आरोहण इतिहासका नयाँ रचनाकार निर्मल पुर्जाको मर्मस्पर्शी भाषण

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीलाई अगाडि राखेर निर्मल पुर्जाले भाषण गरे । भाषणको अन्त्यतिर उनले भनेका थिए, ‘सरी ! खासमा मलाई राम्ररी भाषण दिन आउँदैन ।’ तर, यस्तो बोले, हिमालजस्तै बोले । पढ्नुहोस् । र, गौरव गर्नुहोस्, नेपाली भएकोमा । सम्पादक ।

राती यति जाडो थियो, शब्दले व्याख्या गर्न सक्दैन । टिम मेम्बर साथीहरु कसैले फर्किने पनि सोच गरेका थिए । माइनस ६५ सेल्सियस । यो रुममा मेरा टिम मेम्बरबाहेक कसैले पनि त्यो एक्सपिरेन्स गर्नु भएको छैन होला । हामी क्याम्प ३ बाट गएका थियौं । सम्मिट हुन्छ या हुँदैन ? थाहा थिएन ।

दुख यति थियो कि मैले कसरी भन्ने ? हजुरहरुलाई कसरी एक्सपिरेन्स गराउने ? जब तपाईंलाई हस्पिटलमा कुनै ठुलो अपरेसन गर्नुअगाडि एनेस्थेसिया दिएर बहोस् बनाइन्छ नि, मान्छेलाई होश हुँदैन नि, त्यस्तै खालको एक्सपिरेन्स तपाईं अहिले कल्पना गर्नुस् । तैपनि म लगायत मेरो टीम, हामी सबैको एउटामात्र सपना थियो ।

नेपाल एट थाउजेन्ड मिटर पीकको घर भनिन्छ । इतिहासदेखि, हाम्रो शेर्पा दाजुभाई र विदेशका साथीभाई एट थाउजेन्ड मिटरका ठुला हिमालहरु कसरी चढ्छन् भनेर सबैलाई थाहा छ । तैपनि तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीदेखि यति ठूलो न्युज हामीले अझसम्म गर्न सकेका थिएनौं ।

१४ वटामध्ये ८ वटा हिमाल हाम्रो घरमा छ । तैपनि तेह्रवटा सबै विदेशका साथीहरुले चढे । हो, विदेशका साथीहरुको सरकार बलियो थियो होला । उनीहरुको प्रायोजक बलियो थियो होला । उनीहरुलाई चारैतिरबाट सहयोग आयो होला । तैपनि ‘रियल खेलाडी’ त हामी थियौं नि । हैन ?

खासैमा यो बर्ष केटु जाने मेरो कुनै प्लानै थिएन । तर, न्युज हेर्दा, ४० जनाभन्दा बढी बाहिर देशका क्लाइम्बर साथीहरुले यसलाई जसरी हुन्छ, उनीहरुको देशको नाममा लाने भन्ने कुरा सुनेपछि फटाफट झोलासोला प्याक गरेर हिँडियो पाकिस्तानतिर । किन यो इम्पोर्टेन्ट छ त ? यो समयमा पनि हामीले हाम्रो हक लिन सकेन भने भविष्यमा केही पनि गर्न सक्दैनौं जस्तो म अनि मेरो टीमलाई भयो । के गर्ने हुजुर ? गरिब देशमा जन्म भयो । न त हाम्रो सरकार बलियो छ ? चित्त दुख्छ । न कुनै नेपालमा .. । भन्ने नै हो भने, बाहिरका देशभन्दा हाम्रो देशमा धनी दाजुभाइहरु पनि हुनुहुन्छ । कसैले पनि हाम्लाई सपोर्ट गरेन । मेरा दाजुभाई सबैले आफ्नो गोजीको पैसा झिकेर हामी लाग्यौं । तर, पहिल्यैदेखि भन्छ नि हाम्रो नेपालमा, ‘देशले के दियो भनेर कहिल्यै नसोध्नु, आफुले के दियो भनेर प्रश्न गर्नु ।’ हामी त्यही सिद्धान्तमा हिंड्यौं ।

भित्र मनदेखि टीमको सबैको हड्डीमा एउटा के थियो भने, यो नेपालको लागि लिनुपर्छ । नेपालको लागि गर्नुपर्छ भनेपछि हाम्रो सबै टीम मेम्बरको एउटै लक्ष्य, एउटै इच्छा भयो, ज्यानको बाजी लाएर चढ्ने । मान्छेलाई सधैं लोभ हुन्छ । मान्छे सधैं नामको भोगी हुन्छ । यो कुरा भनेको मैले तपाईहरुलाई एक्जाम्पल दिँदा ओलम्पिक वल्र्डकप जितेभन्दा ठुलो हो । न्युजमात्रै हेर्नु हुन्छ भने, मोर द्यान फोर बिलियन पिपुल हेरको छ । कसले गर्यो, नेपालले गर्यो ।

समिटको अगाडि हामी दश मिटर रोकियौं । किनकी, एक्सपिडिसन लिडरको मात्र क्रेडिट होइन यो । सबै दाजुभाई ३५ किलो बढी भारी बोकेर त्यस्तो चीसो हिउँमा मरेर गरेपछि सबै एकैचोटि चढ्दा के हुन्छ भने विश्वमा एउटा महान सन्देश जान्छ, ‘वी युनाइट वी कन्क्युर एन्ड वी डिभाइड वी फल ।’ देश गरिव भए पनि मन ठूलो छ । सोच ठूलो छ । त्यस्तो खालको एउटा पावरफुल पोजेटिभ मेसेज हामी विश्वभर पुराउन सफल भयौं । त्यसले गर्दा यो मैले भनेजस्तै ‘दि इज अ ह्युज इफोर्ट फ्रम आउर टीम मेम्बर्स् ।’

मेरो टी मेम्बर्स् । एक पटक सब उठ्दिनुस् । यो इतिहास अब कहिल्यै दोहोरिदैन । नेपाल सरकार, प्राइममिनिस्टर सर, हामी तपाईंको बच्चा हौं । तपाईं हाम्रो अभिभावक । तपाईंका छोराहरुले नेपाललाई विश्वमा छाती फुलाएर, ज्यान ठोकेर परिचित गराएर आएको छ ।

सरी, खासमा मलाई राम्ररी भाषण दिन आउँदैन । मैले मनदेखि कोशिस गरेँ । समिटमा हामीले नेपालको झन्डा लगेका थियौं । त्यो झन्डा हाम्रो टीमको तर्फबाट देशको लागि प्राइममिनिस्टरलाई हस्तान्तरण गर्न चाहन्छौं ।

(पुर्जासहित १० नेपाली आरोही मिग्मा डेभिड शेर्पा, मिङ्मा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमाचिरी शेर्पा, दावाछिरी शेर्पा, किलु शेर्पा, मिङमा जी, दावातेन्जिङ शेर्पा र सोना शेर्पा टोलीले केटू हिमाल आरोहण गरेकँ हुन् । नेपाली आरोही समूह यही ३ माघ राती १ बजे पाकिस्तान र चीनको सिमानामा अवस्थित दोस्रो अग्लो शिखर केटूमा पुगेर जाडो याममा त्यहाँ पुग्ने पहिलो आरोहण रेकर्ड कायम गरेका छन् । चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराइएको थियो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button