महेन्द्रको कुरामा जंगबहादुर, कार्ल मार्क्स र अरु कतिपय

जङ्गले मार्क्सलाई नदेखेकाे हुनसक्छ । तर मार्क्सले त देखेर लेखेका पनि रहेछन्- 'नाेट्स अन इण्डियन हिस्ट्री' नामक आफ्नाे रचनामा 'अङ्ग्रेजहरुकाे काखे कुकुर' भनेर निन्दा गर्दै ।

‘लण्डनकाे ब्रिटिश म्युजियमकाे विश्वविख्यात पुस्तकालयमा आफ्ना मखमली पाेशाक, हीरा-माेतीकाे मालाकाे झिलिमिली देखाउँदै किताबका डङ्गुरहरुतर्फ शून्य दृष्टि घुमाइरहेका जङ्गबहादुरले त्यहाँ कुनै कुनामा बसी संसार थर्काउने ग्रन्थहरुकाे पाण्डुलिपि तयार पार्नमा तल्लीन एक गरीब र बूढाे लेखक (कार्ल मार्क्स)लाई देखे वा देखेनन्, भन्न सकिन्न । जङ्गबहादुरले अङ्ग्रेजकाे बल र समृद्धि त देखे तर त्यसकाे मूल कारण शायद बुझ्न सकेनन् । नत्र साथमा बेलायती विलाश सामग्रीकाे डङ्गुर मात्र नल्याई केेही ग्रन्थ, केही कलपूर्जा र प्राविधिज्ञहरु पनि नेपाल ल्याउँथे ।’

आफ्नाे समयभन्दा अघिका चिन्तक- लेखक तथा आफ्ना पुराना राजनीतिक मित्र गाेविन्दप्रसाद लाेहनीले ‘रूपरेखा’ मासिक, वर्ष ४, अङ्क २, पूर्णाङ्क २६, आषाढ २०२० मा बहुतै सारगर्भित विचार पाेखेकाे एक उद्धरणबाट आज ऊ आफ्नाे आलेख शुरु नगरिरहन किन सकेन, ऊ आफैँ जान्दैन । ‘शारदा’ मासिककाे २०७८ कात्तिककाे ‘स्व. गाेविन्दप्रसाद लाेहनी विशेषाङ्क’ मा पुनर्प्रकाशित उक्त लेखकाे शीर्षक थियाे ‘विज्ञान र प्रविधि, मानवकाे इतिहास तथा भाेलिकाे संसार’। याे उतिबेला ऊ दिल्लीमा ‘साेभियत भूमि’ पत्रिकामा अनुवादक- लाहुरे भई कार्यरत् रहँदाकाे कुरा हाे । आज ५८ वर्षपछि संयाेगवश याे विचारमा र त्यसवरिपरिकाे घटनाक्रममा उसकाे आफ्नै थप अवधारणा प्रस्तुत गर्ने अद्भुत संयाेग जुर्‍याे, र याे पनि अनाैठै कुरा भयाे, राजा महेन्द्रकाे इतिहासविराेधी पुस १ गतेकाे कुकाण्डकाे थप प्रसङ्गमा !

ल्हासा जाने कुतिकाे बाटाे भन्ने जस्ताे लाग्ला, याे कुराे कसैलाई- कहाँ राजा महेन्द्रकाे कुराेलाई जङ्गबहादुरसँग जाेड्न पुगेकाे हाेला भनेर । जाेड छ, याे कुरामा, झन इतिहासकाे माम्लाेमा त जाेड हुन्छ, हुन्छ, र हुनैपर्छ पनि । किनभने इतिहास कालखण्डहरुकाे समग्र वर्णन हाे, हुनै पर्दछ । नत्र त्याे या प्रायाेजित हुन्छ,वा विकृत ।

