
विषाक्त पुरुषत्व: पुरुषमात्र होइन, महिलामा पनि
टोक्सिक मस्क्युलिनिटि अर्थात विषाक्त पुरुषत्व के हो ?
प्रतिमा पन्थी
पुरुषत्व भनेको त्यस्ता विशेषण वा निश्चित चरित्रहरुको थुप्रो हो, जुन परम्परागत समाजले सामाजिकीकरणको प्रक्रियामा पुरुष लिङ्गधारीहरुको पोल्टामा मात्र घोप्टाएको छ । विशेषगरी पुरुषहरु कठोर, प्रभुत्वशाली, बलवान, क्षमतावान्, नेतृत्वकर्ता, स्वतन्त्र, निडर, आत्मनिर्भर, सुरक्षाकर्मी, पालन कर्ता, सञ्चालक, प्रतिस्पर्धात्मक साथै परेमा क्रोधि र हिंस्रक आदि इत्यादि हुनुपर्छ भन्ने मान्यता छ ।
समाजमा आफूलाई अरुभन्दा अब्बल र कोहिभन्दा कम छैन भन्ने प्रमाणित गर्न पुरुषहरुले सदियौंदेखि माथि उल्लेखित विशेषताहरूलाई आफ्नो चरित्र बनाएका छन्, या भनौ यो चरित्रलाई संस्कारको रुपमा सिर्जना र जगेर्ना गरेका छन् । पुरुषहरूको यस्तो चरित्र विशेषगरी स्त्रीलिङ्गी, अन्तरलिङ्गी, अन्य अल्पसंख्यक र वर्गहरुमाथि हावी हुँदै आएको छ । यस्ता मान्छे जसले सधैं आफूलाई सर्वेसर्वा, सर्वश्रेष्ठ र अरुलाइ कमजोर ठान्छन्, तिरस्कार गर्छन् उनीहरूले देखाउने चरित्र नै विषाक्त पुरुषत्व हो ।
यद्यपि पुरुषत्वका गुणहरु जैविक या जन्मजात रुपमा पुरुषमा मात्र नभएर महिला र अन्य लिङ्गहरुमा पनि उत्तिकै हुन्छ । जसरी महिलाको परम्परागत विशेषतामा शालीन, आश्रित, समर्पण, शुशिल, कोमल, दयावान, लजालु, सुन्दर, कामुक, निस्वार्थी, धैर्य, दमित, अति व्यवहारिक, आज्ञाशिल, गृहणी, मातृत्व रहेको हुन्छ। र, यिनै सबै गुणहरु पुरुष लिंगीहरुमा पनि जन्मजात नै आएका हुन्छन् । तर, सामाजिकीकरणको प्रक्रियामा पुरुष र महिलामा व्याप्त यी दुवैथरी गुणहरुलाई अलग्याईन्छ र पुरुषलाई पुरुषत्व मात्र दर्शाउने महिलालाई नारीत्व दर्साउने गुणहरु मात्र बोकाइन्छ जुन लैङ्गिक वर्गीकरण रुपमा स्थापित बनेको छ । यसकारण पुरुषहरु सधै घरमुली भए, समाजका मुखिया भए, देशमा राजा भए, सम्राट भए, उनीहरू स्वतन्त्र भए, प्रतिस्र्धात्मक भए, व्यवसायिक भए, अर्थ आर्जन गर्ने भए ।
आफूलाई बलवान र क्षमतावान देखाउन पुरुषहरु पुरुषत्वको अघिकतम प्रयोगकर्ता बने र आफूभित्रको हिंसालाईइ जगाउन पछि परेनन् । उनीहरुले एउटै अस्तित्व लिएर जन्मिएका महिलाहरुलाई आफूभन्दा तल्लो दर्जाको ठाने कतिपय परिस्थितिमा मानव पनि नठानी पशुवत् व्यवहार गरे । पुरुषहरुले आफूभित्र रहेको नारीत्वका गुणहरु लाइ सकेसम्म आफूभित्रै मात्र दबाउदै आए, कथमकदाचित आफूमा यी गुणहरु देखिएमा समाजले लान्छना लगाउने डरले आफुमा रहेका संवेदना, भावना र पिडालाई हदसम्म कुण्ठित गरे । आफुलाई कठोर देखाउने, कडा प्रतिस्पर्धामा उत्रन नहिच्किचाउने तथा हिंस्रक गतिविधि उन्मुख हुन नडराउने, आफ्नो स्वार्थको लागि अरूलाई हेप्ने, दबाउने, आफुमा निर्भर गराउने र आफ्नो इच्छालाई जबर्जस्ती ढङ्गबाट पूरा गर्दा आफूलाई अझ बढी पुरुष साबित भएको ठान्ने प्रवृत्तिले समाजमा लैंगिक हिंसा बढाएको छ । समाजले पुरुषलाई यस्तो हुनुपर्छ भनेर तोकिएका कतिपय नकारात्मक गुणहरुले पुरुषलाई अपराधिक काममा उन्मुख बनाइरहेको छ ।

