जनहितमा जारी ‘भाइरस जिन्दगी’

अस्मिता आचार्य

एउटा कविको तर्फबाट अबै अकवि/नकविका जनहितमा जारी ।

जिन्दगी नामक खतरनाक भाइरसको संक्रमण भएमा यो घरेलु नुस्खा तुरन्तै अपनाउनु होला । जिन्दगीको लक्षण देखिरहेसम्म बेला-बेलामा यो दर्शनको घोल बनाईराख्ने र नियमित सेवन गर्ने गर्नुहोला, है त ?

जिन्दगी रोगको सामान्य अवस्थामा

१. मन-मुटु दुखेमा आँसुको मलम लाईर’ने ।
२. आँखा रसाएमा भित्र जम्या सब आँसु पोख्ने प्रयास गर्ने ।
३. आँसु नै झर्यो भने चाहिँ रुमालले यसो आँसु पुछ्ने र तुरुन्तै रुमाल फाल्दिने ।
४. हाई सन्चो !

जिन्दगी रोगका जटिल लक्षणहरु देखा परेमा

१. मन-मुटु दुखेमा आँसुको मलम लाईर’ने ।
२. आँखा रसाएमा भित्र जम्या सब आँसु पोख्ने प्रयास गर्ने ।
३. आँसु झर्दै नझरेमा मुटु दुख्या हैन कि भनी पुन: जाँच-पड्ताल गर्ने ।
४. मुटु नदुख्या रै’छ भने त टन्टै साफ ।
५. आँसु नझरे नि मुटु दुखिरा’छ चैं भने ‘कठै! च्व च्व बिचरा’ श्लोक नियमित पाठ गर्ने ।
६. ‘च्व च्व’ भन्दा नि अझै मन-मुटु दुखिरा’ख्यो भने मात्रै अन्तिम वाण प्रयोग गर्ने ।

◆ अन्तिम उपाय चैं के हो भन्देखिन् है, जति सक्नु हुन्छ, त्यतिकै मात्रामा वान्ता गरेको गर्यै गर्ने ।

वान्ता गर्ने तरीका

१. कापीका पाना-पाना भरिने गरी वान्ता गर्दिनु पर्ने ।
२. अश्लील कुरो, गालिगलौज, जे सुकै निस्केमा पनि भित्र अड्क्या सबै निकाल्ने, निस्केपछि जिन्दगी रोग निको भईहाल्छ ।
३. गालिगलौज, अश्लील कुरो, जे सुकै निस्किए पनि भित्र अड्क्या सबै ननिक्लिन्जेलसम्म वान्ता गरिरहने ।
४. अनि सबै निस्केपछि त तपाइँको जिन्दगी रोग निको भईहाल्छ ।
५. हाई सन्चो !!

वान्ता नभएमा विशेष सावधानी

१. अनि गालि समेत नै निस्केन भने मात्रै हो पीर लिनु पर्ने ।
२. गालि नि निस्केन भने चाहिँ गालिको सट्टा कविता निस्किन्छ ।
३. वान्ता गर्दा कविता निस्कियो भने बुझ्नुहोस् — तपाई जन्मजात नै जिन्दगीले ग्रसित हुनुहुँदो रै’छ ।
४. अन्तिम उपाय समेत काम नलागेमा भगवान भरोसा भन्नुहोस् ।
५. अनि पर्खिबस्नुहोस् जिन्दगी नै तपाइँ-ग्रसित भएर उथु-उथु होस् ।
६. र, जिन्दगी आफैंले नै बरु छिट्टै तपाइँलाई छोडेर जाओस् भनेर ।

अनि त्यसपछि त तपाइँ सधैंको लागि निको । तपाइँ मात्र काँ हो र, त्यसपछि त जिन्दगी भन्ने रोग ऊ आफैं पनि निको हुन्छ रे नि त ।

ल! ल! अब धेरै करकर नगर्नुहोस् । यहाँ मेरो नि वान्ता गर्ने बेला भो अब । ल! है त ?

धन्यवाद।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button