‘आँट, अरविन्द ! तिमीलाई मेरो आशीर्वाद छ’

अरविन्द रिमाल

अभयं मित्रदभयममित्रदभयं ज्ञातदभयं पुराै न:।
अभयं नक्तमभयं दिवा न: सर्वा आशा मम मित्र भवन्तु ।।

(अथर्ववेद,१९ ।।१५।०६।।)

अर्थात्, हामी मित्रहरुबाट अभय रहाैँ, शत्रुहरुबाट पनि अभय रहाैँ, ज्ञात र अज्ञात दुबैबाट हामीलाई अभय प्राप्त हाेस् । रात्रि र दिन अभयप्रद हाेऊन् । समस्त दिशाहरु मेरा मित्र हाेऊन् ।

‘१९९७ देखि २०१७ साल– एक अवलाेकन’ ग्रन्थकाे २०६२ सालकाे ‘विषय प्रवेश’मा आज २०७८ पुष फर्किँदकाे रूप ! र त्यसैकारण याे कथा प्रारम्भ कसरी बताउने भन्नेबारेमा उ अलमलमा छ ।

*प्रसङ्गकाे दृष्टिबाट सबभन्दा पछि उल्लेख भए पनि महत्त्वकाे दृष्टिबाट कम नभएकाे उसलाई लागिरहेछ ।

*याे त पुच्छर छिर्‍याे, हात्ती बाहिरै अड्केकाे जस्ताे पनि लागेकाे छ, उसलाई ।
*याे त कतै घुमिफिरी उहीँ रूम्जाटार भयाे कि ? भन्ने पनि । जे हाेस्,

विषय प्रवेश:

धर्मशास्त्र र दर्शन दुबैले कारण विना कार्य हुँदैन भन्छन् । निमित्त, उपादान र समवायी गरी कारणहरू तीन प्रकारको बताइएको छ । आरम्भमै हुन असम्भव बनिरहेको यस कार्यको प्रारम्भको उत्प्रेरक वा उपादान कारणमा उसले आफ्ना सद्गुरुदेव स्वामी सत्यदेव महाराजलाई प्राप्त गरेकाे थियाे । वास्तवमा, उसकाे वर्तमान जीवनक्रमको प्रत्येक विचार एवं कार्यमा उनी उसका मार्गदर्शकका रूपमा उभित्रै र उसँग अभिन्नरूपमा छन् । यसका समवायी कारणमा, उसका श्रद्धेय अग्रजद्वय मूर्धन्य राजनीतिक व्यक्तित्व रामहरिदाइ (शर्मा) तथा अग्रणी पत्रकार मणिदाइ (मणिराज उपाध्याय) थिए। यसका साथै, त्यो कारणमा प्रखर अर्थविद्, राजनीतिक, विश्लेषक एवं ख्यातिप्राप्त विदूषी, बहिनी समान, डा. मीना आचार्य तथा उसकाे पुराना राजनीतिक सहयोगी एवं सहृदयी मित्र गोविन्द नापित पनि हुन् । उ आफू त निमित्त कारण मात्र हाे ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका जनक एवं ज्यूँदा शहीद टंकप्रसाद आचार्यका जीवनी- लेखक अमेरिकी विद्वान जेम्स फिशरको अंग्रेजी ग्रन्थ Living Martyrs : Individuals and Revolution in Nepal लाई नेपाली भाषामा अनुवाद गर्न जसरी मीना आचार्यले उसलाई घच्घच्याएको घच्घच्यायै गरिन् र अन्ततः सोको अनुवाद गराइछाडिन्, त्यसरी नै प्रस्तुत रचनाको लागि पनि उनले उसलाई झण्डै तीन वर्षदेखि घच्घच्याउन छाडेकी थिइनन् । उता, उसका मित्र गोविन्द नापित पनि आफ्नो शान्तभावले उसलाई आफ्ना स्मृति लेख्न जोड दिइरहेकै हुन्थे । तर अनुकूल समय आएको थिएन । २०६० साल चैत १ गते आइतवारको दिन उ टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानको कार्यालयमा जाँदा मीनाले उसलाई २००७ सालदेखि २०१७ सालसम्मका आफ्ना निजी अनुभवहरू लिपिबद्ध गर्न फेरि जोड दिइन् । त्यसमा रामहरि दाइबाट पनि हार्दिक समर्थन भयाे। । त्यसदिन पनि उसले ‘यसलाई समयको जिम्मामा छाडी दिउँ’ भन्याे । भन्न त भन्याे, तर उसलाई प्रेरणा त्यहीं नै कुनै आन्तरिक शक्तिवाट प्राप्त भएको जस्तो लाग्यो । यो कुरा उसले त्यतिबेला कसैलाई बताएन ।

