
‘तैँले छोइस् भने हाम्रो भगवान रिसाउँछन्’
सत्य कथाः जातीयताले दिएको चोट
दिला शाह
जेठ महिनाको अत्यन्तै गर्मीको दिन थियो । पानी प्यासले ब्याकुल बनाएको थियो । स्कुलको धारा बिग्रेकाले केही दिन देखि पानीको अभाव थियो । स्कुलको खेल मैदान नजिकै ब्रह्माणको घर थियो । त्यही सबैजना साथीहरू पानी पिउन गए । तब म पनि उनिहरुसँगै धारा नजिक गएँ ।
सबैले पालैपालो पानी पिए । जब म धाराको नजिक जाँदै थिएँ, तब मलाई पछाडिबाट कसैले कर्कस आवाजमा भन्यो, ‘ए दलित ! त्यो धारा नछो । तँ कमिनीले त्यो धारा छोइस् भने हाम्रो भगवान रिसाउँछन् । दलित भएर ब्राह्मणको दैलोमा टेकेर पानी खाने आँट गर्ने ? त जाबीलाई तेरो बाउ आमाले सिकाएनन् । हामी दलित हो । ठूला बडाको घरमा जानु हुँदैन । अरुको सामान छुनु हुँदैन भनेर ?’
म हैरान हुन्छु । केही सोच्नै सकिनँ । बाल हृदयमा एकैपटक धेरै कुराहरू खेल्न थाले । प्यासले ब्याकुल भए पनि अगाडि सरेर पानी पिउने आँट मैले गर्न सकिनँ । क्लासमा गएपछि अर्को बिषय पढाइ हुनथाल्यो । मेरो मन भने एक तमासले उदास भइरह्यो । किन म दलित भएँ ? त्यति धेरै जनाको भिडमा म नै दलित हुँ भनेर त्यो ब्राह्मण भन्ने मानिसले कसरी थाहा पायो ?
धेरै बेरसम्म घोत्लिरहे । कलकल पारेर लागेको प्यास पनि हराए जस्तो भएको थियो । स्कुल बिदा हुने समय भयो । सबै विद्यार्थीहरुलाई लाइनमा लगाइयो । हामी केही विद्यार्थीलाई भने अलग्गै लाइनमा लगाइयो । तब याद गरेँ , हामी दलित भनिनेहरुको ड्रेस नै फरक रहेछ । अरुको सेतो सर्टमा निलो मेड्डी थियो भने हामी दलितहरुको कालो मेडी र खैरो सर्ट रहेछ ।
शिक्षाको मन्दिरमा नै भएको भेदभाव बल्ल बुझे । मन अमिलो भएर आयो । घर समाज गाउँ छिमेकी र स्कुलमा हामीप्रति गरिने भेदभावले मन खिन्न हुन्थ्यो । सबैको नजरमा हामी दलित त्यसै माथि पनि हाम्रो एकदमै कमजोर आर्थिक स्थिति थियो । हामीले चाहेर मात्रै छुवाछूतको बलियो जरा टुट्नेवाला थिएन ।
स्कुल जस्तो पवित्र स्थानमा गरिएको बर्ग भेदको कुरा मलाई मन परिरहेको थिएन । आमा अरुको घरमा कपडा धुन सरसफाइ गर्न जानुहुन्थ्यो । आमासँगै म पनि काम गर्न जान्थेँ । काम गरेर अलि अलि गरेर कमाएको पैसाले स्कुलको ड्रेस किन्ने विचार गरे । जसरी अरु जातका छोराछोरीले सेतो सर्ट र निलो मेड्डी लगाउँथे । मलाई पनि त्यस्तै ड्रेस लगाउनु थियो । मैले उक्त ड्रेस हरहालमा किने । उक्त ड्रेस लगाएर स्कुल गएको दिन मलाई त्यहाँबाट रेष्टीकेट गरियो । दलित भएर यत्रो हिम्मत गरेर अन्य जातीयताको गरिमामाथि लात हानेको भनेर कारबाही गरियो ।
मेरो मनमा झनै आक्रोसको आगो दन्कियो । उक्त स्कुलमा पढ्न नपाएपछि घरबाट दुई घन्टा हिडेर पुग्नुपर्ने अर्को स्कुलमा भर्ना भए जहाँ दलित भनेर फरक रंगको कपडा लगाउनु पर्थेन ।