जङ्गले मार्क्सलाई नदेखेकाे हुनसक्छ । तर मार्क्सले त देखेर लेखेका पनि रहेछन्- ‘नाेट्स अन इण्डियन हिस्ट्री’ नामक आफ्नाे रचनामा ‘अङ्ग्रेजहरुकाे काखे कुकुर’ भनेर निन्दा गर्दै । अनि गाेविन्दप्रसाद लाेहनीकाे आशङ्का विपरीत जङ्गले बृटिश म्युजियममा अङ्ग्रेज समृद्धि र बललाई त्यसकाे ‘मूल कारण’सहित बुझेकाे परिकल्पना वा प्रस्थापनै पनि ऊ यहाँ प्रस्तुत नगरिरहन सक्दैन । जङ्गबहादुरले इङ्गल्याण्डकाे सफरबाट सामाजिक जीवनका धेरै कुरा सिकी, त्यहाँकाे अनुशासित जीवनपद्धति देखी नेपालकाे जङ्गी कानून तथा ऐनमा सुधार ल्याई सन् १८५३, डिसेम्बर १९ तारिखदेखि मुलुकी ऐनकाे नाउँमा लागू हुनेगरी लिखितरूपमा ऐनकानून दिने तथा सैन्य क्षेत्रमा सुधार गरी हतियार बनाउने कलकारखाना शुरु गराउने पहिला शासक भएकाे कुरा प्रा. खगेन्द्रबहादुर केसी लेख्दछन् (‘२००७ सालकाे क्रान्ति र २०१७ सालकाे कू’ पाना १२०)

‘अङ्ग्रेजका काखे कुकुर’ बेलायत यात्रामा जाँदा ऐयासी चर्तिकला बमाेजिम लण्डनका ऐयासी क्षेत्र वा कर्तूतमा हाेइन कि बेलायतकी महाशक्तिशाली एवम् चतुर साम्राज्ञी भिक्टाेरियासित सन् १८५० काे जून १९ देखि २५ सम्ममा चारचार पटककाे भेटलाई पनि राजनीतिज्ञ काैशल नठानिरहन सकिन्न । जङ्गले बृटिश म्युजियम हेर्दा शाह शासकका अकर्मण्यताका कारणबाट पनि नेपालले अंङ्ग्रेज शासनद्वारा लादिएकाे युद्धमा सन् १८१५ काे डिसेम्बर ४ तारिखमा भारतीय गाँउले शहर सुगाैलीमा आत्मसमर्पणका कागजपत्रमा अपमानजनक तरिेेकाले उठीउठी सहीछाप गर्न राजदूत चन्द्रशेखर उपाध्याय तथा राजगुरु गजराज मिश्र बाध्य भएकाे र मातृभूमि नेपालकाे ठूलाे भूभागलाई अङ्ग्रेज साम्राज्यले हडपेकाे नसम्झिरहन सकेनन् भन्ने अवधारणा ऊ यहाँ राख्न हिचकिचाउँदैन ।

जङ्गली हात्ती समाती सधाउने व्यवसायमा लागेका कम्पू जङ्ग तत्कालीन विक्षिप्त स्वभावकी महारानीकाे क्राेधका कारण हुन गएकाे भयानक हिँस्रक रक्तपातपूर्ण काेत काण्डबाट असाधारण परिस्थितिवश सत्तामा त आउँछन् । तर शाह राजाबाट गुमेकाे भूभाग फर्काउन ध्येयरत भई आफ्नाे राजनीतिज्ञ- रणनीतिक काैशलद्वारा सन् १८६० मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गरी ‘नया मुलुक’ मातृभूमिमा फर्काउन सक्छन्, बेलायत यात्राकाे १० वर्ष नबित्दै ।

