
राजाले न्याय नपाएको देशमा छोरीले न्यायको आश गर्नु बेकार छ
जब हरेक आमाले छोरीलाई जस्तै छोरालाई पनि मानमर्यादा सिकाउने छन्, संस्कार सिकाउने छन् चरित्रवान बनाउने छन्, जब समाजले छोरीचेलीको चालचलनमा लगाउने छड्के आँखा छोरामाथि निगरानी गर्नेमा लगाउनेछ अनि मात्र समाजमा छोरीहरु सुरक्षित हुनेछन् ।
अम्बिका घिमिरे
राजाले पनि न्याय नपाएका देशमा जन्मिएका हामीले न्यायका लागि आश गर्नु नै बेकार छ ।
सात बर्षकी राधाको बलात्कार गरी हत्या ।
तीन दिनदेखि बेपत्ता अनुराधाको शव अर्धनग्न अवस्थामा भेटियो ।
कलेजबाट फर्किदै गरेकी सरिता एसिड आक्रमणमा परिन् ।
बिहे गरेको सातौँ दिन रमाको झुन्डिएको अवस्थामा शव फेला ।
तरकारी किन्न निस्किएकी कमला पन्ध्र दिनदेखि बेपत्ता ।
आफ्नै परिवारको सदस्यद्वारा सीमाको हत्या ।
हो, यस्तै समाचार दिनहुँ पढिरहेका छोरीका आमाहरु एउटा कुरा याद राख्नुस्, ठाउँ फरक पर्नेछ, नाम फरक पर्नेछ, अपराधी फरक पर्नेछ तर अपराध रोकिने छैन । हाम्रा छोरीचेलीलाई हत्या, हिंसा, अपहरण, बलात्कार आदि हुनबाट बचाउने दायित्व हाम्रै हो ।
आफुलाई नपरुन्जेल अरुलाई विचरा भनेर बस्यौँ भने हाम्रो पनि विचरा बन्ने दिन नजिकिँदै जानेछ । जब हरेक आमाले छोरीलाई जस्तै छोरालाई पनि मानमर्यादा सिकाउने छन्, संस्कार सिकाउने छन् चरित्रवान बनाउने छन्, जब समाजले छोरीचेलीको चालचलनमा लगाउने छड्के आँखा छोरामाथि निगरानी गर्नेमा लगाउनेछ अनि मात्र समाजमा छोरीहरु सुरक्षित हुनेछन् ।
अपराधपछि न्यायको लागि उठाइने आवाजहरु अपराध रोक्नको लागि उठाउने गरौँ । छोरीलाई संस्कार मात्र होइन, आत्मा रक्षा पनि सिकाउने गरौँ । आत्माले शान्ति पाओस् भनेर सोसल मिडियामा कमेन्ट गर्दैमा निर्मला, भागीरथी, सुस्मिताहरुको आत्माले शान्ति पाउने छैनन् । त्यसैले आत्माले न्याय पाओस् भनौँ ।
अन्यायको विरुद्ध सबै मिलेर लागौँ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



