
‘परेवाको फुलजत्रो ३२ वटा गाँस नबोलीकन कपाकप खानू, अघाए पनि नअघाए पनि उठ्नू’
आध्यात्मिक आलोक
राजन सिम्खडा
परम्परागत धार्मिक परिवारमा जन्मिएको ममा सानैदेखि धार्मिक–आध्यात्मिक प्रभाव प¥यो । मेरी आमा सधैं दुर्गासप्तसती र विष्णुसहश्रनामा पाठ गर्नुहुन्थ्यो । पुछारघर, नयाँघर, माझघर, सिरानघर सबैतिर बेलाबेलामा धार्मिक अनुष्ठान हुन्थ्यो भने पाञ्चायन पूजा नित्य । ठूलो बुवा पनि बिहान–बिहान पाञ्चायन पूजा गर्नुहुन्थ्यो । सुरुमा गणेशको पूजा गर्नुहुन्थ्योः
‘ॐ श्री गणेशाय नमः
वक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभः ।
निर्विघ्नं कुरुमेदेव सर्वकार्य सुसर्वदा ।।’
गणेशपछि क्रमशः सूर्य, देवी, शिव र विष्णुको पूजा गर्नुहुन्थ्यो । ठूलो बुवाले पूजा गरेका बेला म नजिकै बसेर हेरिरहन्थें । उहाँको मुखारविन्दबाट त्यतिबेला उच्चारित श्लोक मलाई अझै कण्ठै छ:
‘या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।।’
पूजापछि तुलसीको मठनेर गई पूर्वपट्टि फर्किएर सूर्यलाई अर्घ दिनुहुन्थ्यो । त्यसपछि हामीलाई श्रीखण्डको सेतो–रातो चन्दन लगाइदिँदै कुनै फलफूल वा सक्खर प्रसादका रूपमा खान दिनुहुन्थ्यो ।
हाम्रा बुवाहरू खाना खाँदा धोतीपाटा फेर्नुहुन्थ्यो । काठको पिर्कामा बसेर ‘कायनवाचा’ मन्त्र उच्चारण गर्दै थाल वरिपरि औसानी (जलको रेखी) हालेर केही सिता चढाउनुहुन्थ्यो र पानी अचाएर गाँस हाल्नुहुन्थ्यो । मलाई पनि कहिले व्रतबन्ध होला र चुलोनेर बसेर उहाँहरूले झैं धोतीपाटा फेरेर खान पाइएला भन्ने लाग्थ्यो । व्रतबन्ध भएपछि मैले पनि पाञ्चायन पूजा गर्न थालें । अरूलाई टीका लगाइदिन थालें । कायनवाचा गरेर मात्र भोजन गर्न थालें ।
बुवाले लाहुरबाट ल्याउनुभएको ‘ज्ञानमाला’ भन्ने किताबमा ‘परेवाको फुलजत्रो ३२ वटा गाँस नबोलीकन कपाकप खानू, अघाए पनि नअघाए पनि उठ्नू’ भनिएको थियो । मैले गाँस नगने पनि नबोलीकनै खान सिकें, जुन शीललाई व्रतबन्ध भएको आठ वर्षसम्म निरन्तर पालन गरें ।
माथि नै भनिसकें, आमा बिहान सधंै जप र पाठ गर्नुहुन्थ्यो । बुवा लाहुरे भएर आठ वर्षसम्म भारतमै रहँदा त्यो एक्लो जीवनमा आमाका लागि बाँच्ने सहारा भनेको ‘प्रभुभक्ति’ नै बन्न पुगेको रहेछ । आमाको भक्तिरसले मेरो बालचेतनालाई पनि सिँचन गरिरह्यो । अहिले त हाम्रो परिवारका महिला पनि शिक्षादीक्षामा धेरै अगाडि बढेका छन् तर त्यतिबेला हाम्रा आमा, हजुरआमाहरूमध्ये मेरी आमा र पुछारघर हजुरआमा मात्र साक्षर हुनुहुन्थ्यो ।

पुछारघर हजुरआमा मेरी आमाको सहोदर सानीआमा, जो हाम्रा रामनाथ जिजुबुबाका कान्छा भाइ सूर्यप्रसादकी कान्छीबुहारी हुनुहुन्थ्यो । तारुका आमचौर बाँकेघर अधिकारीकी चेली पुछारघर हजुरआमाका नौ दिदीबहीनीमध्ये मेरी मावली हजुरआमा र उहाँकी एउटी दिदीलाई नुवाकोट, विदुरको पिपलटारमा र बाँकी सात जनालाई सिम्खडा परिवारमै दिइएको रहेछ । सिम्खडालाई दिइएकामध्ये सबै आँखुपारि, एक जना मात्र दार्खामा । सोही कारण पुछारघर हजुरआमाले आफ्नी भदैलाई मेरो ठूलो बुवासँग र आफ्नी साहिंली दिदीकी छोरी अर्थात मेरी आमालाई मेरा बुवासँग विवाह गराउन विशेष भूमिका निर्वाह गर्नुभएको रहेछ । मेरी आमा र ठूलीआमा (फुपू र मामाकी छोरी) तथा पुछारघर हजुरआमाको त्यही नाताले गर्दा पनि म नयाँ घरमा ठूलो बुवा–ठूली आमाकहाँ र पुछारघरमा बरोबर गइरहन्थें । त्यसमाथि पुछारघरका गीता दिदी, कविता दिदी, धिरज र जनकहरू मेरा दर्कौंले भएकाले पनि म पुछारघर छिनछिनमै पुगिरहन्थें ।
