गणतन्त्रमा बुढेसकाल

कथा

सागर ‘मणि’ थापा
चोभार ओपी, कीर्तिपुर–७

परिवार नम्बर १

मास्टर बाजेकी नातिनी-बुहारी ताराले लाजै नमानी भनिन्, ‘मेरा सबै लुगाहरू झिक्दिस्योस् है हजुरबुवा । पानीले भिज्यो भने त हजुरलाई फेरि…!’

त्यसरी परोक्षरूपको चेताउनी सुनेका मास्टर बाजेले केही पनि जवाफ दिन सक्नुभएन । ताराका ‘सबै लुगाभित्र’ भित्री वस्त्रहरू पनि पर्दछन् । कस्तो लाज नामनेकी होली !

बाजे–ससुरालाई काम अह्रराएर नातिनी–बुहारी कार हाँकेर पलभरमै अलप भइन् । हतार भयो होला नि, पसल खोल्न । खानदानमै ताराले नौलो ‘बिजनेस’ गरेकी छिन् । उही क्या त, ‘फेशन शप’ । त्यसलाई आधुनिक भाषामा ‘बुटिक’ भन्दारहेछन् ।

ममीले कारमा नलगिदिएपछि क्रिष्टूलाई स्कुल पु-याउने अभिभारा पनि जिजुबाजेकै काँधमा आइप¥यो । मास्टर बाजे एकासी वर्षको हुनुहुन्छ । यो उमेरमा पनि उहाँको जोश र जाँगर घटेको देखिँदैन । उहाँको खास नाम त श्रीधर बाजे थियो । तर सबैले सम्मानपूर्वक मास्टर बाजे सम्बोधन गर्दै आएका छन् ।

मास्टर बाजेको एउटै मात्र नाति । ऊ परदेशमा छ । नामचाहिँ मनिल ।

परिवार नम्बर २

क्रिष्टूलाई स्कुल पु-याएर फर्किनुभएका मास्टर बाजे पसलनी आमाको पसलमा पस्नुभयो । पसलनी आमाको खास नाम राधा हो । पसल थापेर बस्न थालेपछि उहाँलाई पसलनी आमा भन्न थालियो ।

मास्टर बाजे गुनासो सुनाउनु हुन्छ, ‘लौ हेर त पसलनी आमा । आज त मेरी नातिनी–बुहारीले ‘पेन्टी र ‘ब्रा’ समेत उठइदिस्योस् भनी गाँट्ठे !’

‘गल्ती हजुरकै हो मास्टर बाजे !’ सत्चालीस वर्षीया पसलनी आमाले टिप्पणी गर्नुभयो, ‘आफ्नो नामको श्रीसम्पत्ति नाति र नातिनी–बुहारीको नाममा गरिदिनुभयो । त्यही भएर हजुरलाई हेपेकी हो त्यसले । देशमा गणतन्त्र आएको छ भन्छन् । बुढेसकालमा यस्तै देखाउन त होला ।’

पसलनी आमाको परिवारमा अरू कोही पनि छैन । एक मात्र छोरी छिन्– ऋतु । ती आमाछोरीको निजी निवास छैन । भाडामा बस्छन् । पसल पनि भाडामै हो ।

ऋतुको विवाह गर्ने उमेर घर्किन लागिसकेको छ । उनी बत्तीस वर्षकी भइन् । उनका लागि धेरैतिरबाट केटाको कुरा पनि नआएको होइन । तर ऋतुलाई विवाह गर्न मन छैन । आमालाई एकलै छाड्न सक्तिनन् ।

तिनै ऋतु मोटरसाइकलमा सवार भएर पसलमा आइपुगिन् । उनलाई देख्नासाथ मास्टर बाजे उठेर हिँड्नै लाग्नुभयो । ऋतुले रोकिन् र घोचपेच गरिहालिन्, ‘हैन हो मास्टर बाजे । आमासँग गफ फाँडेर बसिरहनुभएको मान्छे । छोरीको आगमन भएको देख्नासाथै छड्के लागिहाल्नुपर्छ र ? गणतन्त्रमा यस्तो हुन न नपर्ने हो ।’

‘तैँले के भन्न खोजेकी ऋतु ?’ हत्त न पत्त आमाले टिप्पणी गरिहाल्नुभयो, ‘तँ पनि त एक दिन बूढी हुन्छेस् नि । हुन्छेस् के, हुन लागिसकिस् । सम्मानित व्यक्तिप्रति यसरी पाल्छी कुराले अपमान गरेको त राम्रो भएन है । गणतन्त्र त तँलाई पो आएको छ नि ! बरु सिधै भन् न । बाजेले अलिकति मदत त गरिहाल्नुहुन्छ नि ।’

मास्टर बाजे अघि सरेर भन्नुहुन्छ, ‘भो भो पसलनी आमा । यति सानो कुरामा पनि किन विवाद गरिरहनु । ऋतु मेरी नातिनी सरहकी केटी हो । मनमा पाप छैन । त्यही भएर यसले जे भने पनि मैले मेरो व्यक्तित्वमा ह्रास आएको ठान्दिनँ । गणतन्त्रमा यति त सहनै पर्छ नि पसलनी आमा !’

