शुक्रबारैदेखि पशुपति क्षेत्रका मन्दिर बन्द, घाट सेवामा आउनेलाई मास्क लगाउन आह्वान
नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ ।
पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ ।
सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिने बताइएको छ । पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।
मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ ।