
‘… त्यसपछि राजा महेन्द्रले अङ्ग्रेजीमा सन्देश दिन थालिबक्स्यो’
सम्झना
प्रकाशप्रसाद उपाध्याय
प्रसारण जीवनको सबैभन्दा उत्तेजक क्षणको अनुभूति मलाई त्यतिबेला भयो, जब राजा महेन्द्रको दिल्ली यात्राको सम्पूर्ण वृत्तान्त रेकर्ड गर्ने दायित्व मलाई सुम्पिएको थियो ।
प्रजातान्त्रिक प्रधानमन्त्रीको सरकारलाई २०१७ पुष १ गते ढाल्दै देशमा निर्दलीय शासन व्यवस्था ल्याउने यस्ता शक्तिशाली राजालाई के रेकर्ड गर्न भ्याइएला ? यो सोच चुनौतिपूर्ण लागिरहेको थियो । उहाँलाई कसरी र कतिबेला रेकर्ड गर्ने भत्रे कुरा मनमा खेलाउँदै र यौवनकालिन साहस बटुल्दै म राजाको पछि-पछि ८-१० किलो भारी टेपरेकर्डर बोक्दै हिँडिरहेको थिएँ । तर सफलता हात परिरहेको थिएन ।
ती दिनहरुमा आजका जस्ता साना टेपरेकर्डर वा रेकर्ड गर्ने सुविधा भएको मोबाइल फोन हुत्रथ्यो । १२ वटा ठूला साइजका ब्याट्रीहरु हालिएका टेपरेकर्डर बोक्दै हिँड्नु पर्दथ्र्यो । कहिलेकाहीँ ब्याट्रीहरु हल्लिएमा रेकर्ड नहुने पनि गर्दथ्यो । यसको कटु अनुभव मलाई क्याप्टेन एम. एस. कोहलीको नेतृत्वमा सगरमाथामा सफल आरोहण गरी फर्केका केही नेपालीभाषी भारतीय पर्वतारोहीहरुलाई पालम विमानस्थलमा रेकर्ड गरी स्टुडियोमा फर्केर जाँच्दा भइसकेकोले त्यो चिन्ता बेग्लै थियो । तापनि यो चुनौतिपूर्ण जिम्मेवारी पूरा गर्ने साहसमा कुनै कमी भएको थिएन ।
एकदिन राजा महेन्द्रको पुसा इन्स्टीच्युटको कार्यक्रम थियो । म पनि आफ्नो मिशनमा राजाको पछि-पछि लागेको थिएँ । दिल्लीको प्रसिद्ध र अग्रणी वैज्ञानिक प्रयोगशाला पुसा इन्स्टीच्युटको हरेक कक्षतिर जाँदा मलाई कैयनपल्ट राजा महेन्द्रको नजिक पुग्ने अवसर प्राप्त भए पनि हरेकपल्ट मौसूफका सचिव ‘यू आर नट् एलाउड टू रेकर्ड’ भन्दै छेकबार लाउनुहुन्थ्यो । यसरी म हतोत्साहित महसूस गर्दै थिएँ ।
भ्रमण कार्यक्रम सकेर फर्कनेबेला भइरहेको थियो । सम्भवतः एउटा दुब्लो-पातलो ठिटो सरह देखिने सञ्चारकर्मीलाई हतोत्साहित पार्न सफल भएकोमा सचिव महोदय प्रफुल्लित पनि भइरहनुभएको थियो होला । भ्रमण कार्यक्रम सकेर निस्कने बेला भइसक्यो । असफलता र थकाईले गर्दा मन खित्र भइरहेको थियो ।
बाहिर निस्केर सबै आ-आफ्ना मोटरतिर जान लागे । तर राजा सवारी हुने मोटर र सचिवज्यूका मोटर छुट्टा-छुट्टै थिए । सचिवज्यू मोटरमा बसिसक्नुभएको थियो भने राजाको सवारी मोटरनजिक पुगिसकेको थिएन । यत्तिकैमा मेरा एक सहकर्मी बिमलेन्दु श्रीवास्तव कराए, ‘प्रकाश, दौडो यही समय है रेकर्ड करने का ।’ एक आज्ञाकारी शिष्य सरह म पनि दगुरें । ड्राइभरले ढोका खोलेपछि सरकार मोटरभित्र राज मात्र के भएको थियो, मैले टेप चलाउँदै उत्तेजित स्वरमा भनेंं, ‘सरकार, सेवक अल इण्डिया रेडियोको नेपाली विभागबाट, श्रोताहरुका लागि केही सन्देश सरकार ।’
मुसुक्क हाँस्दै राजाबाट के दुई सेन्टेन्स हुकुम भएको थियो, श्रीवास्तव पनि आई पुगे र भत्र थाले, ‘I am from Radio Newsreel. Few words in English too, Your Majesty.’ (सरकार, म रेडियोको समाचारदर्शन विभागबाट, केही शब्द अँग्रेजीमा पनि) ।

नेपालीमा बक्सिरहेको सन्देश छोट्याउँदै राजा महेन्द्रबाट अङ्ग्रेजीमा सन्देश दिन थालिबक्स्यो । मैले अङ्ग्रेजीको सन्देश पनि रेकर्ड गरेंं । उता सचिव महोदय मोटरको ऐनाबाट हाम्रो दुःस्साहसमाथि सम्भवतः आगो भइरहनु भएको पनि लाग्यो । स्टुडियो पुगेर रेकर्डिङ्ग जाँचें । सानै भए पनि सन्देश रेकर्ड गर्न सफल भएकोमा मलाई सगरमाथा आरोहण गरे जत्तिकै खुशी लागिरहेको थियो । आफ्ना हाकिमलाई रेकर्डिङ्ग सुनाएँ । सबै वृत्तान्त सुनेपछि उहाँहरुले पनि प्रयास सफल भएकोमा खुशी जाहेर गर्नुृभयो । यसपछि विशेष समाचारदर्शनका लागि यसको वृत्तान्त समावेश गरेपछि घर फर्कें ।
राजा महेन्द्रबाट जति सहज र सरल रुपमा सन्देश बक्सियो, बाटोमा त्यसको सम्झना हुन थाल्यो । सोच्न थालें, कुनै पनि मानिसप्रति टाढाबाटै बनाइएको धारणा प्रत्यक्ष भेटमा त्यसको कति विपरीत हुँदो रहेछ । के यस्ता व्यक्ति निरङ्कुश वा तानाशाह पनि हुन सक्दछन् र ? भत्रे भाव पनि मनमा उत्पत्र हुन थाल्यो । तर भाव वा भावनाभन्दा ठूलो यथार्थ हुन्छ, ऐतिहासिक तथ्य अकाट्य हुन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)