केही समय ढिला भएको भए महाकविले के गर्थे भन्न सकिन्नथ्यो

‘आई वान्ट टु डाई, आई वान्ट टु सी गड’

रामहरि जोशी

महाकवि लक्ष्मीप्रसाद देवकोटासँग मेरो पहिलो भेट कलकत्तामा भएको थियो । यो सन् १९४९ तिरको प्रसङ्ग हो । म कलकत्ता विश्वविद्यालयमा कानुन विषय पढिरहेको थिएँ । कलकत्ता विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीले ‘हिमाञ्चल छात्र सङ्घ’ स्थापना गरेका थिए । स्थापनापछि केही समय निष्क्रिय रहेको त्यो संस्थालाई हामीले नै सक्रिय बनाएका थियौँ । त्यसलाई सक्रिय बनाउन नेपालका साथै दार्जिलिङ र सिक्किमका साथीहरूको विशेष योगदान थियो । म उक्त सङ्घको साहित्यमन्त्री थिएँ । हामीले ‘हिमाञ्चल’ नामक स्मारिका पनि प्रकाशित ग¥यौँ । त्यही संस्थाले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई अभिनन्दन गर्न कलकत्ता डाकेको थियो ।

महाकवि देवकोटा त्यसताका बनारसमा थिए । नेपालको राणाशासनले कविका स्वच्छन्द भावलाई प्रकट हुन दिइरहेको थिएन । राणाशासनको त्यो साँघुरो, सङ्कुचित र निस्सासिलो कालखण्डमा महाकविको कल्पनाले स्वतन्त्र ढङ्गले उडान भर्न पाएन । त्यसैले उनी खुला आकाशको खोजी गर्दै भारतमा स्वनिर्वासित जीवन बिताइरहेका थिए । बनारसबाट त्यस बेला भट्टराईबन्धुहरूले साप्ताहिक ‘युगवाणी’ प्रकाशित गर्थे । महाकवि त्यस पत्रिकामा सम्पादक थिए ।

हिमाञ्चल छात्र सङ्घको निमन्त्रणा पाएपछि महाकवि देवकोटा ‘युगवाणी’ का संस्थापक सम्पादक नारायणप्रसाद भट्टराई र ईश्वर बरालका साथमा कलकत्ता आए । मलाई सम्झना छ, सन् १९४९ को जनवरी १६ मा महाकविको अभिनन्दन गरिएको थियो । कलकत्ताको कलेज स्ट्रिटको महाबोधि सोसाइटीको हलमा गरिएको कविवरको अभिनन्दनमा हिन्दी तथा बङ्गालीका मूर्धन्य साहित्यकारहरूको उपस्थिति थियो । अभिनन्दनपछि कविवरले गरेको भाषण बेजोड थियो । साहित्य तथा भाषाका बारेमा उनले अङ्ग्रेजी भाषामा धाराप्रवाह भाषण गरेका थिए । उनले भनेका थिए, ‘अब एउटा साझा विश्वभाषाको खाँचो छ ।’ उनले अङ्ग्रेजीमा भाषण गरेका मात्र होइनन्, ‘झञ्झावीर’, ‘बाघले बच्चा किन खान्छ ?’, ‘पाषाणकालको कविता’ शीर्षकका कवितासमेत अङ्ग्रेजीमा सुनाएका थिए । रोचक त के थियो भने महाकविले अङ्ग्रेजी कविता तामाङसेलोको लयमा सुनाएका थिए–

‘झञ्झा चढेको वीर सत्य मान्छे
आँधीको ए हनुमान’
(झञ्झावीर)

किन रुन्छेस् ग्वाङ्ग्री
बाघ हुन्छ कोही एक फेरा
ह्वाङ्ग्राङ्ग न ह्वाङ्ग्री
(बाघले बच्चा किन खान्छ ?)

महाकवि कलकत्तामा एक महिना बसे । त्यही अवधिमा उनले महात्मा गान्धीका बारेमा पनि कविता लेखेका थिए । अङ्ग्रेजी भाषामा ‘बापु’ शीर्षकमा साठीवटा चतुर्दशीय पदहरू (सोनेट्स) उनले कलकत्तामै रहँदा लेखे । मैले भेट्दा उनी सधैँ मानसिक तनाबमा भएको पाएँ । पहिलो भेटमै मैले उनीभित्र कुनै न कुनै मानसिक अन्तद्र्वन्द्व चलिरहेको छ कि भन्ने आभास पाएको थिएँ । केही महिनाअघि मात्र महाकविका माहिला छोराको निधन भएको थियो । त्यसको शोक र घरको सम्झनाले होला, महाकवि झन्डै विक्षिप्त अवस्थामा थिए । उनी कसैसँग पनि धेरै बोल्दैनथे । उदास ‘मुड’ मा एक्लै बसिरहन्थे ।

महाकवि कलकत्ता आएकै दिनको प्रसङ्ग हो । म र जयनारायण गिरी पार्क सर्कसस्थित इस्लाम क्यासलको तीनतले घरमा बस्थ्यौँ । देवकोटा पनि त्यही घरमा आएका थिए । एकाएक मध्यरातमा केही खैलाबैला भयो । हामी निद्राबाट जाग्यौँ । थाहा भो, मध्यरातमा देवकोटा उठेर तीनतले घरको झ्यालनेर पुगेर बाहिर केही हेर्दै रहेछन् । धन्न, नारायणप्रसाद भट्टराई र ईश्वर बरालको निद्रा खुल्यो र देवकोटालाई बडो मुस्किलले तानेर पलङमा ल्याएर बसाले । केही समय ढिला भएको भए महाकविले के गर्थे भन्न सकिन्नथ्यो ।

पलङमा बसेपछि महाकवि बर्बराउन थाले । उनले भनेका सबै कुरा बुझिएन । तर, लामो सुस्केरा हालेर भनेको एउटा वाक्य म सम्झन्छु । उनले त्यस बेला भनेका थिए, ‘आई वान्ट टु डाई, आई वान्ट टु सी गड ।’ (म मर्न चाहन्छु, म ईश्वरलाई हेर्न चाहन्छु )

Ad

मर्न चाहने र ईश्वरलाई भेट्न चाहने उनको त्यो मानसिक अवस्था देखेर हामी मर्माहत भएका थियौँ । कुनै ठूलो पीरका कारण उनमा जीवनप्रति नै निराशा घनीभूत भएको मैले पाएँ । तर, आश्चर्य त के भने त्यो घटनाको ठीक दुई दिनपछि आफ्नो अभिनन्दन समारोहमा कविले धाराप्रवाह भाषण गर्दा र अङ्ग्रेजीमा तामाङसेलोमा कविता सुनाउँदा भने उनमा मैले त्यो निराशा कतै देखिनँ । उनी उत्साह, जोस र प्रसन्नतासाथ कविता सुनाइरहेका थिए ।

लाग्थ्यो, जीवनका सारा पीडा र निराशारूपी विषलाई आफूभित्रै लुकाएर महाकवि सारा विश्वलाई साहित्यको अमृतपान गराइरहेका थिए । अहिले त जो पनि कवि छन् तर मैले त्यसै दिन महसुस गरेँ, कवि हुन कति कठिन हुँदो रहेछ !

(लेखनकुञ्ज, नेपालबाट प्रकाशित जोशीकृत पुस्तक ‘अँध्यारोबाट उज्यालोतिर’बाट)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button