पुछारघरका हजुरबुवा (दुर्गप्रसाद सिम्खडा) पाञ्चायन पूजाका साथै नित्य रुद्री र चण्डीपाठ गर्नुहुन्थ्यो । उहाँले बजाउनुभएको शङ्खको ध्वनि करिब डेढ किलोमिटर माथि गोदाम गाउँसम्म सुनिन्थ्यो । हाम्रो हजुरआमा र पुछारघरको हजुरआमाबीच धार्मिक अनुष्ठानको होड नै चल्थ्यो । प्रभुभक्तिको प्रतिस्पर्धा कस्तो भने हाम्री हजुरआमाले घरमा नारायण पूजा लगाए पुछारघरको हजुरआमा छट्पटाउन थालिहाल्नुहुन्थ्यो । केही दिनपछि उहाँ पनि नारायण पूजा लगाउनुहुन्थ्यो । त्यसैले त ती दिन दार्खा गाउँमा सत्यनारायण पूजा, भागवत पुराण, एकाहा, सप्ताह, लाखबत्ती, रुद्री आदि भइरहन्थे । त्यो रमझममा म साह्रै रमाउँथे ।
पछि थाहा पाएँ, हाम्रो मुलुक आध्यात्मिक तपोभूमिका रूपमा विश्वमै प्रख्यात रहेछ । महादेव र पार्वतीले यही हिमाली माटोमा ध्यान, योग र प्रेमको फूल फुलाएको प्रसङ्ग श्रीस्वस्थानी कथामा उल्लेख छ । त्यसमा वर्णित श्लेषमान्तक वन, शालीनदी, गोकर्ण, पशुपतिनाथ क्षेत्र सबै यहीं छन् । हाम्रै भूमि लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्धले ध्यान र योगमार्फत ज्ञानको ज्योति फैलाएका थिए । नेपालकै जनकपुरमा विदेह जनक र अष्टावक्र ऋषिको सार्थक संवाद भयो र उपनिषद्को सिर्जना भयो भनिन्छ । अष्टावक्र गीताको सूत्रपात यहीं भयो । यही भूमिमा आएर खप्तड बाबादेखि शिवपुरी बाबासम्मले सम्बोधी प्राप्त गरे । नेपालकै सौराहामा ओशो रजनीशका भाइ ओशो सिद्धार्थ र मा प्रियाले सम्बोधी प्राप्त गरे । बाबा रामदेवका सहयात्री स्याङ्जा नेपालकै बालकृष्णले विश्वभर योग–आयुर्वेद महिमामण्डित गराइरहेका छन् । यही भूमि हो, जहाँ भगवान कृष्णका सन्तती गोपालवंशको शासन चलेको इतिहास छ । यही भूमि हो, जहाँ परमात्माको भजन, कीर्तन हुने भक्तियोगको संस्कार घर–घरमा मौलायो । खैंजडी र मुजुरा लिएर अहोरात्र भगवानको भजन गाउने, भागवत कथा श्रवण गर्ने र आत्मशुद्धिको मार्गमा लाग्ने हाम्रो संस्कार बन्न पुग्यो । र त, नेपालीमा आध्यात्मिक चेतना प्रचुर छ ।
सानैदेखि ममा जुन आध्यात्मिक प्रभाव प¥यो, त्यसले सत्मार्गमा लाग्न र सत्कर्म गर्न सदा प्रेरित गरिरह्यो । कृष्ण काका र ठूलो बुवाको कान्छा छोरा केशव दाइले धादिङ सल्यानकोटमा त्रिपुरासुन्दरी माईको मन्दिर पुनर्निर्माण गर्दा मैले पनि योगदान गर्ने मौका पाएँ । त्यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका–१, एराहिटीमा म बस्ने घरनजिकै हजुरबुवा घनश्यामको स्मृतिमा कृष्ण काका, ठूलो बुवा र हामी मिलेर राधाकृष्ण मन्दिर निर्माण गरेका छौं । देवीघाटको वृद्धाश्रम होस् वा त्रिवेणीधाम निर्माण, विभिन्न विद्यालय भवन वा कक्षाकोठा निर्माण र विद्यालयहरूमा पुस्तकालय स्थापनाजस्ता सत्कार्यमा सहयोग गर्न आध्यात्मिक चेतनाको त्यो आलोकले मलाई दिशानिर्देश र उत्प्रेरित गरिरहेको छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
धन्री हो।