त्यति भनिसकेपछि मास्टर बाजेले बाइकबाट तरकारीका झोलाहरू निकाल्न सहयोग गर्नुभयो । पसलनी आमाले मास्टर बाजेलाई एउटा ‘फ्रुटी’ झिकेर दिनुभयो । आफ्नी आमाले मास्टर बाजेप्रति दर्शाएकी माया देखेर ऋतुले मास्टर बाजेको ‘गणतान्त्रिक प्रवक्ता’ बनाइदिइन् ।

आमालाई उक्त कुरा अलि मन परेन र छोरीको बानीको आलोचना गर्नुभयो । यद्यपि, मास्टर बाजेले पिउनुभएन । पनातिनीलाई भरे स्कुलबाट फर्किएपछि दिनका लागि राख्नुभयो । मास्टर बाजेलाई केही सामानहरू चाहिएको रहेछ । तयार पारिदिन आग्रह गर्नुभयो ।

मास्टर बाजेले सबै झोलाहरू बोक्न सक्नुभएन । सामान पु¥याइदिने बहानामा पसलनी आमा पनि मास्टर बाजेसँगै हिँड्नुभयो । त्यही भएर ऋतुले आमालाई सम्झाएझैं गरिन्, ‘मास्टर बाजेको घरमा धेरै धाउने नगर है आमा ! फेरि मार्ली नि ताराले ! गणतन्त्रमा ताराको चुरीफुरी निकै बढेको छ !’

‘ए हो ? ताराले मार्छे मलाई ?’ आमाले व्यङ्ग्यात्मक सवाल गर्दै भन्नुभयो, ‘त्यसोभए यसो गर् छोरी । सबै सामान तैँले नै बाइकमा पु-याइदे । गणतन्त्रमा यति सहयोग गर्दा केही बिग्रिँदैन छोरी ।’

ताराले भनिन्, ‘सक्तिनँ म । भरे ताराले कारमा राखेर लैजान्छे ।’

आमा मास्टर बाजेको घरमा नगई नछाड्ने भएकीले छोरीले धेरै हिमचिम बढाउन नहुने कुरा गरिन् । तर त्यसको ठीक विपरीत आमाको भावना व्यक्त भयो । उहाँलाई पनि त गणतन्त्र लागेको छ ! मास्टर बाजेलाई चिया खुवाएर चाँडै फर्किने वचन दिनुभयो । ऋतु हेरेको हे-यै भइन् ।

परिवार नम्बर ३

अपरान्हको चार बजेतिर ताराको कार एक मोटर कारखानाभित्र प्रवेश गर्छ । त्यहाँ मिस्त्रीहरू काम गरिराखेका हुन्छन् । तारा चालक सिटबाटै हुकुम चलाउँछिन्, ‘ए दाइ ! यता सुन्नूस् त ।’

‘अँ, अँ । सुनिराखेका छौँ । भन्नूस् त ।’ मोटरको इन्जिनतिर काम गरिरहेका हेड मिस्त्रीले तारातिर नहेरीकनै ताराकै लवजमा भनिदिए । उनको त्यो शैली तारालाई मन परेन । मिस्त्रीलाई पनि गणतन्त्रको हावाले छोएको कुरा गरिन् । त्यसो त उनले पनि गणतान्त्रिक पारा निकालिन् । तात्तो न छारोसँग विवाद गरेर समय वरवाद पारिदिइन् ।

ताराले हर्न बजाएर पूरै कारखानालाई ध्वनि प्रदूषणमय बनाइदिइन् । त्यस्तैमा त्यहाँ एक ज्येष्ठ नागरिक चढ्नुभएको मोटर आइपुग्छ । उहाँको खास नाम हरिबोल हो । उमेर नब्बे वर्ष । ठ्याक्कै पचास जना सदस्यहरूको अभिभावक हुनुहुन्छ उहाँ ।

उहाँलाई सबैले सम्मान गरेर बोलाउने नाम हो– ‘गाडीबा ।’ गाडीबाको जोश र जाँगर देखेर मानिसहरूलाई हौसला मिल्छ । उत्पे्ररणा प्राप्त हुन्छ ।

गाडीबा मोटरबाट ओर्लिनुभयो । ताराले हर्न थिच्न छाडिन् । गाडीबा सोध्नुहुन्छ, ‘ए तारा ! मैले त श्रीधरलाई नभेटेको पनि धेरै भयो । के छ उनको हालखबर ?’

