परिवारः बुहारीको मुख हेर्ने रहर

दुर्गा शर्मा

बाग्लुङ्गबाट १७ वर्षअगाडि बसाईसराई भै कपिलवस्तुको बाँणगंगा नगरपालिका वडा नं.४ गजेहडामा बसोवास गर्ने एकजना जेष्ठ नागरिकको विवाह सानै उमेरमा भएको रहेछ । त्यस समयमा प्राय गरेर सामाजिक रितिरिवाज त्यस्तै थियो होला । सानै उमेरमा विवाह भएको भएतापनि दुलाहा दुलहीको उमेर भने मिलाएर गरेका रहेछन् । दुलहाभन्दा दुलही ४-५ वर्ष कान्छी रहिछन् ।

आजभन्दा ८०-८५ वर्षअगाडि स्कूल भर्ना भै पढ्ने भनेको केहि अपवादबाहेक थिएन भन्दा पनि हुनेरहेछ । कहिंकतै भए पनि औंलामा गन्न सक्ने थिए होला । तत्कालका राणा र राजपरिवार साथै केहि भारदारहरुबाहेक शिक्षाको पहुँच सर्वसाधारणमा थिएन भन्ने कुरा हामीले सुन्ने गरेका हौं । गाउँघरमा केहि पढेलेखेका गुरुहरुले अक्षर चिनाई कर्मकाण्डको पढाई कतैकतै हुन्थ्यो र त्यसैबाट मानिस शिक्षित हुन्थे भन्ने कुरा समेत सुनेका थियौं । यो पनि सर्वसाधारणको लागि ‘आकाशको फल आँखा तरी मर्’ जस्तै थियो रे ।

ती दम्पति साक्षर हुन सकेनन् । सामान्य खेतिकिसानी गर्ने र बाआमालाई सघाउने काम गर्दा रहेछन् । यसरी आर्थिक पक्ष सवल हुने नदेखेर रोजगारीको लागि दुलाहा लाहुर (भारत) गै आयआर्जन गर्न थालेछन् । दुलही आफ्ना सासुससुरालाई सघाई घरमै बसिछन् ।

समय बित्दै गयो । दुलाहा वा लाहुरे छुट्टीमा घर आउनजान थाले छन् । त्यस समयमा लाहुरेको खुव मानीमनितो हुन्थ्यो पनि । यसरी जागिर खान थालेको पनि ३० वर्ष भएछ । यसबीचमा लाहुरबाट घर छुट्टीमा आउँदाजाँदा ५ वटा छोरीको जन्म भएछ । छोरीहरु जन्मेर खुसी छायो पनि होला तर हाम्रो समाजमा कताकता विभेद मेटिएको छैन । छोरा पाउनका लागि घिड्किसो मेटिएनछ र बुढाबुढी घर सल्लाह गरी छोरा पाउन बुढा वा लाहुरे अर्को विवाह गर्न राजी भएछन् । वंश धान्न भनी ६३ वर्षको उमेरमा आफ्नो जेठी छोरी उमेरभन्दा कम उमेर भएकी बोल्ल र सुन्न नसक्ने कन्यासँग पुनः विवाह बन्धनमा कसिएछन् । बोल्न र सुन्न नसक्ने कन्या भएपनि सबै कुराको ज्ञान र बुझ्न सक्ने क्षमता रहेकाले पनि घरगृहस्थी राम्रोसँग चलाउन सक्ने भएकाले आफ्नो घरपरिवारसँग घुलमिल हुन सकिछन् । सबै परिवार सन्तुलित किसिमबाट चल्दै आयो । भारतको आसाममा जन्मे हुर्केकी र आफ्नै गाउँकी कन्या भएर पनि सहज भयो होला । आमा उमेरको सौता (दिदी) र पिता समानका पति साथै पाचँ बहिनी छोरीहरुको चित्त बुझाई बस्नु त्यो अपाङ्गता भएकि कन्याको महानता भन्नुपर्छ ।

बिस्तारै समय बित्दै गयो । परिस्थितले कोल्टे फेर्दै गयो । उनीबाट पहाड घरमा २ भाई छोरा जन्मे र सबै परिवार खुसीमा रमाए । दुबै दिदीबहिनीको (सौतासौता) राम्रो मिलती थियो । जेठीका ५ बहिनी छोरी भए अरु सन्तान भएनन् । कान्छीबाट २ भाई छोरा मात्र भए, अरु भएनन् ।

