पहिले डण्डेश्वरी, बीचमा कण्ठेश्वरी, अहिले मन्टेश्वरी

बेबहार विश्वविद्यालयको विद्यार्थी हुँदा

पेशल आचार्य

अघिल्लो डायरीमा मैले झापा बसाइका केही कुरा लेखेँथेँ ।

आज फेरि यो अङ्कमा झापामै विचरण गरेका घटनाहरू पस्कन्छु । झापामा त्यो बेला वीरेन्द्र मावि, चन्द्रगढी नामचलेको सरकारी हाइस्कुलमा गनिन्थ्यो । २०३६ देखि २०३८ सालकरिब ३ वर्ष मैले त्यहाँ पढेँ ।

हाम्रो २०३८ सालको एसएलसी ब्याचमा २३० जना विद्यार्थी थियौं । सो ब्याचमा लगभग ८० जनाजति विद्यार्थी पास भएको हेक्का छ । कुनकुन डिभिजनमा कतिकति भन्ने चाहिँ अब बिर्सिएँ । मेरो चाहिँ सेकेन्ड डिभिजन हो ।

जे होस् त्यो ब्याचका अब्बल विद्यार्थीमध्ये जिन्दगीमा पछि गएर सञ्जु कार्की डाक्टर, सुशीले मिश्र बेपारी र कुमार लम्साल बैङ्कर भए । यी फस्ट, सेकेन्ड र थर्ड विद्यार्थी थिए ।

चन्द्रगढीमा पढाउने मास्टरहरू उम्दा थिए । मैले मानेका सरहरूमा खडानन्द वाशिष्ट जो पछि आफ्नै बोर्डिङ्ग स्कुल खोलेर धनुषमोडमा बसे । नेपाल राष्ट्रिय शिक्षक संगठनको राजनीतिमा अब्बल नेता बनेका कालीप्रसाद पोखरेल, काली सरकी बहिनी शान्ता प्रसाईं जो पछि मोरङ कलेजमा पनि पढाउन पुगिन् । त्यसैगरी हेडसर डिल्लीप्रसाद भट्टराई, यी ४ का हाँच मानवा खनाल मिससमेत पर्दथिन् । उनले चैँ हामीलाई नेपाली पढाउँथिन् ।

मैले ८, ९ र १० क्लास मानवा मिसबाट नेपाली पढ्ने अवसर पाएँ । उनका श्रीमान् त्यो बेला मेची क्याम्पसका चिफ थिए ।

Advertise
Hike & Write …

कालीप्रसाद पोखरेल हाइस्कुलका अङ्ग्रेजी शिक्षक थिए । कडा मिजास र इमान्दार शिक्षक भएकाले मेरो अहिलेको शिक्षण तौर तरिकामा हल्काकाली सरको प्रभाव सरेको मैले महसुस गरेको छु । शिक्षक हकहितको आन्दोलनमा लागेका नेताहरूमा अहिले म सेवारत रामेछाप जिल्लाबाट गोरेबहादुर खपाङ्गी, मकवानपुरबाट बद्रीप्रसाद खतिवडा, झापाबाट देवी ओझा र हाम्रा गुरुबा कालीप्रसाद पोखरेल सर पनि उम्दामा गनिन्थे ।

कालीसरले नै मेरो अङ्ग्रेजीप्रतिको रूचिलाई थप गोडमेल गरिदिनु भयो । त्यो स्कुलमा हेडसर डिल्ली र काली सर दुवैले अङ्ग्रेजी पढाउनु हुँदो रहेछ । डिल्ली सर अलि नरम तर कालीप्रसाद निक्कै कडा । म ८ कक्षामा सुनसरीबाट स्थानान्तरण भई गएको विद्यार्थी डिल्ली सरको सेक्सनमामा परेँ तर बुवाले राम्रो क्लास हुन्छ भनेर काली सरकोमा नाम सारिदिनु भएछ । अनि पास हुनकै लागि पढ्नु प¥यो ।

त्यो बेला भर्खर कण्ठ गर्ने संस्कार आएको रहेछ । हामीभन्दा अघि लौराले पिटीपिटी पढाइने हुनाले ‘डण्ठेश्वरी’, हाम्रा पालामा कण्ठ गर्नु पर्ने हुनाले ‘कण्ठेश्वरी’ र हामीभन्दा पछि अहिलेको जमानामाफकाई फुल्याई पढाउने संस्कार आएकाले ‘मन्टेश्वरी’ भनिएको रहेछ । मैले ९०० पूर्णाङ्कको एसएलसी दिएको हूँ, जसमा २ सय पूर्णाङ्कको ऐ.द्वितीय कार्यालय सञ्चालन विषय पढेँ, जुन विषयले मलाई कार्यालयीय काममा पोख्त बनाइदियो ।

म अलि पुरानो जमानाको हुनाले मलाई किनकिन आफ्नै समयको संस्कार मन पर्छ । जस्तो भोग्यो उस्तै चाहने मानिसको स्वभाव हुन्छ । हुने गर्छ ।

….

