‘मेरो माटो’मा हाम्रो नुवाकोट, राम्रो नुवाकोट
(नेपालनाम्चाको नयाँ स्तम्भ हो 'मेरो माटो', जहाँ तपाई आफ्ना गाउँसँग जोडिएका आफ्ना स्मृति लेख्न सक्नु हुनेछ । त्यहाँका विकास निर्माण र घटनाहरुबारे लेख्न सक्नु हुनेछ । अझ यसो भनौं, आफ्नो गाउँठाउँबारे मन लागेको लेख्नसक्नु हुनेछ । र, फोटोहरु पनि पठाउनसक्नु हुनेछ, nepalnamcha@gmail.com मा । सं)
राजेन्द्रमान डंगोल
फोटो: नेपालनाम्चा
लाङटाङ र गणेश हिमालको दैलोमा
तादी र त्रिशूलीको बगर बिच्छयाएर
मालिकाको सगरमुनि उभिइरहेछ नुवाकोट
प्राकृतिक सौन्दर्यको रंगिन पछयौरी गुथेर
र, पहिरिएको छ,
साततले र भैरवीको सुन्दर गहना
सजाएको छ प्रतिविम्ब
तादी र त्रिशूलीमा
अनि मधुर मुस्कुराइरहेछ,
ठूलीवनको हरियालीले वक्षस्थल ढाकेर …
प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको नुवाकोटको वास्तविक परिचय र सौन्दर्यको वयान यतिले मात्र पूर्ण हुँदैन । राष्ट्र निर्माता बडामहाराजाधिराजले आफ्नो जीवनको अन्तिम क्षण बिताएको ठाँउ, भृकुटीले घर माइती गर्ने बाटो, परापूर्व कालदेखिको नेपाल र तिब्बतबीचको ब्यापारिक केन्द्र पनि थियो नुवाकोट । नौ वटा कोटहरु सल्यानकोट, प्यास्कोट, ध्वाँकोट, भैरुमकोट, कालीकाकोट, बेल्कोट, मालाकोट, सिमलकोट र धैवुङकोटको संयुक्त नामाकरणनै नुवाकोट हो । यी प्रत्येक कोटनै जिल्लाको वास्तविक परिचय हुन् । यीमध्ये सल्यानकोट र भैरमकोट हाल धादिङ जिल्लामा पर्छन् । चिम्टेश्वर, दुप्चेश्वर, तारकेश्वर र कपिलेश्वर महादेव अनि देवीघाट भैरवी मन्दिर, राहुचुली, ककनी, सूर्यगढी डाँडा, र अविरल रुपमा प्रवाहित भइरहने सामरी, सलाँखु, फलाँखु, सिंन्दुरे, कोल्पु, लिखु, तादी खोला, र त्रिशूली नदि आदीे नुवाकोट जिल्लाभरिकै सौन्दर्यका रंगिन सिर्काहरु हुन् ।
एउटा नेपाली हुनुको नाताले नुवाकोटप्रति जति गौरव हुन्छ, त्यही ठाँउमा जन्मनु योभन्दा बढी गौरवको विषय हुँदोरहेछ । हो, हामी साँच्चै गौरव गर्छौ नुवाकोटप्रति, किनकि यहाँ गौरव गर्न लायकका अनगिन्ति विशेषताहरु छन् । हामी यस अर्थमा भाग्यमानी पनि छौ किनकि नुवाकोट आफैमा पनि पुण्यभुमि, हामीसित गौरवशाली इतिहास छ, रुनलाइ तादी र त्रिशूली छन् र छुनलाई पुर्खाको रगत लागेको खुकुरी पनि छ ।
करिब १ हजार मिटरको उचाईमा अवस्थित दुर्गरत्न अर्थात साततले दरवारविना नुवाकोटको परिचय अझ अधुरो हुन्छ । १८१९ मा निर्माण सुरु गरेर १८२४ सालमा सम्पन्न भएको यो दरबार ९ तलाको थियो । १९९० सालको महाभुकम्पले दुईतला नष्ट गरेपछि सात तलामा मात्र सिमित हुन पुग्यो र त्यसपछि सात्तलेकै नामले चिनिन थाल्यो । तात्कालिन राणा प्रधानमन्त्री जुद्धसमशेरबाट जिणोेद्धार कार्य नभएको भए सायद उतिबेलै खण्डहरमा परिणत भइसकेको हुने थियो । अझ खुशीको कुरो त माओवादी द्धन्दकालभर पनि यो दरबारले विद्रोहीको सिकार बन्नु परेन र अवशेषमा परिणत हुनबाट जोगियो । स्मरण रहोस्, देवीघाटमा अवस्थित बडामहाराजधिराज पृथ्वीनारायण शाह स्मृति उद्यानको पृथ्वीनारायण शाहको सालिक भने निसानामा परेको थियो ।