बुढाका आफ्ना दाजुभाई र दिदीबहिनीहरु तराईतिर भएकाले १७ वर्षअगाडि पहाडको सबै श्रीसम्पति बेचबिखन गरी २ भाई छोरा र २ वटा श्रीमती लिई पाँच जनाकोे परिवार तराईमा बसोबास गर्न आएका रहेछन् । ५ जना छोरीहरुको विवाहदान पहाडमै गरिसकेका रहेछन् । बुढेसकालमा विवाह गरी जन्मेका छोराहरुको ख्याल राखेर पनि होला, आफ्ना भाईहरुसँग नजिकै रहे छोराहरुको हेरचाह गर्न सजिलो होला भन्ने सोचेर तराईमा आएका होलान् ।

हाल उमेरले ९१ वर्ष पुगेका बुढाको जेठी श्रीमतीलाई प्यारालाइसिस् भएको कारणले २ वर्ष अगाडि गुमाउनु पर्यो । बुढा दुख मानेर खुब रोएछन् । जेठीतर्फका छोरीहरु पहाडमा आआफ्ना छोराछोरी, नातिनातिनाहरुसँगै रमाई बसेका रहेछन् भने बुढाको साथमा कान्छी श्रीमती र २ भाई जवान छोराहरु छन् । घरको स्थिति नाजुक भने छैन तर व्यवस्थित गर्न भने सकेका छैनन् । बुढाको आखाँ कमजोर भएका छन् । राम्रोसँग देख्न सक्दैनन् तर स्वस्थ छन् । छोराहरु लक्का जवान भएका छन् । जेठो छोराको विवाह गर्न जेठी श्रीमती हुँदा बखत नै कोसिस भएको रहेछ । बुहारी देख्ने घिट्कीसो अधुरै रह्यो ।

बुढाका भाईहरुले साथै इष्टमित्रहरुले पनि तीनचार ठाउँमा कन्या नदेखाएका पनि थिएनन् तर विवाह भने हुन सकेको थिएन । बुढाको जेठी श्रीमती बुहारीको मुख देख्न नपाइ परलोक पिडा त छँदैथियो । बुढालाई पनि बुहारीको मुख नहेरी मरिने भैयो भन्ने पिर परेको देखिन्थ्यो । आफ्ना छोराको दावलीहरुको विवाह भई बेहुली घर भित्रिएको देख्दा कान्छी श्रीमतीको अनुहारमा पिडा भल्किन्थ्यो ।

समय गतिशिल हुन्छ । आरोह अवरोह सबै जीवनका चक्र हुन् । जेठो छोराको विवाह गर्न नपाएकोमा बुढाबुढी सधै चिन्तित र निरास देखिन्थे । दुबै छोराहरुको जागीर, बन्दव्यापार छैन तर अचल सम्पत्ति भने राम्रो छ । कान्छो छोराले क्याम्पसमा पढ्दै छ, टाठो छ, कलकारितामा पनि दखल राख्दछ । सँगसँगै विदेश गै पैसा कमाउने चक्करमा समेत लागेको छ । मौका भने अहिलेसम्म पाएको छैन । घरको कामधन्दामा सघाउने काम गर्छ । हलुका छ र गाउँलेहरुले पनि मन पराउँछन् । अलि अलि सामाजिक काममा पनि अग्रसरता देखाउँछ । दाजुले घरको भौतिक काममा रुची देखाउदैनन् । सामाजिक काममा रुचि राख्दछन् र मेसो मिले जग्गा दलालीको समेत काम गर्दछन् । धेरै पढ्न सकेनन् तर जाड, रक्सी, तास र वेभिचारबाट टाढै रहन्छन् । उनको पारिवारीक संजाल ठूलो रहेकोले कुराहरु पनि धेरै हुन्छन् । उनले धेरै कुराहरु गर्न पनि रुचाउँदैनन् । केहि अहम र इखको भाव प्रष्टै देखिन्छ र कुरा काटेको देख्न र सुन्न सक्दैनन् । यो उनको स्वभाव रहेछ ।

Advertise
Hike & Write

विवाह गर्ने उमेर छिप्पिदै गएको रहेछ र उनको उमेर पनि २७ वर्ष पुगेको रहेछ । विवाह हुन नसकेकाले आफ्न्तहरु चिन्तित देखिन्थे । गत वर्ष २०७७ सालमा उनका एक जना काकाले विवाहको कुरालाई गम्भिर रुपमा एक्लै कुरा राखेका रहेछन् । छलफलको दौरानमा अहिले ग्रहदशा राम्रो छैन र मैले रोजेकी कन्याको पढाइ पनि बीचमा छ । तसर्थ २०७८ सालको मंसिर भरमा विवाह गर्ने हो, तपाईहरु कतै कन्या खोज्न जानुपर्दैन, ढुक्क भएर बस्नुस् भनि आश्वासन दिएछन् र यो कुरा तपाईसँग मात्रै राख्नु होला भनी आस्वस्त पारेछन् र काका पनि चुपचाप बसेछन् । उता पहाडका आफ्ना दिदीहरु भाईको विवाह भएन भनी काकाहरुसँग गुनासा पोखिरहेका रहेछन् ।