यता राजाबावुबाट ‘डाँडा कटाइन’ मुख्यत: प्रजातन्त्रवादी नेताद्वय विश्वेश्वरप्रसाद काेइराला तथा गणेशमान सिँहकै आपत्तिका कारणबाट बचेका युवराजधिराज बावुका निजी चिकित्सक सरदार शिवनाथ रिमालकाे राजगद्दी उत्तराधिकार निष्ठाका कारण बावुकाे शेखपछि राजा बन्छन्, महेन्द्र वीर विक्रम शाहदेव । तर, यसरी निष्कट्ङक राज गर्ने साैभाग्य पाएका राजा, लढ्दै, पढ्दै, घाउचाेट खाँदै- सहँदै भए पनि प्रजातन्त्रकाे संस्थागत विकास-प्रकियामा लागेकाे मुलुकका यशश्वी राजर्षि हुनसक्ने राजा महेन्द्र सङ्कीर्ण साेचका राजनीतिक खेलाडी बन्न पुग्छन्, त्यसमा पनि खेलका नियमै नमान्ने हठी स्वभाव लिएर- ‘चित् पनि मेराे, पट पनि मेराे’ भन्ने कुटिलताकाे नीति तथा व्यवहार अङ्गाल्दै ।

आधुनिक राजा, त्यसमाथि पनि कवि राजा त उदारवादी एवम् समतावादी पाे हुनुपर्छ, दार्शनिक हुन नसके पनि !

राजा महेन्द्र चरम राजनीतिक महत्त्वाकांक्षा राख्ने तर राजनीतिक दल वा प्रतियाेगीहरुप्रति एलर्जीयुक्त मात्र हाेइन, आफूमा नि:स्वार्थ सहयाेगी र समादरभाव राख्ने राजनेताहरुप्रति कुण्ठाले ग्रस्त रहन्थे । कस्ताे विराेधाभाषपूर्ण भने, एकातिर उनी १९९७ पर्चा अभियानमार्फत राणाशासनविरुद्ध सङ्गठित संघर्षकाे थालनी गर्ने पहिलाे क्रान्तिकारी दल प्रजा परिषदका समर्थक रहेका आफ्ना पिता राजाभन्दा आँटिल भई टङ्कप्रसाद आचार्यलाई २००७ सालकाे प्रजातान्त्रिक क्रान्तिपछिकाे दाेस्राे सङ्गीन राजनीतिक माेडमा प्रधानमन्त्री बनाउँदछन् । अनि आचार्य पनि आफ्नाे दलीय सङ्गठन कमजाेर एवम् शासनाधिकार सीमित रहँदारहँदै पनि मुलुका विविध क्षेत्रमा युगान्तकारी परिवर्तनका याेजना बनाउँदै, लागू गर्दै तिनका मुख्य श्रेय राजालाई दिने राजनीतिज्ञ उदारता देखाउँद छन् । तर शङ्कालु राजा आफ्नाे जिल्ला भ्रमणमा जाँदा राजाकै स्वागतमा प्रधानमन्त्रीकाे दलले टाँसेका पर्चा उखेल्न आफ्ना आठफरियाहरुलाई लगाउँद छन् जुन वृत्तान्त उसले पुष्करनाथ उप्रेतीबाट सुनेकाे हाे । यति मात्र नभई भारतसँग समानतापूर्ण मैत्री सम्बन्ध बढाउँदै जनवादी चीनसँग नवसम्बन्ध स्थापनमा राजाकाे अग्रसरतालाई नयाँ आयाम दिए प्रधानमन्त्री आचार्यले । यसरी देशकाे स्वाधीनता संरक्षण तथा सुदृढीकरण गर्दै चाैतर्फी विकासकाे मार्ग खाेल्दै गएकाे उनकाे सद्कार्यलाई आफ्नाे यशमा ह्रास ठान्न लगाउने चाकरीबाज वा छुल्याहाकाे कुरामा कान थापेर आफ्नै अर्थमन्त्री एवम् विश्वासपात्र सर्दार गुञ्जमान सिँहकाे परामर्श विपरीत गई आफ्नै यशश्वी प्रधानमन्त्रीलाई आफैँले एक न एक निहूँले टार्दै आएकाे आमचुनाव गराउन ‘अक्षम’ भन्ने बात लगाएर खाेसी भारतीय सत्ता प्रतिष्ठानकाे भित्री मनाेकांक्षा पूरा गर्नपुग्ने राजालाई के नाम दिने ? जबकि तत्कालीन शासकदलले ‘चुनाव पूर्ण अधिकारसम्पन्न संसदकाे निम्ति हुनुपर्छ’ भनी २०१४ जेठ २६ का दिन माग गरेकाे थियाे ।