माथि उल्लेख गरिएका पुरुषत्वका गुणहरु केवल पुरुषमा मात्र हुँदैनन्, महिलाहरुमा पनि उत्तिकै मात्रामा हुन्छन् । तर महिलाहरुको सामाजिकीकरणको प्रक्रियामा यस्ता गुणहरुलाई सकेसम्म दबाएर उनीहरूलाई नारीत्वमुखी गुणहरुबाट निर्देशित गरियो । जसले यी विशेषताहरुलाई अंगाले उनीहरु समाजको नजरमा सुसंस्कृत नारी बने, शताब्दीयौंदेखि यिनिहरु यिनै विशेषणका परिधिमा बन्धक बनेका छन् । तथापि महिलाहरूमा रहेको पुरुषत्व पनि बेलाबेलामा हाम्रो समाजमा उदाहरणीय देखिन्छ । जसअन्तर्गत आदर्श पुरुषत्व भन्दा पनि विशेष गरी विषाक्त पुरुषत्वको हाम्रो परम्परागत समाजमा केही बढी छवि देखिन्छ ।
उदाहरणका लागि आमाले छोरा र छोरीमा गर्ने भेदभाव (छोरीलाई लक्षिनकी हुनुपर्छ, सुसंस्कृत हुनुपर्छ, घरभित्रको काममा सिपालु हुनुपर्छ भन्ने सिकाउनु र छोरालाई आफ्नो बाउ जस्तो हुनुपर्छ भनि घर भित्रको कुनैपनि काममा सरिक नबनाउनु, छोरीलाई आफूसँगै घरेलु काममा लदाउनु र सहनशिल हुनुपर्छ भन्ने सिकाउनु) हो। र, अर्को उदाहरण सासु र बुहारीबीचको परम्परागत सम्बन्ध हो, जुन सम्बन्धमा सासू प्रायः आज्ञा गर्ने, दबाउने, हेप्ने, हिंसा गर्ने, असमान व्यवहार गर्ने प्रवृत्तिका देखिन्छन् भने कि त ठ्याक्कै उल्टो बुहारीले सासूलाई हेप्ने र हिंसा गर्ने प्रवृत्ति देखिन्छ । यसैगरी ठुला पद तथा शक्तिमा पुगेका तथा पहुँच भएका महिलाले अरुलाई मुलधारमा ल्याउन चाहना नराख्नु र प्रतिस्पर्धामा आउन उत्साहित नगर्नु पनि विषाक्त पुरुषत्वको उदाहरण हो ।
सकारात्मक पुरुषत्वलाई बढावा दिने महिलाहरु आजको युगमा आफूलाई क्षमतावान, स्वतन्त्र, आत्मनिर्भर, निडर, बलवान्, नेतृत्ववान प्रमाणित गर्न पनि सफल भएका छन् भने अति नै कम पुरुषहरु मात्र आफूमा भएका नारित्वका गुणहरु अभ्यास गर्ने हिम्मत राखेका छन् । नत्र लगभग प्रायः जसो पुरुषहरु अहिले पनि आफुलाई अझ पुरुष प्रमाणित गर्न सकेसम्म घर बाहिर नसके घरभित्रै विषाक्त पुरुषत्वको अभ्यास गरिरहेका छन् । जसले गर्दा महिलाले घरायासी भुमिका धेरै निभाउनुपरेको छ, सन्तानको रेखदेखदेखि वृद्ध अभिभावक सुसार एक्लै गर्नु परेको छ । अझ भयावह छ ईन्टिमेट पार्टनर भाईलेन्स, जसमा पति पत्नीबीच जबरजस्ती यौन सम्बन्ध र यौन समर्पणजस्ता व्यवहार पर्छन् ।
घरेलू हिंसा, लैगिक हिंसा, बकात्कार, यौन दुर्व्यवहार, शारीरिक र मानसिक शोषण, चोरी, हत्या लगायतका जघन्य अपराधहरु प्रतिदिन भरहेका छन् । यी सबै अपराधहरूको एकमात्र कारक भनेको विषाक्त पुरुषत्व नै हो जसलाई प्रायःपुरुषहरुले अभ्यास गरिरहेका छन् । आज यस्तो मानविय दुष्व्यवहारले संसार नै एक किसिमको युद्दमा छ । पुरुषत्व प्रमाणिकरणको युद्ध ।
समाजमा भइरहेका विभेद, असमानता, हिंसा र विभिन्न खाले अपराधहरुलाई निर्मुल गर्नको लागि सर्वप्रथम हाम्रो सामाजिकिकरणको प्रक्रियामा सिकाइने असमान पाठ, विषाक्त पुरुषत्वको सोचाई र व्यवहार नै परिवर्तन गर्न जरुरी छ। सबै मानिसले आफूभित्र रहेका नकारात्मक चरित्रलाई नियन्त्रण गरी पुरुषत्व र नारित्व का सकारात्मक पक्षलाई निसंकोच अङ्गाल्नु आवश्यक छ । पुरुष संवेदनशील र महिला तथा लैंगिक अल्पसंख्यक अधिकारको लागि सशक्त हुनु जरुरी छ । परिवर्तन आफैबाट सुरु गर्न जरुरी छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



