किताब सत्यानाश पारेपछि बल्ल बुद्धि आयो

दाहाल राजु, बाको अजन्ता डिक्स्नेरी र म !

पेशल आचार्य

यी पनि २०३४ देखि २०३६ सालसम्म दुई वर्ष बिचकै घटनाहरू हुन् । दिमागको हाडवेयरले जुन पहिले लेखाउँछ त्यही पहिले लेखेको हूँ । कुनैकुनै घटना अघि हुनु पर्नेमा पछि र पछि हुनु पर्नेमा अघि परेका पनि हुन सक्छन् ।

खैर ! जाँच दिन बसेको होइन । पास हुनु छैन । मात्र हिन्दीमा भनेझैँ ‘बिते हुए कल’ लाई पक्रेर रोमाञ्च अनुभूति गर्दै सोही बाँड्ने मनसुवाले यति लेखाउन लागेको हो ।

मेरा यावत् कथाहरू जसजसलाई डेडिकेटेड गरेको छु तिनेरूले सुन्छन्÷पढ्छन् र विगतावस्थातिर फर्केर हेर्छन्जस्तो लाग्दैन । जसले पढ्ने गर्नु भएको छ वहाँहरूलाई यी कथाका अन्तर्यका मसलाले छिनभरि सान्त्वना देलाजस्तो लाग्दैन । तैपनि मन हो तुष्टि मेटाउनका लागि लेखिरहन्छ लेखिरहन्छ !

अनि म बेधड्क लेखिरहेको छु । सम्पादक याने नेपालनाम्चाका सम्पादक अशोक सिलवालजी छापिरहनु भएको छ । यो नै अहिलेलाई ठुलो कुरा भाको छ ।

सिनेमाप्रति मेरो लगाव सुनसरीको कमल टाँकिजले बढायो । यो बारेमा मैले इनरुवाबाट प्रकाशित हुने ‘वर्णमाला दैदिक’ मा लामो संस्मरण लेखेँ । छपाएँ । धेरै पुराना यारहरू खुसी भएछ ।

म सिनेमा हेर्न कुरा उठाउँदै छु । उसबेलाँ पैसा धेरै महँगो भ’को जमाना रहेछ । हामी हिन्दी सिनेमा हेरेर सन्तोस मान्थ्यौं । तिनताक पन्ध्र पैसामा सिनेमा हलमा थर्ड क्लासमा बसेर सिनेमा हेर्न पाइन्थ्यो । टिकट सस्तो थियो तर टिकट काट्न भने बाउको बिहे देखिन्थ्यो ।

कहिलेकाहीँ आठ/पाँच मात्र टिकट काटेर सिनेमा हेरेको मलाई याद् छ । नत्र जहिल्यै ब्ल्याक्की (टिकट काटेर ५/१० पैसा बढी लिई हामीलाई टिकट बेच्ने सिनेमा हलको दलाल) सँग टिकट किन्थ्यौं ।

बाक्लो बाहुन गाउँको बिचमा हाम्रो घर थियो । सिनेमा हल र बजारभन्दा करिब दुई किलोमिटर पूर्वतिर । हलको बाहिरी गाना बज्या मज्जाले सुनिन्थ्यो । शनिबार नुआइधुवाई गरेर बाहिरी गाना सुनुन्जेलसम्म पनि हामी घरबाट नहिँड्ने । जब भित्री गाना सुरु भयो अनि दौडेर सिनेमा हेर्न जान्थ्यौं । लौवाको बारीबारी पुरानो जेलको बाटो हुँदै १० मिनेटमै पुगिन्थ्यो सिनेमा हल । गुटुङ्टुङ् ।

मलाई त्यसबेला बाल मनमा सिनेमामा नभएका कुराहरू यो संसारमा छैनन् होलाजस्तो लाग्थ्यो । म विश्लेषण गर्न सक्दिनथेँ तर केके भनिन्थ्यो, केके सोचिन्थ्यो ? कहिलेकाहीँ आफूजस्तै युवा पात्र सिनेमाका पर्दामा देख्दा आफैँले फिलिम खेलेजस्तो हुन्थ्यो । लोभले घुटुक्क थुक निलिन्थ्यो । अहिले सोच्दैमा नोस्टाल्जिक हुन्छु ! यतिखेर बुझ्दा त हो रहेछन् । ती सबै कुराहरू सिनेमामा सम्भव हुँदा रहेछन्– लभ, क्राइम र सेक्स ।

यसरी मैले सिनेमालाई विश्वविद्यालय ठानेँ । अनि आफू विद्यार्थी भएँ ।

म त्यतिखेर सिनेमामा प्रायः पोजेटिभ थिङ्किङ्का कुरा मात्र खोज्थेँ । कसैले त्यो भनेको यो हो भनेर मलाई त्यतिखेर चाहिँ बुझाइदिन सकेनन् । मैले सोध्न पनि जानिन् । के जानिन् त्यो पनि जानिन् । तर मेरा सिनेमा विश्वविद्यालयका बोल्ड प्राध्यापकहरू ऊ बेलाका माहिरमाहिर हिरोहरू राजेश खन्ना, विनोद ख्रन्ना, शशी कपुर र ऋषि कपुर नै हुन्थे । जो यतिखेर काल कलवित भैसके ।

