहादुर थापा थिए ।

यी कुरा हामीले पत्रिका पढेर र बाहरूले चिया पसलमा कुराकानी गरेको सुनेर थाहा पाएका थियौं । त्यो बेलाँ ‘नयाँ सन्देश’ पत्रिका उखुमै चर्चित थियो । समीक्षा र साप्ताहिक मञ्चहरू समेत धेरै बिक्थे ।

म झापामा पढ्थेँ । झापाको सदरमुकाम चन्द्रगढी हो । बजार माझमा वीरेन्द्र मावि हाइस्कुल थियो । त्यो बेला जिल्लामै नाम कहलिएकोमा हामी पढ्ने हाइस्कुल जहाँ दुई हजार विद्यार्थीहरू थिए । पढाइ र अनुशासनमा नाम चलेको स्कुल । जसबारे मैले पैले सम्झौटो लेखिसकेको छु ।

कालीप्रसाद पोखरेल, खडानन्द वाशिष्ट, एलबी क्षेत्री, नवा खनाल, शान्ता प्रसाईं र खेम सापकोटाजस्ता उधुम नाम चलेका सरमिसहरूले पढाउने स्कुल भएकाले विद्यार्थी ताँती लाग्थे पढ्नका लागि ।

हामी ९ कक्षामा पढ्थ्यौं ।

राजा वीरेन्द्रले ‘जनमत सङ्ग्रह’ २०३६ साल बैशाख १० गते घोषणा गरे । उनले जनतामा उम्लिएको प्रजातन्त्रको भावनालाई सो शाही सम्बोधनद्वारा बालिग मताधिकार आधारमा ‘बहुदल कि निर्दल ?’ भन्दै जनमत बुझ्नका लागि २०३७ साल जेष्ठ २० गते सोमबारका चुनाव गराउने मिति समेत तोके ।

अनि आन्दोलन केही मत्थर भयो ।

चुनाव भयो । बहुदलले जित्यो । सो चुनावमा ब्यापक धाँधली भयो । युवा, पढेलेखेका र अलिअलि कुरा बुझ्ने जति सबै बहुदल पक्षमा लागेका थिए । नपढेका, बूढाखाडा र कन्जरभेटिभ खालका मानिसहरू निर्दल पक्षमा लागेजस्ता थिए । उमेर नपुगे पनि हामी बहुदलकै पक्षमा थियौं ।

लुकीलुकी ‘बहुदल जिन्दावाद ! निर्दल मुर्दावाद !’ भन्थ्यौं ।

म १३ वर्षको थिएँ । मलाई याद छ बहुदलको चुनाव चिन्ह ‘नीलो’ र निर्दलको ‘पहेँलो’ थियो । हाम्रो घरबाट ममीबुवा चुनावमा भोट खसाल्न चन्द्रगढीस्थित पुहाँतुबारी मतदान केन्द्र जानुभएको थियो । म पनि पछि लागेर हेर्न गएँ ।

हाटबजार जस्तो लागेको थियो । जति मानिस थिए सबै बहुदल पक्षमा खुलेर कुरा गरिरहेथे । झापा वामपन्थीकै गढ हो । त्यसैले अधिकांश मानिस बहुदल पक्षमा भए होलान् ।

चुनावमा प्रधानमन्त्री सूर्यबहादुर थापाले बहुदललाई जिताउन दमकदेखि पूर्व कन्काई माई धारसम्मको आटब्य जङ्गल सखाप पारी सोही पैसाबाट बहुदल पक्षमा मत किनेसम्म भनेर भने । बोल्नेका मुख थुन्न कसले पो सक्थ्यो र ? हामी विद्यार्थी भएका नाताले स्कुलमा त्यस्ता कुराहरू गरेको सुन्थ्यौं ।

२०३७ बैशाखमै हामी नौ कक्षामा गैसकेका थियौं । लगभग जेठ र असार राम्रै पढाइ भयो स्कुलमा । असार बर्खे छुट्टी भयो । खेतीपातीमा व्यस्त भइयो । पढ्दा राम्ररी पढ्ने, स्कुल विदा हुँदा घरमा बाआमालाई काम सघाउने गर्दथ्यौं ।

हामी करिब ४ बिगहा जति खेती गरेका थियौं । कामको चटारो र बजारबाट घर टाढा भएकाले हामी उतिसारो बजार लुखुरलुखुर डुलिहिँड्दैनथ्यौं । फेरि त्यो समयमा असारलाई ‘मानो खाएर मुरी उब्जाउने बेला’ भन्थे । सुकिलामुकिला लुगा लाएर बजार हिँड्नेलाई गाउँलेले गिज्याएर माझै मुखले भन्थे, ‘साउनको सुकिलोमुकिलो मङ्सिरको धान चोर ।’

गाउँको पुछारमा वीरेन्द्र राइको घर थियो । उनी एकदम भलादमी थिए । सेता कमिजसुरुवाल लगाएर हिँड्ने बानी उनको थियो । त्यो उखान उनैलाई लक्षित गरी भनिएको त होइन भनेर कसोकसो डर लाग्थ्यो । उनका अघि या उनका घर नजिक हामी त्यो उखान भन्न डराउँथ्यौं ।

