मुर्दा लान बनाएको सडक !

लघुकथाः गोली जस्तो बोली

देवकी केसी

गाउँमा बेखमालेको बुहारी छत्रमाया असाध्यै चोथाले थिइन् । उनी कुनै न कुनै निहुँ झिकेर सधैभरी छिमेकीहरुसित झगडा गरिरहन्थिन् । यही कारण उनको गाउँलेहरुसित बोलचाल नै बन्द भएको थियो ।

गाउँमा विकासको लहर अलिअलि चल्न थालेको थियो । गाउँमा सडक खन्ने काम हुँदै थियो । यहि क्रममा छत्रमायाको थोरै जमिन पनि सडकमा परेको थियो । डोजर लगाएर सडक खन्ने काम भैरहेको थियो ।

‘मेरो जमिनमा सडक खनेर मेरो जमिनको सत्यानाश गर्ने ? मलाई चाहिन्न सडक । मेरो जमिनबाट डोजर हटाओ । मुर्दा लान बनाएको सडक’ भन्दै छत्रमाया जथाभावी शब्द भन्दै फलाक्न थालिन् । उनको आदत खराब छ भन्ने सबैलाई थाहा थियो । सबै जना उनीसित मुख लाग्नुभन्दा नबोल्नु वेश ठान्दै मौन रहे ।

सात दिनपछि बेखमाले अचानक मुटु दुखेर मर्यो । बेखमालेको अन्तिम संस्कार गर्ने सबै गाउँले जम्मा भए । सबैले खासखुस गर्दै थिए । बेखमलेको बुहारी छत्रमायाको बोली त गोली जस्तो पो रैछ । एक साताअघि सडक खन्दा मुर्दा लान खनेको भनेर सरापेको थिइ, एक सातामै ससुरा बेखमले नै अचानक मर्यो ।

संयोग हो कि सत्य हो, छत्रमायाको बोली हुन पनि गोली जस्तै भो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button