निदाउनुअघिको अन्तिम सोच अनि उठेपछिको पहिलो खोज हौ तिमी

मनका कुरा

सुप्रिया खनाल

कस्तो प्रेम भयो तिमीसँग ? पहिला अन्जान । थोरै चिनजान अनि बिस्तारैबिस्तारै तिमी मेरो जान बनेका छौ ।

कहिलेकाँही यो सोच्छु, तिमी मेरो भइदिए म कति खुसी हुन्थेँ होला ? थाहा छ, बाटो गलत छ अनि हेराइ गलत तर तिमीलाई माया गर्ने यो मन कहिले गलत थिएन, न हुने नै छ ।

तिमीले थोरै समयमा मलाई यति धेरै माया दियौ नि, तिम्रो मायाको अगाडि मलाई हरेक कुरा फिक्का लाग्न थाले । नचाहँदानचाहँदै खै कसरी नजिकिन पुगेँ तिमीसँग । खै, कस्तो सम्बन्ध जोडियो तिमीसँग जिन्दगीभर । सँगै हुने कुरा सम्झँदा पनि डर लाग्छ अनि तिमी बिनाको जिन्दगी सोच्दा पनि । बुझ्नै सक्दिनँ, मैले बताउन ढिला गरें या तिमीले बुझ्न हतार गर्यौ । यस्तै यस्तै भयो अब मनमा भएर पनि एक अर्काको जीवनमा कहिल्यै हुन सक्ने भएनौँ हामी ।

दिल-दिमागमा तिमी, मन-मुटुमा तिमी, त्यही एउटा भाग्यमा रहेनछौ तिमी । पाउनु मात्र माया भए खोसेर पनि आफ्नो बनाउँथे । गुमाउनु पनि माया रैछ र चुप बसेँ ।

भन्छन् नि, साँचो मनले माग्यो भने हरेक कुरा पुरा हुन्छन् । यदि साँच्चै मागेको कुरा सबै पूरा हुने भए म सातै जुनी तिमीलाई माग्थेँ । तिमी मेरो ओठको खुसीको त्यो रङ्ग हौ जो यो संसारमा कतै भेटिने छैन । कसैले मलाई लाखकै खुसी किन नदिओस् तर मलाई तिम्रो काखमा जति खुसी अन्त कहीं मिल्ने छैन । तर खै जिन्दगीले कस्तो मोडमा ल्याएर राखिदियो मलाई जसलाई म मनदेखि चाहन्छु, जसको लागि मेरो मनमा अथाह प्रेम छ म उसको कदापि हुन सक्दिनँ ।

Ad

मनमा एउटालाई सजाएर सिउँदोमा अरुलाई सजाउनु सायद यो भन्दा त मृत्यु सजिलो हुन्छ होला तर पनि म आफ्नो खुसी मारेर यो जिन्दगी कटाउन सक्छु तर कहिल्यै तिम्रो खुसी खोसेर आफ्नो दुनिया रङ्गाउन चाहन्न । म तिमीलाई हिजो, आज अनि भोलि उति नै प्रेम गर्नेछु । बिन्ती नगर्न नभनिदेऊन है । तिमी आफै भन, कसरी छोडोँ तिमीलाई माया गर्न ? भाग्यमा नभए पनि मुटुमा त छौ नि । हातको रेखा र भाग्यमा तिमी छैनौ थाहा छ तर यो मन भने २४ घन्टा नै तिमीलाई खोजिरहन्छ । थाहा छ, ब्याकरण मिलेको छैन तर मेरो मनले भन्छ, खुसी को पर्यावाची तिमी नै हो ।

निदाउनुभन्दा पहिलेको मेरो अन्तिम सोच हौ तिमी अनि उठेपछिको मेरो पहिलो खोज हौ तिमी । तिमीबिना म जिउन त जिउँला तर त्यो जिउनु मर्नुभन्दा मुस्किल हुनेछ । थाहा छैन तिमीसँग बिछोडिएको पलमै सास छोड्छु या छोड्दिन तर त्यही पलबाट जिउनचाहिँ पक्का छोड्छु । मलाई कुनै गुनासो हुने छैन, तिमी मेरो नभए पनि । बस् चिन्ता यहि छ कि तिम्रो हातमा कुनै गलत हात नपरोस् ।

मलाई कसैप्रति मरिहत्ते गर्ने फुर्सद थिएन तर तिमीसँग के लगाव भयो त्यहि कुरा बुझ्न सकिन । मायाको साइनो यहि रहेछ । तिमी मसँग भौतिक रुपमा साथमा नहोलाऊ तर मेरो जीवनको हरेक पल तिमी मेरो साथमा छौ, चाहे एकान्त होस् या हजारौको भिड, तिम्रो याद हरदम मेरो मनमा रहन्छ, मेरो हरेक पल तिम्रो यादको सहारामा चल्छ । चाहे म तिम्रो साथ रहुँ-नरहुँ आफैमा महसुस गर्न पाउने छौ । सधैं वरिपरि पाउने छौ तिम्रो छायाको रुपमा अनि एक हुन नसकेको अधुरो मायाको रुपमा ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button