
लिम्बुको बगैँचामा अम्बा चोर्दा
पेशल आचार्य
माफ गर्नुहोला प्रिय पाठकहरू ! चोर्नु भनेको पक्कै राम्रो कुरा त होइन । बाल्यकालका उपध्राहरू बताउने सिलसिलामा मैले भोगेका विगतानुभूतिलाई भरसक जस्ताको तस्तै कथ्य भाषामा लेख्न मन लागेकाले कतिपय इतिहासका गर्तमा विलुप्त भैसकेका कुराहरूलाई देखाउने रहरले सबै कुरा खोली बाँसुली गर्न मन लागेको हो । नढाँटीकन ।
कतिपय कुराले वर्तमानको नाम, काम र अवस्थालाई असर पार्न सक्छन् त्यसमा सचेत रहेर मैले मेरो बाल्य काललाई कत्तिको न्याय गर्न सक्छु । त्यो म गरिरहने छु ।
यो पनि तेस्तै सम्वत् २०३३ सालतिरको कथा हो । यहाँ अनेक छरिएका उपकथाहरू लुकेका छन् । कतिपय कथाका म आफैँ नायक हूँ भने कतिपयका मेरा बाल सखाहरू समेत रहेका हुन्छन् । म भरसक सबै साथीलाई सम्झनाको तराजुमा बराबरी तौलने प्रयास गर्दछु ।
सुब्बा दाइका ६ भाइ छोराहरू थिए । उनी हाम्रा छिमेकी थिए । बुवाहरू जागिरे भएकाले आदर गरेर सुब्बा दाइ भन्नु हुन्थ्यो । बास्तवमा उनी असल थिए । मध्यम वर्गीय परिवार हो उनको । गोपाल, भूपाल, शरद, आमोद, प्रमोद र इनोद यी आधा दर्जन छोराका बीचमा एउटी छोरी थिइन उनकी । उनको नाम सुशीला थियो । पछि उनी मेरी भान्जी भाउजू नाताकी भइन् ।
बाँकी छोराहरू मध्ये प्रमोद मेरा दयाँली थिए भने इनोद जुनियर । तर ती दुवै दाजु भाइसँग मेरो हाँच मिल्थ्यो । बाँकी चार दाजु हामीभन्दा सिनियर । गोपाल दाइसँग हामी धेरै डराउँथ्यौं । प्रमोद र इनोदसँग हामी सँगै खाने, खेल्ने, झगडा गर्ने र माया गर्ने गर्दथ्यौं । अहिले प्रमोद कपनतिर बस्छन् र लेखा अधिकृत छन् । इनोद इनरुवा नगरपालिकामा सामान्य जागिर गरेर आफ्नो दुःखसुखका गोरखधन्दा गर्छन् क्यार !
अँ ! शनिबार र विदाका दिनमा हामी नहरमा पौरी खेल्न जान्थ्यौं ।
नहर गाउँभन्दा करिब १ किलोमिटर पश्चिमबाट बगेको थियो । कोसीको चीसो पानीमा जाडामा पौरी खेल्नु हाम्रो बसको कुरो थिएन तर गर्मी सिजनमा हामी शनिबार शनिबार र विदाका दिनमा पौरी नखेली सक्दैनथ्यौं । पौरी खेल्नका लागि कुकुरलाई नुहाइदिने बहाना बनाउँथ्यौं ।
घरमा बेलायती कुकुरको छाउरो पालिएको थियो जसको नाम मेरो माइलो भाइले चन्दने राखेको थियो । कुकुर धेरै कडा थियो । स्कुल जाने बेलामा र टिफिनमा खाजा खान घर आएका बेला माहिलो भाइलाई उभिएर नमस्कार गर्दथ्यो । उसैले तालिम दिएको थियो । कुकुर हामीसँग मजाले हात मिलाउँथ्यो ।
तेतिखेर हमाम साबुन खूब चलेको थियो । आफूलाई नुहाउन हमाम र कुकुरलाई नुहाइदिन लाइफ बोय साबुन हँसियाले काटेर लग्यौं । आमा नभएको मौका छोपी सिलौटोमा नुन खोर्सानी लसलस पिसेर कापीका पानामा लुकाएर लगे पौरी हानेर बँचेको समयमा फर्किंदा काभ्रा, बरका गेडा या पीपलका कलिला मुना नुन खोर्सानीमा चोपेर खान औधी मन लाग्थ्यो । अहिले पनि त्यो सम्झियो भने जीब्राबाट पानी आइहाल्छ ।
बाआमा पौरी खेल्न नदिने हामी नखेली नसक्ने । झुक्याईझुक्याई खेलिन्थ्यो । बर्खाका धमिलो पानीमा पौरी खेल्दा कहिले आँखा पाक्थे । कहिले हन्हनी जरो आउँथ्यो । कहिले टन्सिल बढेर हुरुक्कै होइन्थ्यो तर पनि बाललीला कहिल्यै कमि हुन्थेनँ ।
झन्झन् बद्मासीको डिग्री बढेर जान्थ्यो ।