दरबारका बिशेषता
उत्तर-दक्षिण तेर्सिएको यो दरबारको उचाई ७५ फिट, लम्बाइ ५० फिट र चौडाइ करिब ३९ फिटको छ । गाह्रोको लम्बाइ भुइँमा साढे ६ फिट र साँघुरिँदै गएर सिरानसम्म पुग्दा मोटाइ साढे २ फिटमा सिमित भएको छ । धातुको छाना भएको यो दरबारका अरु सामग्री तेलिया इँट र काठमा सुक्ष्म र विस्तृत कला कुँदिएको पाइन्छ । ढोका, झ्याल, थाम, निदाल, ढलिन, टुँडाल आदि काठबाट बनेका छन् । काष्ठकलामा भएको मार्मिकताले दरबारको सुन्दरतालाई मात्र बढाएको छैन, पुरातत्वको अनुपम उदाहरण पनि बनेको छ ।
योे दरबार यसका आँखीझ्यालका लागि प्रसिद्ध छ ।सबै यालहरु कलात्मक रुपले खोपिएको बुट्टादार छन् । बिशेष गरी तेस्रो तल्लामा रहेको अघिल्लो पट्टिका झ्यालहरु कलात्मक एवम् मनै लोभ्याउने खालका छन् । चौथो तल्लामा बार्दलीका चारैतिर प्रयोग गरिएका आँखीझ्यालमा कुँदिएमा बुट्टारु अत्यन्तै प्रशंसनिय छन् । पाँचौ तल्लाका झ्यालहरुमा प्रयोग गरिएका काष्ठकलाका नमुना पनि कम सुन्दर छैनन् । छैटौँ तल्लामा बनाइएका झ्यालहरुले दरबारको गरिमालाई अझ बढाएकोछ । यी झ्यालहरुको बिशेषता भनेको भित्रबाट निकै टाढासम्म देखिन्छ तर बाहिरबाट भने केहि पनि देख्न सकिन्न । नुवाकोटलाई आधार शिविर बनाइएकोले यो दरबारको उपयोगिता दुस्मनहरुलाइ निगरानी राख्नका लागि पनि थियो ।
दरबारको छैटौँ तल्लामा रहेको अँध्यारो दलान युद्ध बन्दीहरुलाई थुन्ने खोर अर्थात कालकोठरीको नामले प्रसिद्ध छ । त्यहाँ शत्रुहरुलाई थुन्ने गरिन्थ्यो । सातौँ तल्लाबाट चारैतिरका दृश्यहरु लेक–बेशी, पहाड, गणेश हिमाल, लाङटाङ हिमाल, राहुचुली, ऐतिहासिक सूर्यगढी, त्रिशुली बजार, तादी र त्रिशुलीलगायत धेरै परसम्मका प्राकृतिक मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
ऐतिहासिक तथा राजनितिक महत्व
पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोटमाथि विजय हाँसिल गरेपछि एकिकरण अभियानलाई निरन्तरता दिन नुवाकोटलाई आधार शिविर बनाए र पछि राजधानी नै घोषणा गरे । तात्कालिन अवस्थामा उपत्यकामा मल्ल राजाहरुको दरबार पाँच तलासम्मको हुन्थ्यो । पृथ्वीनारायण शाहले तिनीहरुको घमण्ड तोड्नका पनि लागि मन्दिर शैलीको यो नौतले दरबार बनाएका थिए । यसलाई गृष्मकालिन दरबारको रुपमा प्रयोग गर्ने मनसाय भएकोले १८२२ सालमा नै शेरामा अर्को शीतकालिन शेरा दरबार बनाउन लगाइएको थियो । मल्लहरुको राज्य काठमाडौं उपत्यका एकिकरण भएपछि नेपालको नयाँ इतिहास सुरु भएको हो । करिब २५ बर्षसम्म नुवाकोट राजधानीको रुपमा रह्यो । पृथ्वीनारायण शाहले धेरैजसो दिव्योपदेशहरु यहीँ बसेर दिएका थिए । त्यसैले पनि नेपाली सहित्यको प्रारम्भ नुवाकोटबाटै भएको मानिन्छ ।