२०१५ सालकाे आमचुनाव पनि २०१४ कार्तिकमा नेपाली काँग्रस, नेपाल प्रजा परिषद तथा नेपाल राष्ट्रिय काँग्रेकाेकाे आयाेजना रहेकाे भद्र अवज्ञा आन्दाेलनमा उक्त त्रिदलीय गठबन्धनबाट स्वतन्त्र रही नेपाल कम्युनिष्ट पार्टीले चलाएकाे देशव्यापी सहयाेग आन्दाेलनकै मुख्य कारणबाट सम्पन्न गर्न राजा राजी त भए । तर यहाँ पनि उनले राष्ट्राध्यक्षकाे गरिमापूर्ण भूमिका निर्वाह गर्न चूके, जानाजान नै चूके । सम्युक्तरूपले घाेषणा गराउन सकेका दलहरु चुनावमा जाँदा एकएक तर्फा भए । यसलाई राजाले आफ्नाे महत्त्वाकांक्षाकाे दुनाे साेझ्झाउने स्वार्थमा लगाए– फलस्वरूप दलहरु राजाकाे भित्री याेजनाबाट ‘बेखबर’ भई नेपाली काँग्रेसविरुद्ध, मुख्यतः विश्वेश्वरप्रसाद काेइरालाविरुद्ध खनिए पनि । चुनाव राजाले चाहेअनुसार विप्रविरुद्ध अरु सबै बेग्लाबेग्लै तर एक हुन पुगे । राजाकाे कुत्सित महत्त्वाकांक्षा, स्वाभाविकरूपले बढ्दै गयाे ।

‘नेपथ्य’मा रहेर विप्रविरुद्ध चलाइएकाे महासङ्ग्राममा राजा हारे, गाेरखा परिषदबाहेक अरु सबै दल नराम्ररी पछारिए । तर खेलकाे घाेषित वा अघाेषित नियमअनुसार राजा महेन्द्रले नियम भङ्ग गरे, नेपाल कम्युनिष्ट पार्टी लगायत अरु सबै दलहरु पनि खेल नियमविरुद्ध लाग्न पुगे । महाविजेता विप्र काेइरालालाई चलखेलमा पार्ने घाेर चकव्यूह पनि रचियाे, राजाबाटै । अरु घटनाक्रम त जगजाहेरै छ ।

Ad

तर, एउटा पछि अवलाेकन तथा घटनाक्रमबाट जुन तथ्यसत्य उसकाे सामुन्ने आयाे त्याे थियाे– कवि भइकन पनि राजनीतिक मात्र हाेइन खुला शासकीय महत्त्वाकांक्षा राख्ने राजाका प्रति प्रधानमन्त्री विप्र काेइरालाकाे सदाशयता जसलाई उनकाे पार्टीकै कतिपय उच्च नेताले बुझेनन्, चित्त बुझाएनन् । यसलाई सह्माल्दै र यस्ताे चित्तनबुझाईरूपी आगाेमा घ्यू हाल्नमा, थप्नमा सक्रिय रहेका आफ्नै दलीय नेताहरुकाे कपट बुझी त्यसलाई तह लगाउन परिपक्व भएका नेताकाे गुणलाई राजाले बुझेर राष्ट्रहितमा लगाउन जानेनन्, वा चाहेनन् नै पनि । उनी भताभुङ्ग भइसकेकाे चक्रव्यूह जाेड्नमै लागे । कतिसम्म भने, राष्ट्रवादी राजालाई विप्र काेइराला भारतकै राजधानीमा मैत्रीयात्रामा छँदा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपालकाे हिमालय सीमानामाथि गरेकाे दावीलाई अनुचित तथा अस्वीकार्य भनी प्रतिवाद गर्ने आफ्नै प्रधानमन्त्री, आफैँले स्थापना गरेकाे चीन मैत्रीमा आफ्नै अघिका प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले बढाएकाे सम्बन्धमा काेशेढुङ्गा थप्दै गएका नयाँ प्रधानमन्त्रीका सद्कार्य सह्य भएन । चीनसँग सीमाविवाद अभयपक्षीय हितमा आघात पर्न नदिई नेपालकाे राष्ट्रिय पक्षमा सुल्झाएबाट प्रम काेइरालासित क्रुद्ध भएकाे भारतीय सत्ता प्रतिष्ठान त माैकाकाे ताकमा रहेकै थियाे । राजा महेन्द्रकाे महत्त्वाकांक्षाबाट भरपूर दुष्लाभ लिन, त्याे चुकेन । फलत: चुनाैती तथा परिस्थितिबाट पाकाे हुँदै गएका प्रम काेइराला राजाकाे सत्ताकाेप भाजनबाट वचन सकेनन् । समग्र राष्ट्रहितप्रति आजसम्म पनि दुर्भाग्यपूर्ण रहिआएकाे २०१७ साल पुस १ गते कूकाण्ड भइहाल्याे ।