समय त हो सुलुलुलुलु गर्दै बितिरह्यो ।

म पनि बढ्दै र पढ्दै जान थालेँ ।

एकजना ‘दाहाल राजु’ नामका मन मिल्ने साथी थिए । उनको पूरा नाम ठाकुरप्रसाद दहाल हो । मेरो नातामा बुवाका ठुली आमाका नाति । उमेरले मभन्दा जेठो भएर मेरा दाजु । म नाताले भाइ । अहिले इनरुवा नगरपालिका वडा नं.५ मा सामान्य गृहस्थी चलाएर बस्छन् । म यहाँ रामेछापमा बसी पढाउने/लेखाउने र फुर्सद्मा कम्प्युटरमा अक्षर ठटाउने काम गर्छु । यतिखेर लेखन मेरो प्यासन बनेको छ । उनी बेवहारमा फँसेका हुनन् । उनी र म बाबु भैसक्यौं तर हजुर बा भने अझ बनिसकेका छैनौं ।

Advertise
Hike & Write

एक दिन उनको फर्माइसमा उनैले ‘हात्ती मेरा साथी’ भन्ने हिन्दी सिनेमा देखाए । राजेश खन्नाको त्यो सिनेमा असाध्यै मन जित्ने खालको थियो । युवा र किशोर वयमा जो कोहीलाई जनावर, चरीपन्छी र प्राकृतिक सिनसिनेरी तथा लबसब धेरै मन पर्छन् । सिनेमामा त्यस्तै कुराहरू भरार थिए । प्रभाव नपर्ने कुरै भएन ।

उनले मलाई प्रस्ताव राखे । मेरो घरमा बोलाउने नाम कुमार थियो । उनले भने, ‘हेर कुमार् । तेरो घरमा बुवाको ठूलो अजन्ता डिक्स्नेरी छ । हो त्यो झिक, अनि गुहाली (गाईवस्तु बाँध्ने गोठ) मा भाइबैनीहरूलाई जम्मा पारेर सिनेमा देखाऊँ ल । तँ सिनेमा देखा, म कहानी भन्छु । क्या मज्जा !’ त्यो बेलामा अमलाका दाना र कापीका पाना असुलेर यस्तै सिनेमा देखाउने रौस चलेको थियो केटाकेटी वृत्तमा । हामी निर्देशक र निर्माता हुने भयौं । दमित भावनाले बाहिर निस्कने मौका पायो ।

उनको प्रस्ताव मैले नसोचीकनै हुन्छ भनेँ । किनकि मलाई सिनेमा देखाउने हुट्हुटी सिनेमा हेर्दा नै हुने गथ्र्याे । जसको सफल प्रयोग अब गुहालीमा सिनेमा देखाएर हुने भो । सिनेमा हेर्दा म सिनेमाका नायकझैँ अभिनय गर्न सक्छु । देखाउन सक्छु । बनाउन सक्छुजस्तो लाग्थ्यो । तर त्यो हुन्थ्यो/हुँदैनथ्यो केही थाहा थिएन । किन थाहा थिएन भन्ने कुरा समेत थाहा थिएन ।

सुसेलेर दिन बिताइन्थ्यो । कहिले सोलेको गीत । कहिले जानबर और इन्सानको गीत त कहिले बबीको गीत । ऊ बेलाका सुपरडुपर हिट हिन्दी सिनेमाहरू !

पुरानोपुरानो अजन्ता अङ्ग्रेजी–नेपाली डिक्स्नेरी धुस्नु बनाएर काटियो । अनि अर्धानो खालको सिरकको खोल च्यातियो । भाइबहिनीहरू जम्मा पारियो । अनि कहिले दाहाल राजुका गुहालीमा, कहिले आफ्नै गुहालीमा र कैलेचाहिँ दुवैलाई माझ पर्ने भगवान् काकाको गुहालीमा जानीनजानी सिनेमा भनेर डिक्स्नेरी चित्रहरू हलुका भिजाएको सिरकको खोलमा पछाडिबाट टाँसेर सिनेमा भन्दे देखाउन थाल्यौं । बाल लीला !

तीनचार दिन के देखाएका थियौं । बुवाले थाहा पाउनु भएछ । एक दिन बुवाले मलाई बोरामा हालेर पानी खन्याएर साफ चुट्नु भो । अनि त रुँदै/कराउँदै अबदेखि त्यसो नगर्ने भनेर वाचा गरियो । तर जति वाचा गरे पनि बुवाले पढेको र हामीलाई भविष्यमा काम लाग्ने अजन्ता डिक्स्नेरी कैँचीले काटेर धुजाधुजा भैगो ।

किताब सत्यानाश पारेपछि बल्ल बुद्धि आयो ।

केजाति ‘…..सक्यो दैलो देख्यो’ भनेझैँ ।

अहिले पनि दाहाल राजुको फोटो फेसबुकमा देखेँ भने सिनेमा देखाएको घटना सम्झेर एक्लै फिस्स हाँस्छु अनि अतुल मात्रामा विगतातीत मजा लिन्छु । कठै ! ती दिन गैगए ?


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button