२०७७ साल गयो । २०७८ लाग्यो । काकाले मंसीर महिना कहिले आउला र विवाहको कुरा गरौला भन्दै औंला भाँच्न थालेछन् । औंला भाँच्दाभाँच्दै मंसिर महिना लाग्यो । अब काकाको कनकन सुरु हुन थाल्यो । तर विवाहको अत्तोपत्तो छैन । मंसिर महिनाको बीचतिर अचानक केटाले आफ्ना काकालाई फोन गरी केटीको घरबाट बोलाउनु भएको छ, छिटै आउनु भनी खबर गरेछन् । खबर पाउनसाथ काका गजेहडा पुग्दछन् र आफ्नो काईलो दाजुसँग केटाले बोलाएको कुरा राख्दछन् । आफन्तहरुलाई केटाकेटीको माया प्रेम यतिधेरै गहिरो होला भन्ने छनक पनि थिएन । यिनी सबै गफका कुरा होलान् भन्ने बुझेका रहेछन् । केटालाई काईला काकाकोमा बोलाउने काम भएछ र वस्ताविक कुराहरु केहो भनी बुझ्ने काम भएछ । कुराकानी पछि दुईजना काकाहरु कन्याको घरमा गएछन् । कन्याको घरमा केटाको काकाहरु आउदैछन भन्ने कुरा पुगिसकेको रहेछ । केटाको घरबाट कन्याको घर जान ३० मिनेटको पैदल बाटो रहेछ । काकाहरु कन्याको घरगई कन्या माग्ने काम गरेछन् । कन्याको बुवाआमा, माइलो दाई र जेठी भाउजुको उपस्पथितिमा कुरा भएको रहेछ । यो कुरा २०७८ मंसिर महिनाको दोस्रो हप्तातिरको रहेछ । कन्याको पढाई स्नातकको अन्तिम वर्ष भएको र पौष महिनाको अन्त्यतिर अन्तिम परिक्षा दिने भएकोले पनि विवाह गर्न अलि हतार हुने कुरा भएछ । साथै केटाले भन्दा कन्याले धेरै पढेको कुरा पनि उठेछ । सँगसगै दुवैको प्रेम पनि रहेको कुरा दुवै पक्षलाई ज्ञात भएछ ।

कुराकानीको दौरानमा घर सल्लाहागरि छिटै खबर गर्ने कुरा कन्या पक्षबाट भएछ । त्यहाँ कुनै पनि नकारात्मक कुराहरु भएनछ । त्यसपछि केटाका काकाहरु आआफ्ना घरतिर लागेछन् । कन्याको घरमा भएगरेका सम्पूर्ण कुराहरु मोबाइलमार्फत कन्याले केटालाई जानकारी गराईसकेकी रहिछन् । केटाका काकाहरु घरआई कुरागर्दा त्यहाँ भएका कुराहरु केटाले हुवहु राख्दा काकाहरु तिनछक परेछन् । यसपछि कन्या र केटाको सम्बन्ध झन भन्दा झन कसिलो हुदंै गएछ । यता काकाहरु कन्याको घरबाट खबर कहिले आउला भनी पर्खी बसेछनन् तर खबर भने आएन । मंसीर महिनाको तेस्रो हप्ता बित्न लाग्यो तर विवाहको अत्तोपत्तो छैन । केटा र कन्या के गर्ने कसो गर्ने भन्ने विभिन्न उपायहरुको खोजीमा लागेछन् तर केहि उपाय लागेनछ । २०७८ साल मंसीर २५ गतेका दिन एकजना काका एउटा सहकारी संस्थाको साधारण सभामा भाग लिन गजेहडा गएका रहेछन् । त्यसै समयमा केटाको घरमा पसी विवाहको कुरा बुझ्दा कन्याको घरतर्फ पनि अन्योलकै वातावरण रहेछ । केटाकेटीको सल्लाह मंसीरमै विवाह गर्ने भन्ने रहेछ । कन्याको घरमा विवाह टार्ने जस्तो कुरा कन्याले बुझिछन् र छिट्टै विवाह गर्ने निधो गरेछन् । केटाले एउटा काकासँग अब मन्दिरमा गै विवाह गर्नुपर्छ भन्ने कुरा राखेछन् । काकाले सम्झाउन कोशीस गरेछन् तर केटाकेटीले छिटै विवाह गर्नु पर्ने जिद्दी गरेछन् र काकाले पनि यदि त्यसो हो भने हुन्छ भन्दै काइला काकाको घरमा गएछन् र त्यहाँ केटाको फुपु समेत भएकाले दुवै जनासँग कन्या भगाई मन्दिरमा विवाह गर्छु भन्छ के गर्ने भनी सल्लाह मागेछन् र उहाँहरुले पनि हुन्छ भन्नु भएछ तर कुराहरु कत्तिको पत्याउनु भयो, थाहा भएनछ । काका त्यसपछि आफ्नो घर फर्केछन् । त्यसैदिन रातीको समयमा कन्या र केटा झोला बोकी टुप्लुक्क काकाको घरमा आएछन् । काकाकाकी केटाकेटी भागी आएकाले अल्ली चिन्तित भएछन् । केटीको घर तर्फबाट छोरी कता गई भनि खोज्नु स्वभाविकै हुन्छ र प्रहरी कार्यालमा गई केटी भगायो भन्ने जाहेरी हुन्छ कि भन्ने डर पनि स्वभाविक नै रहन्छ । त्यो रात जेजस्तो सोच रहेता पनि पनि रातको खाना खाई सुरक्षित भई बसेछन् ।

काकाकाकीलाई जिम्मा थपिएकाले घरसल्लाह गरी मन्दिरमा लगि विवाह गर्ने कुरा भएछ तर अन्य कुनै परिवारलाई खबर नगर्ने कुरा भएछ । मिति २०७८ साल मंसीर २६ गतेका दिन बिहानै नुहाईधुवाई गरी बुटवलको कालीका मन्दिरमा लगि विवाह गर्ने कुरा भए बमोजिम बुटवल बजारमा गई विवाहका केहि अतिआवश्यक सामानहरु खरिद गरी केटाकेटीसहित मन्दिरमा पुगेछन् । मन्दिरमा पंडितजीसँग कुरा गर्दागर्दै केटाको एकजना साथी गजेहडाबाट बुटवल आइपुगेकोले विवाहमा धेरै सहज भएछ ।

बिहानै कालीका मन्दिरमा दुलाहादुलही, दुलाहाको साथी, एकजना पण्डित र काकाकाकी समेत ६ जना भै विवाह सम्पन्न गरेछन् । विवाह सम्पन्न पछि काकाको घरमा गै दाजुभाई, ईष्टमित्र र घरपरिवारलाई विवाह सम्पन्न भएको खबर मोबाइलमार्फत पठाएछन् र दिउसको खाना खाएछन् । विवाह भएको खबर पाउने बित्तिकै दुलाहाका बाआमा खुसी भई वरीपरिका ईष्टमित्र, दाजुभाइ, दिदीबैनी, छोराछोरीहरुलाई बोलाई सेलरोटी हाल्ने, अचार बनाउने, चिया पकाउने खाने आदि काम गर्दै रतेउलि खेल्न थालेछन् ।

अहो ! त्यो दिन, ९१ वर्षका बुढा बा र लाटी आमा कति हर्षित भए होलान्, बुढेसकालको सहारा भेटाउँदा । दैवले सँधै नकारात्मक सोच्दैनन् । तर, कन्या पक्षका बाबुआमाको र दाजुभाईको मन कति कुँडिएए होला ? हामीले अनुमान गर्न पनि सक्दैनौँ । त्यसैदिन साँझ दुलाहाको घरमा दुलाहादुलही लिएर जाने भन्ने कुरा बुटवलबाट काकामार्फत कुरा गएको रहेछ । साँझ स्कार्पियो गाडी बुक गरी दुलाहादुलही, दुलाहको साथी, दुलाहका दुईदुई जोडी काकाकाकीहरु र एक नाती भएर दुलाहाको घरमा दुलही भित्राउन गएका रहेछन् । आफ्नो चलनचल्ती अनुसार दुलहीको मुख हेर्ने काम सम्पन्न गरी खाना खाई बुटवलका काकाकाकीहरु आआफ्नो घर फर्किएछन् । दुलाहाको घरमा नाचगान गरी रमाईलोसँग विवाह उत्सव मनाएछन् ।

यो प्रेम पनि अचम्मको हुँदो रहेछ । प्रेम अटल रहिरहोस् । यो दम्पत्ती सदा खुसी र सुखी रहोस् । विस्तारै केटीको माइती पक्षतिर पनि अलि सहज हुँदै गएकाले विवाह गरेको डेढ महिनापछि दुलाहा पक्षका सम्पूर्ण परिवारलाई कन्याको माइती पक्षकाले बोलाइ दुई परिवार एकआपसमा सम्बन्ध विस्तार गरी पारिवारिक सहजता कायम गरेछन् । दुलाहा दुलहीले एक आपसमा दह्रो समझदारी कायम राखी आफ्नो घरलाई सुन्दर बनाई बुढेसकालका बाआमाको आँशु पुछुन् । यहि छ शुभकामना ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button