
आँशु दबाएर ओठमा झुटो मुस्कान ल्याउन त मैले डिग्री गरेकी छु
मनको कुरा
सुप्रिया खनाल
जिन्दगीको राजमार्ग हाम्रो एउटा गतिशील यात्रा जहाँ हामी कयौं आआफ्ना अनगिन्ती सपना साथमा लिएर हिंडेका छौँ । हो, म पनि त्यही भिडको एक यात्री अनि लाग्छ म एक गन्तव्यविहिन साझा यातायात झैँ । कहिलेकाँही बाटोमा हिँडिरहेको एउटा थोत्रो बससँग तुलना गर्न मन लाग्छ आफूलाई । थाहा छैन। कहाँ गएर बिग्रिने हो । तैपनि गुडी नै राख्छ । त्यस्तै छ मेरो जिन्दगी, थाहा छैन कति खेर सकिने हो । तर पनि पीडाको रफ्तारमा अगाडि बढिरहेकै छ ।
थोत्रो बस् गुड्दै जाँदा खाल्डाखुल्डी मा लचक लचक्क लच्किए झैँ मेरो जिन्दगी पनि दुःखपीडा खाल्डोमा अनियन्त्रित तरिकाले छिर्ने गर्दछ । मैले आफूले आफूलाई साझा यातायातको संज्ञा किन दिएँ ? अचम्म लाग्ला सुन्दा तर साँच्चै यस्तै छ मेरो जिन्दगी एक साझा यातायात जस्तो जसमा जो मन लाग्यो जहाँ मन लाग्यो चढ्छन् अनि जहाँ मन लाग्यो झर्छन् । मेरो जिन्दगीको हाल पनि यस्तै छ जसलाई जहाँ मन लाग्यो मेरो जिन्दगीमा आइदिन्छन् अनि मन लाग्यो, बिना अनुमति मेरो जिन्दगीबाट गैदिन्छन् । पीडा नै पीडाको भुमरीमा मलाई फसाएर ।
साँच्चै नै कस्तो प्रकारको जिन्दगी हो मेरो ? छैठीको दिनमा मेरो सिरानीमा कपी र कलम राखिदिन भुलेछन् कि के हो मेरो आफ्नाले कि भावीले खुसी लेख्दा झुक्किएर पीडा लेखियो या माया लेख्दा मसी लतपत्तिएर घृणा लेखियो । खै के भनम्, भाग्य फुटेको या भावीले लुटेको । दुनिँयाले देख्छन्, बाहिरी ओठको हासोँ । भित्रभित्र पीडाको भुमरीको गलपाँसोमा घाटी बेरिएको बुझ्दैनन् । चिन्न सकिएन, को हो आफ्नो को पराई ? सबै आफ्नोपनको मुकुट लगाएर पीडा दिनलाई तम्तयार भएर बसिराखेको हुन्छन् । जसलाई हात दियो, उनीहरूले नै पाइला पाइलामा घात दिन्छन्, साथको त के आशा ।
कहिलेकाँही आफैसँग प्रश्न गर्न मन लाग्छ, खुसी कस्तो हुन्छ ? ओठ मुस्कुराउनु मात्र खुसी हो र ? यदि त्यस्तो हो भने म पनि पक्कै खुसी छु । किनकि, आँखामा आउने आँशु दबाएर ओठमा झुटो मुस्कान ल्याउन त मैले डिग्री जो गरेकी छु । यो स्वार्थी दुनिँयाको भीडबाट मैले यति कुरा बुझेकी छु, जहिले पनि टुट्नु एकान्तमै टुट्नु, किनकि यो दुनियाँ तमाशा देख्नमा माहिर छ ।
म आफ्नै जिन्दगीलाई भन्ने गर्छु, सपनाको बैंकबाट खुसी किन्न महँगो ब्याजमा ‘रहर’ ऋण लिएको छु, तिर्न सकिन भने थोरै भए पनि मुअब्जा दे है । जिन्दगीले म आफैलाई प्रश्न गरिदिन्छ, तेरो भागमा पनि खुसी छ र ? मैले यसको प्रतिउत्तरमा भनिदिन्छु, ‘हौसला नहार खसेर ए जिन्दगी, यदि दर्द यहाँ भेटिन्छ भने औषधी पनि यहिँ भेटिन्छ ।’
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