Ad

भोलिपल्ट, यता ८ वर्षदेखि नित्य नियमितरूपमा रहेको उसकाे मौनदिवस सोमबारको दिन उसले यो रचनाबारे आफ्नो द्विविधालाई हटाएर कलम उठाउने प्रेरणा पायाे, भनूँ उसले गुल्मी जिल्लाकाे काउले गाउँमा बाैद्धिक ब्राह्मण कुलमा जन्मिई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त आफ्नाे सद्गुरुदेवबाट आशिर्वाद पायाे! उसले ग्रन्थकाे शीर्षकबारे पनि तत्काल नै साेचेर ‘१९९७ सालदेखि २०१७ साल– एक अवलाेकन’ राख्ने निधाे गर्‍याे । अनि मनमनै जय श्रीगुरुदेव भनेर उनको अभिवादन गर्दै यस कृतिको श्रीगणेश गर्न के लागेको थियाे एकाएक फेरि कुनै द्विविधाको कारण उसकाे कलम रोकिन पुग्यो के होला ? किन होला ? यस्तो भएको भन्ने कुरा मनमा २०६१ सालको वैशाखका तेस्रो सातासम्म नै खेलिरह्यो । सोही साल वैशाख २५ गते साँझपख त श्री सद्गुरुदवको पार्थिव शरी बदरीनाथधाममा शान्त भएको घनघाेर दुखद समाचार पायाे, उसले । भर्खरै फागुनमा दुईदुई पटक उसकाे घरलाई मन्दिर भक्तहरुलाई अमृतवाणी वर्षाउन अनन्य कृपा गरेका बालसन्त, अवधूत स्वामी ५१ वर्ष लाग्दालाग्दैकाे शरीर छाडेर ब्रम्हलीन भएबाट हामी सबै शिष्यहरूमाथि बज्रपात नै पर्‍याे। अनि उसले तत्काल उनकै वाणीलाई सम्झ्याे: ‘गुरुमाथि व्यक्तिगत आसक्ति दिइएको हो कि गुरुवचनकाे सत्यतालाई अङ्गालेकाे हाे, याे बुझ ! स्थानान्तरणतिर हाेइन, रूपान्तरणतिर जाउ । म कहीं गएको छु र ? जान्छु र ? म त सधैँ तिमीहरूसित नै छु नि । सत्यको मनमा केही पाउनुपर्ने वा केही चाहने संस्कार छैन । तिमीहरूमध्येबाट एक वा दुईजनाले मेरो उपदेशको सारलाई सम्झेर बुझेर त्यसैअनुसार शान्ति एवं प्रसन्नताका साथ जीवनयापन गर्नसके, त्यही ठूलो उपलब्धि हुनेछ ।’

यिनै अमृतवाणीबाट आफूलाई पुनःसंचारित गरिरहेकै दिन उसलाई उसकाे द्विविधा अन्तिमरूपमा चिरिदिँदै श्रीगुरुदेवले ‘यो काम तिमी आँट, अरविन्द ! तिमीलाई मेरो आशीर्वाद छ’ भनेको अनुभव भयो । अब यसरी नै यो रचना अघि बढ्दै छ ।

तर शुरु कसरी र कहाँबाट गर्ने ? याे अब अर्काे भेटमा भन्दै आजलाई सबैमा जय नेपालकाे अभिवादन !

(क्रमश:)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button