यहाँ याे वर्ष र गतेकाे उल्लेखबाट उसले भारतीय साहित्यकार कमलेश्वरकाे ‘कितने पाकिस्तान’का दुई हरफ सम्झयाे– एउटा आमतवरले र अर्काे विशिष्ट तवरले !

‘इतिहास रुका हुआ था । उसे कुछ पछतावा नहीँ था । पछताता ताे इन्सान है, इतिहास नहीँ’ (पाना ५४) आम तवरले याे सम्झ्याे भने विशिष्ट तवरले याे सम्झ्याे:

‘एक गूँजती आवाज फिर पूरे ब्रह्माण्ड में छा जाती है–
लमहाें ने खता कि थी
सदियाें ने सजा पाई…’ (पाना २८७)

राजा महेन्द्रलाई इतिहासकाे दृष्टिबाट समग्र रूपमा बुझ्नैपर्ने दिन यही हाे । खण्डित रूपबाट बुझ्दा प्रायाेजित वा विकृत दुष्परिणाममा मात्र पुगिन्छ ।

राजा महेन्द्रलाई आफ्नाे यस कार्यबाट अन्तत: पछुताे भएकाे चर्चाकाे कुरालाई एकैछिनकाे लागि सन्देहकाे लाभ दिँदै कठाेर सत्य के लिपिबद्ध नगरिरहन सकिँदैन भने उनकाे यस कर्तूतबाट हाम्राे मुलुककाे प्रजातान्त्रिक सँस्थागत विकासक्रम भङ्ग हुन गई दुष्परिणामस्वरूप विकृत, घनघाेर विकृत हुन गयाे । २०१७ बाट २०४६ सालसम्मकाे तीस वर्षमा देश कम्तीमा ६ पटक खुला निर्वाचन पद्धतिकाे लाभ लिई राज्यीय तथा राजनीतिक समेतगरी विविधक्षेत्रमा संस्थागत विकास गर्ने अवसरबाट वञ्चित भयाे । आधुनिक राज्य, आफ्ना चाैतर्फी हित एवम् मङ्गलकल्याणकाे संरक्षण तथा सम्वर्द्धन गर्ने सुअवसरबाट वञ्चित भयाे । कुनै पनि देशमा विदेशी स्वार्थकाे चलखेल त आजकाे अन्तर्राष्ट्रिय नियम नै भइसकेता पनि त्यसकाे प्रतिराेधक शक्तिकाे निर्माण गर्न र सुदृढीकरण गर्न समर्थ पनि हुनसक्नेथ्याे । सापेक्षिप रूपमा ऐनकानूनकाे राज्य निर्माण गर्नसक्नेथ्याे । भारतीय सत्ता प्रतिष्ठानले यत्तिकाे हेप्ने, गिराउने स्थितिमा आईपर्दैनथ्याे । अनि, सर्वथा मुख्य कुराे, सत्ता राजनीति आजकाे जस्ताे बेलगाम विदेशी नियन्त्रणमा रहेकाे मठाधीशीय वा डाेन परिचालित हुँदैनथ्याे ।

