
हाम्रा यौवनहरु चञ्चल छन् बिजुली झैं
ठूलो मान्छे
मान्छेको चोला दुर्लभ मानिएको छ । यस्तो दुर्लभ चोला भौतिक रुपमा पानीको फोकाजस्तै अस्थिर छ, खहरेको वेगजस्तै अनित्य छ र बादलको छायाँजस्तै क्षणिक छ । अनित्य र क्षयशील देहद्वारा अक्षय कीर्ति आर्जन गर्नु मनुष्यजीवनको ध्येय हो । अस्थिर देहद्वारा चिरस्थायी सृजनाहरु गर्नु जीवनको सौन्दर्य हो ।
हाम्रा वैभवहरु अस्थिर छन् । हाम्रा यौवनहरु चञ्चल छन् बिजुली झैं । हाम्रा देहहरु अनित्य छन् । हाम्रो शारीरिक सौन्दर्य चिरस्थायी छैन । पछिसम्म रहन्नन् यी । कृतिमै पछिसम्म बाँच्न सक्दछ मान्छे । संसार हो सरिरहन्छ, जीवन हो बगिरहन्छ । शरीर छुट्छन्, धन छुट्छन्, जन छुट्छन् तर सृजनाहरु सर्दै जान्छन् पुस्ता–पुस्ता हुँदै पछिसम्म । कृति र सृजनामै चिरञ्जीवी हुन्छ मान्छे । मान्छे जसको कीर्ति छ उही ठूलो हुन्छ । मान्छे जो असल छ उही ठूलो हुन्छ । जो विनम्र हुन्छ उही सम्मानित हुन्छ । जो होंचिन खोज्छ उही उच्च हुन्छ । जसले अरुलाई होच्याउन खोज्छ त्यो आफै होचिन्छ । जो भोगमा आसक्त छ त्यो शरीरसितै मर्छ । जो त्यागी छ त्यो जीवनान्तर बाँच्छ ।

मान्छे तनले ठूलो हुँदैन । मान्छे धनले ठूलो हुँदैन । मान्छे उदार मनले, उदात्त विचारले र सत्कर्मले महान् हुन्छ । आज सुकरात, प्लेटो र अरस्तू छैनन् हामीसँग । उनीहरुका हाडखोर पनि पचिसके आजसम्म । आज बुद्ध ईशा, भोल्टेयर, रुसो, टाल्सटाय, लिब्कन, माक्र्स, गान्धी कोही छैनन् हामीसँग । उनीहरुका विचार छन् हामीसँग, संघर्ष र त्यागका गाथा छन् उनीहरुका हामीसँग । जसले आज पनि हामीलाई बाटो देखाउँछन्, प्रेरणा दिन्छन् । आजसम्म झक्झकाइरहन्छन् ती विचारहरुले हामीलाई । आज हामीसँग वाल्मीकि, व्यास, कालिदास, होमर, गेटे, ह्युगो, गोर्की, प्रेमचन्द र देवकोटा छैनन् तर उनीहरुका वाणी सुरक्षित छन् हामीसँग । नित्यनूतन, सुन्दर, कालजयी र ओजस्वी वाणीहरु । वाणीहरु अक्षरबाट बन्छन् र अक्षय हुन्छन् । अक्षर र वाणीसितै अजरामर हुन्छन् वाणीसाधकहरु ।
मान्छेको देह क्षर हुन्छ अर्थात् नाशवान् । मान्छेका सत्कर्महरु अक्षर हुन्छन् अर्थात् अविनाशी । जो अक्षर बन्छ त्यही ठूलो मान्छे हुन्छ । लामो समय बाँचेर चौरासी पूजा गर्दैमा कोही ठूलो मान्छे हुँदैन । नमरेसम्म उमेर त स्वतः बढ्दै जान्छ । अल्पायुमै दिवंगत हुने शंकराचार्य, विवेकानन्द, शेली, कीट्स, मोतीराम भट्ट, अच्छा राई रासिकहरु आफ्ना सृजनाहरुमा अजरामर छन् । उनीहरु चिरायु छन् कृतिमा, विचारमा । शाहजहाँ माटामा मिले तर उनको ताजमहल खडा छ अमरप्रेमको