
धनभन्दा पर केही छैन अरु
दीन पन्थी
धनकै वशमा वशीभूत छ संसार । अर्थ एकमात्र पुरुषार्थ हो मान्छेको । अर्थविना व्यर्थ छन् अरु पुरुषार्थहरु । निस्सार छन् नैतिक गुणहरु । निरर्थक छन्– संयम, त्याग र सदाचारका बकम्फुस बातहरु । बेकम्मा छन्– आदर्श, निष्ठा र सिद्धान्तका कुराहरु । धनकै सहचरी छ बुद्धि पनि । बिकाउ छन्– इमान, न्याय, विद्या र धर्म पनि यस वैश्विक युगमा ।
मानवीय गुणहरु, भावनाहरु, सृजनशील प्रतिभाहरु, बलिदान र देशप्रेमका भावनाहरु र कला सबै रंगहीन भएर पूँजीको वशमा छन् । यस युगमा पूँजीदेवीको पूजा हुन्छ केवल । लक्ष्मीको युग छ । सरस्वती मूच्र्छित छन् कलिमा । धनभन्दा पर केही छैन अरु । त्यसैले त जीवनको ध्येय धनार्जन मानेर चल्छन्– युग बुझेका चंखहरु । सौदामा चल्छन् सबै कुरा यस युगमा । सबै पण्य छन् ।
समाज भनेको सौदागरहरुको भीड हो– जहाँ लेनदेन मात्र हुन्छ । यौवन बिक्छ बजारमा चामल झैं । न्यायनिसाफ बिक्छ– सुनचाँदीको भाउमा । शिक्षा बिक्छ जोखेर तुलामा, चाहेजति । इमान बिक्छ– कौडीमा, ज्यादै सस्तो छ यस युगमा इमान । प्रेम, धर्म, बन्धुत्व, परोपकार, सद्भाव सब बिकाउ छन् । सत्यमात्र खोटो मोहोरजस्तै चल्दैन यहाँ । धनकै धन्दामा धद्दाउँछन् जोगी, बैरागी र साधुसन्तहरु । धनविना भोजन बन्दैन, भोजनविना भजन चल्दैन । भोको पेटले न एकतारेमा राग आउँछ न कठतालमा ताल । भजनविना देवता प्रसन्न हुन्नन् । धनकै अनुयायी छ धर्म पनि ।
‘धनाद् धर्म ततः सुखम्’ भन्छन् । धनबाट धर्म हुन्छ, धर्मबाट सुख हुन्छ । मतलब स्पष्ट छ– जससँग धन छैन, त्यसले दुःख पाउँछ । धनविना सम्पन्न हुन्नन् पूजा र अनुष्ठानहरु । धनविना प्रसन्न हुन्नन् देउपितृहरु । धनले नै बन्छन् मन्दिर र मूर्तिहरु । चन्दाको फन्दामा लर्बरिएका हुन्छन्–यज्ञहरु । यज्ञमा पैसा हाल्नुस्– धर्मात्माको प्रमाणपत्र लगेर टाँस्नुस् । धेरै पैसा दिनुस् बाजा बजाउनुस् । सन्त हुन् या महन्त, पादरी हुन् या मुल्ला सबै धनकुटुरीमा आँखा गाड्छन् ।
दक्षिणाविनाको यज्ञ मृतयज्ञ हँन्छ भन्छन् पण्डितहरु । धनविना न तीर्थव्रत हुन्छ, न सदाव्रत । धन नभई न दान हुन्छ न मान । धनले धर्म हुन्छ, धर्मले धन हुन्छ । यसरी नै घुम्छन् धनधर्मका चक्रहरु । धनविना न विद्या हुन्छ न यश । विद्या र यश नगदमा बिक्री हुन्छन् बजारमा । धनाढ्यता नै कुलीनता हुन्छ । धनाढ्यता नै गुणवत्ता हुन्छ । धनाढ्यता नै नैतिकता र सभ्यता बन्छ यस युगमा ।
निर्धनको विद्वत्ता मजाक बन्छ । धनाढ्यको अनैतिकता नैतिकता बन्छ, असभ्यता सभ्यता बन्छ, व्यभिचार सदाचार बन्छ । भ्रष्टाचार पुरुषार्थ बन्छ । सच्चा कमाइको कुरा गर्नेलाई कमजोर मानिन्छ । सादा जीवन उच्च विचार भन्नेलाई छुचो भनिन्छ । जसरी भए पनि धन कमाउनुपर्छ । केवल धन चाहिन्छ । क्षम्य छन् धनार्जनका टेढामेढा बाटाहरु । धनमत्त माफिया र भ्रष्ट शिर ठाडो पारेर हिड्छन्, धाक, मान र शान छ बेइमानहरुको ।
सिद्धान्त र नीतिले चल्दैन राजनीति पनि यस पूँजीको राजमा । सिद्धान्त र वाद जे भने पनि व्यवहारमा धनवाद सर्वोपरि छ । पूँजीले चल्छ राजनीति । पूँजीका लागि चल्छ राजनीति । जसको पूँजी उसको राज, जसको राज उसको पूँजी । निर्धन जनताहरु नेताको पछि लाग्छन्–धनका लागि । राजनीति भोटले चल्छ लोकतन्त्रमा । भोट नोटले चल्छ । भोटले फेरि नोट फल्छ । राजनीति धन फल्ने कल्पवृक्ष हो गणतन्त्रमा । सिद्धान्त र नीतिका राजनीति भासमा डुबे, धनका राजनीति शिखर चुमिरहेछन् । धन भए बन्धु छन्, मित्र छन्, अनुयायी छन् । डढेको वनलाई मृगले छाडे झैं निर्धनलाई बन्धुले छाड्छन् । धनविना शून्य छन् दशै दिशा । धन भए भोजन छ, आवास छ, वाहन छ, सेवक छन्, बजार छ, मनोरञ्जन छ, प्रतिष्ठा छ । धनमै धाक छ, रबाफ छ । धनविना केवल ताप छ । सुनको जलपमा टल्किरहेछ नयाँ जमाना ।
क्यासिनो र डिस्कोमा हुर्किरहेछ नयाँ सभ्यता । पहिरन, आभूषण र आडम्बरमा चम्किरहेछ नयाँ संस्कृति । ढोंग र स्वाब्मा जागिरहेछ नयाँ धर्म । यस युगमा अरुमा छैन सार । धन कमाऊ, खाऊ, पिऊ, मोज उडाऊ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)