कवि राजाले सृजनशीलताकाे क्षणमा ‘म मरे पनि मेराे देश बाँचिरहाेस्’ भने, लेखे, वा बाेले पनि हाेलान् । याे हाम्राे सुन्दर शान्त विशाल देश त पृथ्वीनारायण शाहदेखि बहादुर शाह हुँदै भीमसेन थापा, अमरसिँह थापा, बलभद्र, भक्ति थापा र चन्द्रशम्शेरले पनि बचाउँदै आएका हुन् । तर पछिल्लाे समयका शासक तथा राजनीतिकबाजहरु देशका मूल सर्जक जनतालाई नै बलिया, समर्थवान र ज्यूँदा गर्न-गराउन च्यूत भएबाट, गिरेका कारणबाट देशमा के ज्ञान, के विज्ञानकाे विकास भई उसका मित्र गाेविन्दप्रसाद लाेहनीले २०२० सालमा परिकल्पना गरेकाे ‘प्रविधि, मानवकाे इतिहास तथा भाेलिकाे संसार’काे परिकल्पना र २०२३ मा अभिव्यक्त गरेका ‘सँस्कृतिकाे रूप, आधार र विकास’का लक्षण आज २०७८ सालकाे करीबकरीब अन्त्यसम्म पनि राेकिएकाे, अझ अरु कति दशक यस्तै भईगरी मूलत: राेकिनुपर्ने आशङ्का भएकाे त्यही २०१७ सालकाे पुष १ गतेकाे काण्डले गर्दा हाेइन त ?

संसदीय प्रजातान्त्रिक व्यवस्थामा नियमित तथा निष्पक्ष आम निर्वाचन नै कानूनी राजकाे लागि मूल आधारभूत तत्त्व हाे, भलै सत्तासीन दल जनतालाई सुशासनकाे फल दिन पूरै याेग्य वा जिम्मेवार विरलै हाेस् ! राजा महेन्द्रले त आफैले २०१५ सालमा जारी गरेकाे संविधानअनुसार आम चुनावबाट दुईतिहाई बहुमत ल्याएकाे दलीय सरकारलाई गैरकानूनी तवरले सत्ताच्यूत गरे जबकि प्रधानमन्त्री काेइराला राजाका लागि आफू कदाचित ‘अवाञ्छित’ भए पनि संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्थाकाे अन्त्य हुनेछैन भन्ने विश्वासमा आखिरीसम्म विश्वस्त थिए, त्यसका लागि प्रतिबद्ध थिए । तर दलीय राजनीतिविरुद्ध एकछत्र ‘निर्दलीय’ राजनीतिका महत्त्वाकांक्षी राजाका लागि पूरै दलीय व्यवस्था अवाञ्छित रहेछ ।

हाे, यति हुँदाहुँद‌ पनि महेन्द्र नेपाली समाजकाे ठूलै हिस्सामा प्रभावकारी, समर्थवान, राष्ट्रनिर्माताकाे रूपमा प्रशंशित छन् । उनले याे नकाम नगरेकाे भए कदाचित उनी आफ्ना यशश्वी पुर्खा पृथ्वीलाई पनि नउछिने पनि बराबरीमा पुगनेथ्ये हाेलान् ! तर इतिहासकाे दृष्टिबाट उनी मेल गाडी छुटाएर बैल गाडी चढ्न नै रुचाए, उनले sense of history गुमाए भन्ने दृढ अवधारणा राख्दै एक निष्पक्ष विद्यार्थीकाे नाताले अब उसकाे लागि यसरी त्याे गते, त्याे काण्ड यथार्थमा यक्ष प्रश्न नरहेकाे ईतिवृतान्तकाे यहीँ बिट मार्ने अनुमति लिँदै सबैमा जय नेपालकाे अभिवादन ज्ञापन !


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button