कालजयी गाथा बोकेर । महात्मा गान्धी मारिए प्रार्थना गर्दागर्दै । महात्माको शरीर ढल्यो तर कीर्ति ढलेन, सत्यप्रतिको उनको अटल निष्ठा ढलेन, उनको आस्था ढलेन । झन् उच्चतर भयो । आस्था ढल्दैन गोलीले, निष्ठा ढल्दैन बम–बारुदले, विचार सुक्दैन हत्याहिंसाले । पुजिए महात्मा तर गोडसे पुजिएन । गोली हान्नेहरु होइन, निष्ठाका लागि छातीमा गोली थाप्नेहरु पूज्य हुन्छन् । कहाँ गए जुद्धशमशेर ? शुक्रराज शास्त्री हाम्रो छातीमा छन् । नरशमशेर राणा कहाँ छन् गोली हान्ने ? गोली थाप्ने गंगालाल नेपाली जनका मनमनमा छन् । दुःखसित डराउँछन् मान्छेहरु । दुःखले मान्छेलाई महान् बनाउँछ । दुःखका निरन्तर प्रहारले मान्छेलाई इस्पात बनाउँछ । दुःखैका बन्छन् रोचक कथाहरु । दुःख नपाई को महापुरुष बनेको छ ? सुखी मान्छेका कथा लेखिन्नन्, लेखिए पढिन्नन् ।
कसले पढ्छ सुखी मान्छेका उकाली-ओराली नभएका सपाट जीवनका कथाहरु । राम वनवास जान नपरेको भए सीता हरिन्नथिन् र रामरावणको युद्ध पनि हुन्नथ्यो, सम्भवतः रामायण पनि लेखिन्नथ्यो । भोगले, लोभले, क्रोधले, कामले, रागद्वेषले मान्छे ठूलो हुँदैन । त्यागले, परोपकारले, संयमले, धैर्यले मान्छे ठूलो हुन्छ । कमल हिलामा फुल्छ । महापुरुष पनि दुःख, संकट र विपत्तिहरुबीच प्रकट हुन्छ । त्यागीका गाइन्छन् गाथा । जीसस क्राइष्ट क्रसमा टाँगिएर विश्वका ज्योति बने । विषपान गरेर सुकरात विश्ववन्द्य बनें । श्रीकृष्ण बन्दीगृहमा जन्मेर भगवान् बने । राज्याभिषेक हुने बेलामा वनवासको दण्ड भोगेर राम पु रु षोत्तम बनें, आदर्शपुरुष बनें । राजगद्दी त्यागेर भिक्षु बनेका सिद्धार्थ बुद्ध बने ।
संसारमा ‘म खाऊँ मै लाऊँ’ भन्ने कति भोगीहरु पचेर गए, कति धनवान्हरु आफ्नो वैभव छोडेर बिलाए । न तिनका भोगाशा शान्त भए न तिनका भोगका कथा बने, न तिनीहरु पूज्य बनें । त्यागीहरु भने नक्षत्र झै चंकिए इतिहासमा । तिनीहरु ठूला मान्छे भए । संसारले कति सुनको पलंग मा सुत्ने महाराजा, नेता, सेंठ र धनवान्हरुलाई भुलिसक्यो । तिनको नामोनिशान छैन इतिहासमा तर कंगाल रुसो, देवकोटा र प्रेमचन्दहरु आफ्ना कृतिमा अजरामर छन् । मान्छे जसले सुख पायो त्यो ठूलो होइन, परोपकारको लागि जो अघि सर्छ त्यही ठूलो हो । आफू सिंगारिने ठूलो होइन, अरुलाई सिंगार्ने ठूलो हो ।
उदरपूर्ति चरामूसाले पनि गर्छन् । आफ्नो सुख चाहने मान्छेको प्रवृत्तिमा सबै चल्छन् । आफूले दुःख पाएर पनि जो अर्काको सुखको निमित्त काम गर्छन्, तिनै ठूला मान्छे हुन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)