मावि लेवलको पढाइ त्यही स्कुलबाट सकेर म उच्च शिक्षा हासिल गर्नको लागि सहर गएँ । त्यहा मावलको हजुरआमा बस्नुहुन्थ्यो । हजुरआमाले पनि अरुको काम गर्नुहुन्थ्यो । म पनि खाली समयमा हजुर आमासँग अरुको घरमा झाडु पोछा गर्न जान्थेँ । पछि मेरो होस्टेलमा बस्ने एकजना साथीले थाहा पाएपछि मलाई दलित भनेर होस्टेलबाट निकाल्नु पर्ने माग राखी तर उसले भने जस्तो गरेर निकाल्न त मिलेन पछि उसले मलाई हरेक प्रकारका ट्रचरहरु दिएर हैरान बनाइ । उसका साथीहरू मिलेर मेरा कापीकलम समेत गुम गर्दिन्थे । म हैरान भएर होस्टेल गुरुसँग सबै कुरा राखेँ । पछि बाध्य भएर अन्तमा उसले नै बरु कलेज छोडेर गइ । मलाई मेरो बुवाले सिकाउनु भएको थियो कि, सत्य कामको लागि कहिल्यै कसैसँग नझुक्नु ।
समाजशास्त्र बिषय लिएर ग्रयाजुयट गरेपछि एक युनिभर्सिटीमा नाम निकालेर अध्यापन गराउन थाले । हजुरआमालाई एउटा राम्रो फल्याट लिएर बसालेँ । आफु प्रोफेसर भएकोले बिहानै कलेज जान्थे र सधैं अबेर कोठामा फर्किन्थेँ । एकदिन अलि सन्चो नभए पछि छिट्टै कोठामा फर्किए । हजुरआमाले घरबेटीको आगन कोलिया कोठा सफा गर्दै हुनुहुन्थ्यो । अचम्म मानेर सोधेँ, बुढो मान्छे नसक्ने उमेरमा यो के गर्नुभएको ?
हजुरआमाले आँखाभरी आँसु पार्दै भन्नुभयो, हामी दलित भएकोले घरबेटीको घर सबै सफाइ गर्दिनुपर्ने कुरा घरबेटी नानीले भन्नुभयो । नत्र यो घरमा बस्न दिन्नौ भन्नुभएको थियो । तिमी कलेज गएपछि म सधैं उहाँको कोठा, आँगन र कोलिया सफा गर्थेँ नानी ।,
उफ, यो जातीयताको जालो जताततै रहेछ । म मर्माहत भएँ । घरबेटीसँग कुरा गरेँ, दलित भएपछि काम त गर्नैपर्यो नि, नत्र कसरी बस्न दिनु घरमा ? यही गुण हेरेरमात्र म चुपचाप लागेको नत्र अस्ति नै कोठा फ्ल्याट खाली गर्न लगाउँथे ।, घरबेटीसँग चर्काचर्की पर्यो । मैले तुरुन्तै त्यो घरबाट अन्तै डेरा सारेँ ।
धनी र शिक्षित परिवारभित्र पनि दलितलाई हेर्ने नजर देख्दा दया लागेर आउँछ । अहिले महाराजगन्जमा आफ्नै घर बनाएर बसेको छु । हिजोका दिनहरुमा जातीयताका कारण भोग्नुपरेका कष्टकर दिनहरू सम्झँदा अहिलेसम्म पनि मनमा पिरो भएर आउँछ । यो बर्ग संघर्षको लडाइँमा म निरन्तर छु ।
मेरो बुवा, आमा, हजुरआमा सबैले यो धर्तीबाट बिदा लिइसक्नुभएको छ । जसरी उहाँहरुलाई उहाँहरुको समाज र पुर्खाले दलितको ट्याग लगाई दिए । सबै अपमान सहेर पनि उहाँहरुले यो कुरालाई सहनुभयो तर अबको आउने पुस्ताले यो कुरा भोग्नु नपरोस् भन्ने मेरो उद्देश्य छ ।
यस्तो अमानवीय कार्यलाई सँहदै अहिलेको एक्काइसौं सताब्दी सम्म आइपुग्दासम्म पनि अझै यदाकदा अपमानित ब्यवहारहरु सहँदै आएका मनहरुका पक्षमा काम गर्न र यो समाजलाई जातीयताको दलदलबाट माथि उठाउन हरदम प्रयासरत छु । मानिस जातीयताले होइन, उसको क्षमता र दक्षताले पुजनीय हुनुपर्छ । मानिस मानिसजस्तो भएर स्वतन्त्र बाँच्न पाउनुपर्छ । कुनै पनि मानिस, जातीयताको आधारमा अपमानित हुन नपरोस् ।
यहाँनेर लक्ष्मीप्रसाद देवकोटालाई सम्झिन चाहें:
क्षेत्रीको छोरा यो पाउ छुन्छ घिनले छुँदैन !
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन !
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)