कोरोनाले सारो भएपछि श्रीमानले अस्पताल जाउँ भने, म झनक्क रिसाएँ

(साथी सुशीलाले नेपालनाम्चामा कोरोना डायरी सुरु गरेकी छिन् । यहाँ उनले आफ्ना सास र सुस्केरा पस्किनेछिन् । सामान्य लाग्ने जीवनका सत्यहरु लेख्नेछिन् । र, लेख्नेछिन्, जीवनका गीत, आशाको संगीत र भर्नेछिन् आम मानिसका स्वरहरु शब्दमा । उनको डायरी आम मानिसको एक प्रतिनिधी डायरी हो । सम्पादक )

कोराना डायरी–१
सुशीला शर्मा

यो कोरोना कार्यकालमा कार्यालयका काम हुने जागिरे, घरमा बसेर गार्डेनिङ्गमा रमाउने, साना बालबालिकाको स्याहार सुसार गर्नुपर्ने र राजनीति र विद्धतापूर्ण लेखनपठन गर्नेहरुलाई त खासै फरक परेको देखिदैन होला कि ? घरमा झन् आफ्नै वातावरण र फुर्सदले यी कामहरु पुरा गर्न पाईन्छ । त्यस्तै गरेर खेतिपाती र पशुपालन व्यवसाय गरिरहेकाहरु पनि आफ्नो काममा नै व्यस्त छन् तर पनि मानिसको प्रकृति बाहिरको वातावरणमा रमाउने खालको पनि हुन सक्छ ।

प्राय उस्तै खालको दैनिकीले कतिपय मानिस वाक्क दिक्क पनि भएका छन् । कतिलाई त कोरोना संक्रमण भएर नै समस्यासहित बडो सतर्क भएर आइसोलेसनमा बस्नु परेको अवस्था छ ।

प्रत्यक्षत लकडाउन अवधिमा मानिस–मानिसबीच, साथीभाईबीच भेटघाट र अन्तरक्रिया त हुन पाउने हैन । यो अवस्थामा दैनिक क्रियाकलापबारे केही लेख्नुस् भन्ने नेपालनाम्चा अनलाइनका सम्पादकको सल्लाहलाई शुरुमा सुन्ने बित्तिकै त दिनदिनै त के लेख्नु र हो भन्ने लाग्यो । तैपनि लेख्न मन लागेन या आएन भने चाँहि म लेख्दिन है भनेर आजबाट गन्थन लेख्न सुरु गरेको छु । लेखक या कवि नै त मेरो परिचय होइन । मन लागेको बेलामा के के लेखिबस्ने बानी अलि धेरै भएकोचाँहि विगत डेढ वर्षदखि हो । फुर्सद अलि बढी पनि भयो । काम गरेका क्षेत्रहरुमा बढी नै समुदायसँग साक्षात्कार पनि भईयो र समुदायस्तरमा अझ ओझेलमा परेका या पारिएका समुदायकै बारेमा सोच्ने र केही डायरीमा लेख्ने बानी पनि बस्यो ।

यो नेपालनाम्चाले पनि डायरीकै कुरा गर्ने रहेछ । मैले बुझे अनुसार डायरीले जीवन जगतप्रति दैनिक आफूले बुझेका, भोगेका सुख, दुःख, खुसी, रोदनजस्ता व्यक्तिगत मनोभावलाई शब्दको माध्यमबाट संग्रह गर्ने गर्दछ ।