घरमा अलि दुःखदुखै थियो । लगभग साढे चार विगहाजति जग्गामा खेती गरिएको थियो । सबै आफैँ काम गथ्र्यौं हामी । तीनभाइ छोरा र बाआमा गरी पाँचजनाको जहान । मिठो मसिनो खानु पर्ने बेला कहिले रुखोसुखो पनि पर्दथ्यो । खेतीपातीका कुरा, बस्तुभाउ पालनका कुरा, कुख्राबाख्राका कुरा र पढाइका कुराले सानो उमेरमै जिम्मेवारी लिन सक्ने बनायो । समय नै गतिलो शिक्षक रहेछ । घरभित्र र बाहिरका सबै काम पालैपालो गरियो । सुरु सुरुमा केही बिगारियो भने पछि सिकियो ।

आमालाई अनौठो प्रकारको रोगले चेपेको थियो । धेरै उपचार गर्दा पनि निको हुन सकेन ।

झापामा हामीले अहिलेका सरकारले भने झैँ ‘कमाउँदै पढ्दै’ सोच ल्यायौं । बुवाले धान पाकेपछि मंसिरमा छोरीलाई दिने भूमेपाथी दिदीबहिनी नभएका हामी छोराहरूलाई नै दिनुहुन्थ्यो । हामी सोही धान बेचबाच पारेर कुखुराका चल्ला किन्थ्यौं । छिमेकी तामाङ दाइ थिए । उनीकहाँबाट चल्ला किनेर रातो रङ्ले ३ भाइको चल्ला चिनिने गरी चिनो लगाउँथ्यौ । कुखुराको भाले परे चार÷छ महिना पालेर गाउँकै रौसे तथा लेखापढी गर्ने गोविन्द श्रेष्ठ नामका दाइलाई बेच्थ्यौं । पोथी परे अन्डाका लागि पाल्थ्यौं । भालेपोथी रोज्नेचाहिँ हामी ३ भाइमा चिठ्ठा गथ्र्याैं ।

कुखुराका चल्लाले हामीलाई सिकाइ र पैसो दुवै दिनथाले । मैले कलेजको फिसमेत भाले बेचेर तिरेको छु । बासेको निक्कै गतिलो भाले ऊ बेलामा २० रूपियाँमा विक्री हुन्थ्यो । जमाना सस्तो थियो । पैसा महँगो तर जिनीश सस्तो थियो ।

गोविन्द दाइले थपेर १ रूपैयाँ दुमु दिन्थे । उनी सानोतिनो पैसा वास्ता पनि नगर्ने हुनाले हाम्रा धेरै कुखुराका भालेहरू उनैले किनेर लग्थे । उनी पोथी किनेर खाँदैनथे । कहिलेकाहीँ लगे भने फुलका लागि पालेको हामी देख्थ्यौं ।

भनी साध्य छैन । झापामा धेर दुःख गरियो । तर तिनै दुःखले जीवनमा यतिको काबिल र गरिखाने बनायो । अहिले यहाँ उभिएर सोच्दा लाग्छ, ‘त्रिभुवन विश्वविद्यालयले ज्ञान दिएछ भने बेबहार विश्वविद्यालयले सीप दिएछ ।’ मलाई अहिले पनि कसोकसो सीपकै धेरै लोभ लाग्छ ।

अन्त्यमा, घुमीफिरी रुम्झाटार भने झैँ सम्वत् २०४२ साल जेठमा झापाबाट फेरि इनरुवा बसाइँ नफिरी भएन । बलाहाको उत्तर टोलबाट झापा गएका हामी बसाइँ फिरेर आउँदा दक्षिण टोलमा जग्गा किन्न पुग्यौं ।

अनि मेरो कलेजको सेकेण्ड इयरको पढाइ मोरङ क्याम्पस विराटनगरमा हुनपुगो । त्यही बेला २०४२ सालमा माहिलो भाइले एसएलसी दियो । कान्छो ८ कक्षामा पढ्न थाल्यो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button