बुवा जहिल्यै फिल्डको कर्मचारी । आमाको भरमा चलेको घर । हाम्रो छुट्टी भो कि कहिले नहर त कहिले लिम्बूको बगैँचामै बास हुन्थ्यो । पौरी खेल्दा कतिपल्ट आँखामा जुको पसेको छ । कतिपल्ट बाढीले बगाएको छ । कहिले डुबेर पानी खाएको याद छ । नहरमा पानी ढोल र बरको रूखमा रूख ढोल हाम्रो जमानाको लोकप्रिय खेल थियो ।
बाक्लो उत्तरदक्षिण लामो गाउँ थियो । त्यो बेला गाउँलाई उत्तर टोल भन्थ्यो । अहिले नाम फेरिएर शारदा टोल भएछ । पुछारमा तीर्थ सरको घर थियो । ऊ बेला तराईमा दुले चोर खूब लाग्थ्यो । धनीमानी कहाँ डाका पनि लागेको सुनिन्थ्यो । हाम्रो गाउँको पूर्वतिर थारु टोल थियो । तिनीहरूको झुरुम्म परेको बाक्लो बस्ती थियो । दुईतीन सय घरधुरी थिए होलान् थारुहरू । धेरै गरिबगुरुवा हुन्थे । एकादुई मात्र धनी । छ्रन्दु बैदार नामका थारु थिए । तिनको घरमा डाका लाग्यो । डाकाको प्रतिकार गर्न खोज्दा उनलाई डाकाले पेस्तोलले हानेर मारे भन्थे । पछि ज्यान मुद्दा र डाका मुद्दामा गाउँकै मानिस पोलिए । पक्रिइए ।
लु डाकाले चिठी पठाएर आएको भन्थे । हामी केटाकेटीमा चोर, डाका, खजुरा, बिच्छी र साँप भनेपछि डरले थर्कमान हुन्थ्यौं । साँझ परेपछि घरबाटै बाहिर निस्कन सक्दैनथ्यौं ।
अझ सम्साझैैँ छेउछाउमा आएर स्याल कराउँथे । तेतिखेर तराईमा स्यालको धेरै बिग्विगी हुन्थ्यो । पछिपछि फलिडल भन्ने विष खेतबारीमा हाल्न थाले किसानहरूले अनि स्यालहरू बिस्तारी मासिन थाले । औषधि खाएर खेतबारीमा स्याल मरेका देखिन्थे ।
लिम्बूको बगैँचामा पसेर धेरै अम्बा खाइन्थ्यो । तराईमा हामी अम्बालाई लताम भन्थ्यौं । बगैँचा निकै ठूलो र गुल्जार हुनाले अम्बा, सरिफा, बडहर, आँप र कटहर थुप्रैथुप्रै थिए । हामीलाई लिम्बूको छोरो (जसको नाम काले थियो) उही नै झट्टीले हानेर अम्बा चोर्न सघाउँथ्यो । आफ्नो बगैँचामा चोरेर उसैले खुवाउने हुनाले पक्रिने सम्भावना कम हुन्थ्यो । तर कहिलेकाहीँ उसको बाउ र हजुर बाउले पछाडिबाट आएर लौराले पिसाब निस्किने गरी पिँडुलामा हान्थे । हामी रुँदै र कराउँदै बुर्कुसी मार्दै भाग्थ्यौं ।
कालेको परिवारमा उसका काका बडो ज्ञानी थिए । उनको नाम बुद्धिबहादुर लिम्बू थियो । हलो जोत्दा पनि देब्रे हातले अनौ समातेर दाहिने हातले अङ्ग्रेजी किताब पढेका आफ्नै आँखाले देखियो । उनलाई समय पुग्दैनथ्यो होला तर हामीलाई त्यो देखेर पढूँपढूँ लाग्थ्यो । अनि हामी अरू दिन पढ्नमा कन्धनी कसेर लाग्थ्यौं । त्यही प्रेरणाले कहिल्यै फेल भइएन । खुसी लाग्थ्यो आफूलाई सिनियरले सिकाएको देख्दा ।
बुद्धिबहादुर लिम्बू अहिले हङ्कङे लाहूरे भएर हङ्कङतिरै छन् । सायद् जीवन सुखी हुनुपर्छ । देखभेट नभएको चालीसौं वर्ष भयो । एक वर्ष अघिदेखि फेसबुकमा साथी त भएका छन् तर प्रतिक्रिया दिने र सम्पर्क राख्ने गरेका छैनन् । सायद् व्यस्त दैनन्दिनी भएर होला ?
कालेहरूले हामी हुर्कंदै जाँदा त्यो जग्गा बेचेर अझै गाउँतिर जग्गा किनेका छन् भन्ने सुनियो । बेबहारिक जीवनमा प्रवेश गरेपछि कता काले कता हामी भयौं । कसैले कसैको ख्याल गर्न सकिएन ।
जीवन भनेको नदीबाट निस्केको पानीको ससानो भँगालो रहेछ । आफूले आफ्नो भँगालाको यात्रा आफैैँले तय गर्नु पर्ने रहेछ ।
साँच्चै जीवन भन्ने बुझ्दा आफ्नो आधा जीवन बितिसकेको हुने रहेछ ! अहिले आएर बल्ल बुझियो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



