
कलेज कोलाजः साथीका नाममा विविध परिकार खाएको सत्य हो
अन्त्याँड
घनेन्द्र ओझा
२० वर्षअघि आरआर क्याम्पसमा बीए पढ्दा १८-२० वर्षका ठिटा थियौँ । जीवनको लक्ष्य र बाटो सायदै थाहा थियो हामीलाई । आरआर, ल क्याम्पस र वाल्मीकिको क्यान्टिन हाम्रै कब्जामा हुन्थे प्राय । जीवनका योजना बुन्ने सोचमा थिएनौँ, मोजमस्ती, पढाइ आदिमा ध्यान हुन्थ्यो ।
जीवनको उपक्रम बदलिँदै गयो, गति फरक बनाउनुपर्ने बाध्यता सबैमा आइलाग्यो, जुन स्वाभाविक थियो ।
सबैले आआफ्नै जीवन बचाइको नाटक (नाटक मात्र लाग्छ बचाइ) मञ्चन सुरु गर्यौँ, आजसम्म निरन्तर छ ।
यही क्रममा मित्रहरू आआफ्ना क्षेत्रमा स्थापित हुनुभयो ।
निदेश अधिकारी सपनाको देशतिर लाग्नुभयो र आज अमेरिकामा स्थापित व्यवसायी हुनुहुन्छ ।
भगवान अधिकारी पत्रकारितामा स्थापित हुनै लाग्दा नेपाली काङ्ग्रेसको राजनीतिमा होमिनुभयो र आज राजनीतिमै स्थापित हुनुहुन्छ ।
उज्वल खनाल पत्रकारिता प्राध्यापन र कानुन व्यवसायीका रूपमा स्थापित हुनुहुन्छ ।
जनकराज थपलिया मूलधारको पत्रकारिता र प्राध्यापनमा जम्नुभएको दशक नाघिसकेको छ ।
विष्णु भट्टराई बडो रमाइलो साथी । साथीहरू सबै रमाइला तर विष्णुको भिन्न कला भनेको अनेक रमाइला जोक भनेर माहोल उत्साही बनाउने । उहाँ पनि पत्रकारिता र प्राध्यापनमा मज्जाले जम्नुभएको छ ।
धर्मराज भुषाल प्रति हामी सहपाठीहरू विशेष गर्व गर्छौं, नेपालमा अनलाइन न्युज पोर्टललाई स्थापित मात्र गराउनुभएन उहाँले, अबको मिडिया डिजिटल मिडिया नै हो र अनलाइनको भविष्य सुनिश्चित छ भनेर पुष्टि गरिदिनुभयो, अनालाइनखबरमार्फत ।
म बबुरो, जो कतै स्थापित हुन नसकेर, धेरै ठाउँमा बिस्थापित मात्र भइरहेको प्राणी यी प्रिय साथीका माझमा बस्दा मेरो छाती कति चौडा भयो होला, अनुमान गर्ने जिम्मा तपाईंकै ।
र, अन्य धेरै सहपाठी साथीहरू आजको मित्रमिलनमा छुट्नुभए पनि लगभग सबै साथीका नाममा हामीले विविध परिकारहरू उहाँहरूलाई सम्झिँदै खाएको सत्य हो ।
अन्त्यमा, मलाई मुखको छुचो, मनको मीठो भन्दारान् बजाराँ । के कस्तो छु, थाहा छैन, साथीभाइलाई छुचो मुख पनि गरेँ कि ? चित्तमा घाउ लागेको भए त्यो मेरा कारण लागेको घाउ मलाई नै फिर्ता पाऊँ ।
साह्रै रमाइलो भयो । मिलनको आयोजना गर्ने मित्र निदेशलाई हार्दिक धन्यवाद ।
(ओझाको फेसबुकबाट)