फसाद् के भने उनी हाम्रा बाका मिल्ने साथी थिए । जो कहिले न कहिले गफ गर्न र चिया खान हाम्रो घर आइरहन्थे । फेरि उनका घरबाट हाटबजार जान र अड्डाअदालत पुग्न हाम्रो घरको बाटो भएरै जानु पर्दथ्यो ।

सम्वत् २०३७ साल भदौ अन्तिमतिर हुनुपर्छ । त्यो बेला तराईमा सनपाटको खेती उधुमै हुन्थ्यो । तिज छेकको समय रहेछ । स्कुल लागिसकेको छ । एक किलो चिनीको २१ रूपियाँ र एक मन पटुवाको पनि एक्काइस रूपियाँ बराबरी भएछ । झापाका किसानहरूको पारो तातिहाल्यो । उठे । आन्दोलन गर्न उठे । बजार बन्द भयो । दिनहूँ आन्दोलनकारीहरूले चन्द्रगढी र भद्रपुरका विभिन्न उद्योगधन्दा, स्कुल र कलेज बन्द गराए । हाम्रो स्कुलमा धेरै विद्यार्थी भएकाले स्वतः असर पुग्यो । स्कुलका मास्टर र विद्यार्थी सबै जुरुक्कै उठे ।

हामी ९ कक्षामा पढ्थ्यौं । तीनवटा सेक्सन थिए । ८ देखि १० सम्मका सबै विद्यार्थीहरूलाई ठूल्ठूला नेता विद्यार्थीले सोहोरेर आन्दोलनमा लगेर हुले । जानीनजानी नारा लगाउन थाल्यौं ।

आन्दोलनकारीले अघिल्लो शुक्रबार चन्द्रगढी हाट लुटे । आँखैअघि लुटको शैली देख्यौं हामीजस्ता चिचिले भुराले । मलाई नि ५-६ दाना स्याउ दिए चन्द्रेश्वर साहहरूले । जो छिप्पेका विद्यार्थीमा गनिन्थे । बलिया बाङ्गा थिए ।

भोलिपल्ट शनिबार घरै बसियो । आइतबार फेरि स्कुल जानुपर्ने आन्दोलनको ज्वालो दन्केको रहेछ । के थाहा ? मेरा दुई भाइलाई घर पठाइदिए । मलाई जुलुसमा लगे । हिँडेर भद्रपुरतिर गयौं ।

सङ्गम चोकमा पुलिसले बाटो छेक्यो । दाहिनेतिर होली, देब्रे हस्पिटल मोड थियो । हामी पश्चिमतिरबाट गएका । लाठी चार्ज भयो । सक्ने उत्तरतिर भागे जहाँ घरैघर थिए । पूर्व र पूर्व उत्तर पुलिस भएकाले सबै विद्यार्थी त्यही होलीतिर भाग्न थाले । स्कुल ड्रेसमै भाग्यौं । भाग्नुको विकल्प थिएन । पुलिस क्रमशः अरिगाँलझैँ खनिँदै थियो । हामी तितरबितर भयौं । म सानो गाँठीको मान्छे भाग्न सकिनँ । होलीको हिलोमा फँसेँ । प्रदीप तिम्सिनाहरूले लौरोका मद्दतले निकाले ।

पछि पुलिस हिलैमा लखेट्दै आएर पिट्न थाल्यो । केटीहरूले गेरु रङको सारी र कालो ब्लाउज लगाएका थिए । एउटी (नाम बिर्सें) केटी साथीलाई कट्बाँसको लौरोले घुमाएर पिट्दा ठूलो आवाज आयो । साथी ग्वाँग्वाँ गरेर रुन लागिन् । यसो हेरेको त उसको ढाडमा लागेको रहेछ । ब्लाउज प्याट्ट फुटेर भित्रबाट सेतो ब्रा निस्केको देखेँ । त्यसरी मान्छे पिटेको मैले देखेको थिइनँ । अब भने मेरो होश रहेन । भाउन्न भयो । त्यही बेला प्रदीपको मद्दतले निस्किएँछ् । म पछि त्यो केटी साथीलाई सबै मिलेर लौरो दिएर तान्यौं ।

अनि धान खेतैखेत भागेर स्कुल आयौं । साथी घर गइन् । उनलाई जरो आएछ । एक साता स्कुल आइनन् । हिलैहिलो शरीर पखालेर पुछेर घर गएँ । घरमा पनि दह्रो हप्की खाइयो । भोकले लखतरान भको थेँ ।

मलाई भने केटी साथीको माया लागिरह्यो । पुलिसले कुटेको मैले नजिकबाट देखेको थिएँ । म आफैँ निरीह थिएँ, के नै गर्न सक्थेँ र ?

आमा बिरामी हुनुहुँदो रहेछ । आफैँले भात पकाउनु पर्ने भो । सबैथोक जुटाएँ । जहान जम्मा भयौं ।

खाना खाने बेला बाले भन्नुभो, ‘कसो पुलिसले पक्रेर लगेन । लगेको भए हिरासतमा बोराले छोपेर कुट्नेथ्यो । पुलिसले पाँच लात्ती कुट्यो भने बल्ल एक गन्छ । अनि कुटाइबाटै मान्छे मार्छ !’

यो कुरा सुनेपछि पो अघि आन्दोलनमा नकामेको मेरो जीउ थररर्अ गरेर काम्यो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button