यो कहरमा दैनिकी धेरैको पट्यारलाग्दो नै छ । म हेटौंडामा रहनुभएका आमा बुवासँग कुरा गर्छु । त्यस्तै घरतिर गाउँमा हुनुभएको आमा बुवा (सासुससुरा)सँग पनि कुरा गर्ने र नियमित सन्चो विसन्चो सोध्ने गर्छु । जेष्ठतातिर उन्मुख हुँदै गर्नुभएको बुवा बिहान उठेर योगाभ्यास र नजिकै गाउँतिरै खुला ठाउँमा प्रातकालिन हिडाई सकेर घर वरिपरि बारीमा तरकारी लगाउने, नातिनातिनासँग खेल्ने गर्नुहुन्छ । वरिपरि गर्नुपर्ने काम गर्ने र आमालाई सघाउने गर्नुहुन्छ उहाँ । झण्डै तिसौ वर्ष बुवा पनि पत्रकारिता र साहित्य क्षेत्रमा नै संलग्न हुनुभएकोले अध्ययन र सूचना संकलन गरिनै रहनु हुन्छ । समय परिवेश र स्वास्थ्य अवस्थाले केही वर्षदेखि बुवाको पत्रकारिता कर्म र साहित्य लेखनको यात्रामा व्यवधान आएपनि यो कोरोना कहरकाबीच आफ्ना डायरी भने भन्नुहुन्छ । छाप्ने हो भने दुईवटा किताब बन्ने भयो भन्दै हुनुहुन्थ्योे ।

बुवाको कुराले फेरि यस्तो लाग्छ कि सिर्जनाहरुमा निरन्तरता चाँहि चाहिन्छ नै । त्यस्तै कुनै पनि काम मन लगाएर लगातार गरेमात्र त्यसको फल प्राप्त हुन्छ । त्यागकै शैलीमा सबैले त के काम गर्थे र ? सुविस्ता भए मात्र मन लागेको काम गर्ने मध्येमै पर्छु म पनि ।

म आफैं पनि कोरोना भएर एउटै कोठामा थन्किनु पर्दा र झन् अलि सारो भएर अस्पताल जाउँ भनेर श्रीमानले भन्दा समेत अघि पछि हुनसक्ने सम्भावित खतराको ख्यालै नगरी रिसाएको पनि थिएँ । धन्न ! अहिले त स्वास्थ्य स्थिति र अरु समस्याहरु सामान्य भएका छन् । अहिले सम्झँदा के मूर्खता गरेको होला भन्ने लाग्छ । तर, मैले आफूलाई आत्मविश्वास जगाईराख्न मैले जानेका अनुभूति कोर्ने काम भने गरी नै रहेँ । यसैले पनि मलाई लाग्छ, मानिसको दैनिकीमा अस्वस्थ भएको या समस्या परेको अवस्थामा पनि आफूलाई कुनै काम या सिर्जनामा कतै न कतै अल्झाउन सक्यो भने कतिपय खराब असरहरुबाट बच्न मद्धत नै पुर्याउँदो रहेछ ।

आज पनि अरु दिन झैं फेसबुकमा भएका पोहोरका फोटो एक पटक हेरियो । पोहोर तीन महिना गाउँमा बसेर दैनिक बनजंगलको बाटो मर्निङवाक गरेको हेर्दा मनै आनन्दित ! प्रकृतिको महत्व बुझ्नु, आफूले आफैलाई पढ्नु, आफ्नै आलोचना या प्रसंसा गर्नु । यो नै लकडाउनको समयको सदुपयोग भएको छ । यो दिन आज पनि म यस्तै यस्तै मनन गरिरहेको छु, अरु नित्य घरायसी कामबाहेक ।

एकजना प्रिय बौद्धिक मित्रसँग मेसेन्जरमा गफ पनि भयो । त्यो गफचाँहि आदरणीय लेखकद्धय हरि रोका र कनकमणि दीक्षितको एक राष्ट्रिय दैनिका छापिएको लेख विषयमा थियो, अब कसले के जस्टिफाइ गर्ने हुन् भन्ने खालका । हामीलाई चाँसो त छ नि फेरि, बुझे पनि नबुझे पनि । तर, सकभर वर्तमान समाज, घटना, परिस्थितिबारे बुझनु पनि पर्ने हुन्छ ।

महिलाहरुले कतिपय घटनाहरुलाई बुझ्न, पढ्न र त्योबारे धारणा बनाउन नै पाएका हुँदैनन् । यस्तो पनि सोचियो, यो लेखिरहँदा ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button