रणबहादुर शाहको पालामा पारिवारिक कचिंगलका कारण कान्तिपुरको शासन पाटनबाट रणबहादुरले र नुवाकोटबाट छोरा गीर्वाणले चलाएका थिए । पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाह नुवाकोटमै जन्मेको र उनीबिरुद्ध षडयन्त्र भएपछि कैद गर्दा उनलाई नुवाकोटमै राखिएको थियो । एकिकरण अभियानका क्रममा तनहुँका राजा त्रिविक्रम र किर्तिपुरका वालनरसिंह समेत पनि यही दरवारको कालकोठेरीेमा थुनिएका थिए ।
सन् १७९३ मार्चमा अंग्रेज दूत विलियम कर्कप्याकट्रिकको नेतृत्वमा आएका प्रतिनिधिमण्डलले राजा रणबहादुर र मुख्तियार बहादुर शाह देवीपूजाका लागी नुवाकोट आउँदा यहाँको भ्रमण गरेको उल्लेख छ । राजा गीर्वाणयुद्ध १९७३ सालमा नेपालका लागि बेलायतका प्रथम आवासीय प्रतिनिधि ई. गार्डनरको ओहोदाको प्रमाणपत्र यहि दरबारमा बुझेका थिए ।
पर्यटन विकासका आधार
इतिहासको एउटा कालखण्ड बोकेका नुवाकोटको यो दरवार किताबका खुल्ला पाना जस्तै हो । बिशेष गरी यात्रा, पर्यटन र इतिहासका विद्यार्थीहरुको लागि पनि यो दरवार र यसका वरिपरी रहेका सम्पूर्ण सम्पदा महत्वपूर्ण शैक्षिक स्थल सावित हुन सक्छ । साततले दरबार आफैमा एउटा भ्युटावर एकोले यसलाई भ्युटावरको रुपमा पनि विकास गर्न सकिन्छ ।
नुवाकोट ऐतिहासिक रुपमा जति गौरवशाली छ, त्यत्तिकै वैभवशाली छ प्राकृितक र साँस्कृतिक सम्पदामा पनि । सिन्दुरे जात्रा, लाखेनाच, गाईजात्रा, रामजानकी विवाह, देवी यात्रा, एकादशी मेला, माघे सक्रान्ति मेला, सद्बिउ मेला, गोरु जुधाउने, यात्रा, घाटुनाच, दुप्चेश्वर यात्रा, टाकटुके नाच, सिपाही जात्रा, नाच, देवी नाच आदि यहाँको प्रमुख पर्वहरु हुन् । नुवाकोट दरबार क्षेत्रमा रहेका उत्तिकै ऐतिहासिक तथा पुरातात्विक महत्वसहितको आ–आफ्नै विशेषता बोकेका रङ्गमहल, गारदघर, भैरवीमन्दिर, तलेजु भवानीको मन्दिर, पाटीपौवा, सत्तल र माथि उल्लेखित पर्वहरुसमेत पनि यहाँको पर्यटकिय आकर्षण हुन् ।
हामीलाई इतिहास, प्रकृति सँस्कृतिले दिएका यी सबै सम्पदाहरुको महत्व बुझ्न र सही ढंगले सदुपयोग गर्न सकिरहेका छैनौं । जसरी काठमाडौं उपत्यकाका तिनैवटा शहरहरु कल्चरल टुरका लागि प्रसिद्ध छ, त्यसैगरी नुवाकोट पनि हुन सक्दछ ।
राजधानीसित सिमा जोडिएको नुवाकोटलाई पर्यटकिय गन्तब्यको रुपमा विकास र विस्तार गर्न सकिने सजिला आधार र सम्भावना प्रसस्त छन् । यी सबै सम्पदाहरुलाई हामीले प्रचार–प्रसार एवं संरक्षण गर्न सकेको खण्डमा आन्तरिक तथा बाह्य दुवै खाले पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ ।