
जिरीबाट फर्कँदा ‘जिरो’मा झरेको मानवता
सरिता पराजुली
२०७५ माघमा काठमाडौँबाट जिरीतर्फ लाग्यौं । बाटोमा धेरै रमाइलो गर्दै जिरी पुग्यौं । दुई दिनको बसाईपछि घुमेर घरतिर फर्किदै थियौं ।
दिउँसोको त्यस्तै ३ बजेको थियो । गाडी लामबगर, तामाकोशी बजारमा रोकियो । हामी पसलभित्र चियानास्ता खाँदै थियौं । अलि परबाट एक जनाले आफ्नो पिठ्युँमा अर्को मानिस बोकेर आइरहेको देखेँ । ऊ एकदमै हतारमा थियो, पछाडिको मानिस ‘दुख्यो ! दुख्यो !’ भनेर कराइरहेको सुनिन्थ्यो । उसको शरीरबाट रगत पनि बगेको देखिन्थ्यो । सायद कसैले गाडीमा बस्न दिएर चरीकोट अस्पतालसम्म लगिदिन्छन् कि भन्ने आशामा थियो ।
गाडी रोकिँदासाथ ‘हजुर ! हामीलाई चरीकोटसम्म लगिदिनोस् न’ भनेर अनुरोध गरी हात जोडेर रुन्थ्यो । तर उसको कुरा कल्ले सुन्ने ?
त्यो सब हामीले चिया नास्ता खाउन्जेल हेरिरहेका थियौं । मैले चिया पिउने बेलासम्म त्यहाँ धेरै गाडी रोकियो तर कसैले पनि उसको अनुरोध सुनेनन् अनि मतलब पनि गरेनन् । त्यो दृश्य मैले चिया पसलभित्रैबाट देखिराखेको थिएँ । म चिया पिउँदै गरेकोले हुनाले मभन्दा चाँडै कसैले लग्दियो भने त उसले उपचार चाँडो पाउने छ भन्ने मेरो मनमा लागेको थियो तर त्यसो हुन सकेन ।
ऊ साह्रै निरीह र निराश अनुहारका साथ हरेक गाडीतिर मात्र हेरिरहन्थ्यो, आशामुखी भएर । म बाहिर निस्केँ । त्यो मानिस मतिर दौडेर आयो ।
‘हजुर ! मेरो बिरामीलाई चरीकोटसम्म लगिदिनु, त्यहाँ अस्पताल छ’, भनी रुन थाल्यो ।
‘के भएको हो र ?’, मैले सोध्न नपाउँदै उसले भन्यो, ‘गाईवस्तुको लागि स्यौला भाँच्न जाँदा रुखबाट खसेको ।’
बिरामी बेहोस जस्तै भइसकेको थियो । रगत बागिरहेको थियो ।

मनमनै सोचेँ, ‘मानवधर्म यही हो । यो भन्दा ठुलो उपकार अरु के हुनसक्ला र ?’ हाम्रो गाडीको गुरुलाई बिरामीलाई पछाडि सिटमा राख्न लगायौं । गाडी अगाडि बढ्यो, बेलाबेलामा ऊ कराइरहन्थ्यो, धेरै दुखेर पनि होला ।
हामी चरीकोट आइपुग्यौँ, बाटैमा अस्पताल पर्दोरहेछ । अस्पतालअगाडि गाडी रोकियो अनि उनीहरू त्यहीं उत्रिए ।
‘तपाइँको मन धेरै सफा रहेछ नानी ! तपाइँलाई कहिले पनि दुख नपरोस् ! हात जोडेर रुँदै आशीर्वाद दिदैं खल्तीबाट पैसा निकालेर ‘भाडा लिनु नानी’ भनेर मेरो नजिकै आयो ।
‘नानी ! तपाइँभन्दा पहिला कति गाडी आए, कसैले मेरो पुकार सुनेनन् । ठुलो गुन लगाई हाम्रो बेथा बुझी दिनु भयो । त्यही हुनाले भाडा लिनु भनेको नानी’, ऊ भन्दै थियो ।
‘के भनेको तपाइँले यस्तो कुरा ? भाडा पर्दैन । जानु । बरु राम्रोसँग उसलाई हेर्नु’, भनेर हामी घरतिर लाग्यौ ।
घर आइपुग्ने बेलासम्म मनमा धेरै कुरा खेलिरहे । सुनेको थिएँ, पहाडमा धेरै मानिसको लडेर मृत्यु हुन्छ । आज आफ्नै गाडीमा हालेर अस्पतालसम्म ल्याइदिएँ । मलाई धेरै सन्तुष्टि र आनन्दबोध भयो ।
बिरामी कराएको अनि रोएको, बिरामी बोकेर लेराउने मानिसले मभन्दा पहिलेका गाडी धनीहरुलाई बिन्ती गरेर अस्पतालसम्म पुर्याउन अनुरोध गरेको, बिरामीले गाडीतिरै आश गरेकोे त्यो दृश्य आँखा वरिपरि घुमिरहन्छ । बिर्सिन सक्दिनँ त्यो दृश्य । कहिले पनि भुल्न सक्दिनँ ।
मानिस किन यति स्वार्थी हुन्छन् ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)