
झापामा हामी चिचिले भुरालाई समेत पञ्चायती पुलिसले वारेन्ट काट्यो
क्लासको फुच्चे म
पेशल आचार्य
सम्वत् २०३६ सालमा म ८ क्लासमा पढ्थेँ । त्यो साल मेरो जीवनमा उथलपुथलको वर्ष रह्यो । देशमा समेत त्यो साल निकै परिवर्तनहरू भए । आन्दोलन, हल्लाखल्ला र शेरगुल मैले त्यही साल देशैभरि चम्केको देखेँ ।
झापामा हामी चिचिले भुरालाई समेत पञ्चायती पुलिसले वारेन्ट काट्यो । महिनौं स्कुलबन्द रह्यो । भागारे भाग हामी ८ क्लासदेखि १० सम्मका सबै विद्यार्थी । मास्टरको त कुरै भएन । सब लापत्ता !
मेरो बालमस्तिष्कमा ‘कविताशक्ति’ले चस्का लगाएको त्यही साल नै हो । भवानी घिमिरे मेरा गुरु । उनको कविता पढ्ने र हातको हल्लाइले म कविता र उनीप्रति फिदा भएको थिएँ । पछि कवितामा विद्रोह बुझ्दै गएँ र क्रमशः तानिँदै गएँ क्रमशः … ।
म कहिल्यै बिर्सन्नँ । भद्रपुरमा आइतबार र बुधबार २ दिन हाट लाग्थ्यो । दुवै दिन लाग्ने हाटमा तरकारी तथा खिच्रिङ्मिच्रिङ् सामानहरू एकातिर र म वेसी हाट (गाईभैँसी र बाख्राको हाटबजार) अर्कोतिर लाग्ने गर्थे । दुवै हाटको फरक त्यही १५ मिनेट जति दूरीमा थियो । टाढा भए पनि हामी सौदा गर्न भनेर हाट जान्थ्यौं । तराईमा हाटमा किनिने भनेको विशेष तरकारी र माछा हुन् । हामी सोही उद्देश्यले भद्रपुर हाट जान्थ्यौं । म कहिले बुवाको साथ लागेर कहिले गाउँले छिमेकी दाजुहरूका साथमा जान्थेँ ।
त्यही साल हामी सुनसरीको इनरुवाबाट झापाको चन्द्रगढी बसाइँ सरेका हौं । बसाइँ सर्दा हामीलाई इनरुवाका छिमेकीहरूले रोएर बिदाइ गरेको अहिले पनि झल्झली याद आइरहन्छ । आमालाई दिनेशकी आमा र हामी तीनभाइ छोराहरूलाई चाहिँ छिमेकी हात्तीढुङ्गे साहिँला र कान्छाका छोराहरूले विदाइ गरेथे ।
केटाकेटीका लागि जहाँ बाबुआमा त्यहीँ उनेरूको घर । अलि अघि बुवा झापामा जागिरे भएर जानुभएको थियो । सायद् त्यो चाहिँ सम्वत् २०३५ सालतिर हो ।
बुवालाई झापाको समाज र परिवेशले तानेछ क्यारे ! उहाँ बसाइँ हिँड्न तयार हुनुभयो । खासमा मेरो बुवा अलि मुडी मान्छे हो । गर्छु भनेको काम गर्नैपर्ने । हामी बसाइँ गयौं । साथमा हामीले हाँडाभाँडा, ओढ्ने ओच्छ्याउने र खिच्रिङ्मिच्रिङ् सामानका साथै घरमा पालिराखेको एउटा बोकोसमेत गाडीमा साथै लग्यौं । बोकाको नाम माहिलो भाइले ‘चन्दने’ राखेको थियो ।
हामीले बेलायती कुकुरको बच्चा पनि साथै लग्थ्यौं होला तर त्यसलाई हामी बसाइँ हिँड्नु दुईतीन महिनाअघि गाउँमा आएको गोरु चोरले गुहालीमा सुतेकै अवस्थामा लौराले पिटेर मारिदिएको थियो ।
केटाकेटीमा हामी कुकुरका छाउरा, बिरालाका ङ्याउरा र बाख्राका पाठाहरूलाई औधी माया गर्दथ्यौं । माहिलो भाइ अझ सुगाका बच्चा, रुप्पीका बच्चा र भँगेराका बच्चा भनेछि हुरुक्कै हुन्थ्यो । अहिले आएर बुझिँदैछ– त्यसरी चरा र जनावरका बच्चालाई केटाकेटीहरूले उमेरजन्य स्वभावका कारण माया गर्दा रहेछन् ।
पछि मास्टर नभएको भए मैले यी र यस्ता सानातिना कुरा बुझ्ने थिइनँ । भाइहरूले त अझै बुझेका छैनन् होला । कारण तिनीहरूको पढाइ र जीवनका पेसा नै फरकफरक परे । माहिलो भाइ पुलिसमा अफिसर र कान्छो चाहिँ क्यासिनोमा अफिसर ।
गाउँघरमा हामीलाई ‘श्यामबाबुका एक्का ट्रायल’ भन्थे । बुवाको नाम श्याम । थर अचार्ज । अर्थात् श्याम आचार्य । सुनसरीमा रहँदाबस्दा विभिन्न अड्डा अदालतमा जागिर खानुभो– बुवाले । उहाँ रौसे । तास असाध्यै खेल्नु हुन्थ्यो । आमा र बुवाको झगडा तास खेललाई लिएर हुन्थ्यो । आमाबुवाले तास खेलेको देखी नसहने । अनि बुवा तास नखेली नसक्ने ।
इनरुवामा बुवाहरू मिलेर स्थापना गरेको शारदा माध्यमिक विद्यालयलाई रौसेर ऊ जमानामै १४ सय चन्दा दिनु भएको थियो रे ! जुन बेला १ सय रूपियाँमा १ बिगाहा धान खेत आउँथ्यो । त्यो विद्यालयमा मैले ८ कक्षासम्म मात्र पढेँ । तर फाइनल जाँच भने दिन पाइनँ ।
माथि नै भनिसकेँ कि हामी झापा बसाइँ गयौं । त्यो बेला ५ र ७ कक्षामा जिल्ला स्तरीय परीक्षा हुन्थे । म ८ मा, माहिलो भाइ ६ र कान्छो भाइ ४ मा पढ्थ्यौं ।
म कक्षामा सानो भएकाले सबैले ‘फुच्चे’ भन्थे । म जहिल्यै अघिल्लो बेन्चमा बस्थेँ तर मलाई ‘ब्याक बेन्चरहरू’ अति मन पर्थे । किनकि म त ‘ब्याक बेन्चरहरू’को प्रिय फुच्चे जो थिएँ !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