‘गाडीबाको कुरा सुन्दा पनि छक्कै पर्छु म त !’ तारा झिँझिइन् र भनिन्, ‘मचाहिँ गाडी खराब भएर ‘चेक’ गराउन आइरहेकी छु । तर हजुरचाहिँ सोध्नुहुन्छ, मेरो बूढाससुराको बारेमा । हजुरलाई पनि गणतन्त्रको हावाले छोयो कि क्या हो गाडीबा ? मास्टर बूढालाई मोज छ नि । काम केही गर्न पर्दैन ।’

‘मलाई सब कुरा थाहा छ तारा !’ गाडीबाले अलि कडा स्वरमा भन्नुभयो, ‘तँलाई म पहिलो र अन्तिम चेताउनी दिँदैछु नातिनी–बुहारी ! श्रीधरलाई तैँले दुःख दिएकी र अपमान गरेकी चाल पाएँ भने राम्रो हुने छैन । गणतन्त्र त तँलाई पो आएको छ रे श्रीधरको घरमा !’

ताराको मुख अँध्यारो भयो ।

गाडीबाले ताराको समस्या सल्टाउन आफ्नो छोरा रणकौशललाई जिम्मा दिनुभयो । त्यसपछि उहाँ सरासर आफ्नो अफिसभित्र पस्नुभयो । तर एक मिनेट पनि विश्राम लिन नपाउँदै मोबाइल फोनमा एकजना मन्त्रीको ‘कल’ आयो ।

मन्त्रीको निजी गाडी बिग्रेको एक महिना भैसकेको रहेछ । तर कुनै पनि मिस्त्रीले ठीक गर्न सकेका रहेनछन् । गणतान्त्रिक मन्त्री हुन् । काम त गरिदिनै प-यो । त्यही भएर गाडीबा हेड मिस्त्रीलाई लिएर मन्त्रीको घरतिर रमाना हुनुभयो ।

यता रणकौशलले तारालाई केही दिनका लागि एउटा गाडी दिए । ताराले गाडी लिएर गइन् । उनले पसलनी आमाको पसलमा गाडी नरोकी सुखै पाइनन् ।

ऋतुले भनिन्, ‘मास्टर बाजेले सामान छाडेर जानुभएको छ । तिमीले गाडीमा हालेर लैजाऊ ।’

‘अरूको घरसम्म त बाइकबाट ‘डेलिभरि’ गरिदिन्छ्यौ नि । मेरो घरसम्म पु-याइदिनचाहिँ तिम्रो बाइकमा पेट्रोल सकिन्छ हैन ऋतु ? खुब गणतन्त्र लागेको छ हगि तिमीलाई ?’ ताराले नमिठोसँग भनिन् ।

ऋतुलाई रिस उठिहाल्यो र झपारिन्, ‘मसँग यस्तो खुत्तेको कुरा नगर् है तारा ! हैन, गाडीले बोकेर लैजाने कुरामा किन नचाहिने ‘डिसकस’ गर्न खोज्छेस् हँ तँ ? ए, कुरा बुझैं । नयाँ कार रहेछ र पो ! खास गणतन्त्र त तँलाई पो लागेको छ तारा !’

‘अँ, अँ ! तेरो मास्टर बाजेले ‘पेन्सन’ वापतको पैसा टन्न राख्न दिएका छन् र महिनैपिच्छे मैले गाडी फेर्दै चढ्ने गरेकी छु मैले !’ फेरि व्यङ्ग्यवाण प्रहार भयो, ऋतुप्रति । ऋतुलाई साफ झोक चल्यो र सिटमै झोलाहरू राखिदिइन् ।

तारालाई जसरी पनि आफू माथि पर्नै पथ्र्यो । त्यही भएर केही दिनअघि लगेकी पीठोको कुरा निकालिन् । उक्त पीठो ‘डेट एक्सपायरर्ड’ परेछ । आज लगेको कुनै सामानमा ‘कैफियत’ भेटियो भने ऋतुको टाउकोमा ल्याएर खन्याइदिन्छिन् रे !

ऋतु पनि के कम । तारालाई उडाइदिइन्, ‘हुज फादर ह्वाट भाइटामिन ? कस्को बाबुको के तागत ? गणतन्त्रमा जसले जे पनि गर्न पाइन्छ ?’

परिवार नम्बर ४

‘जे भए पनि तिमीले घरचाहिँ छाडेर आउन नहुने विजय ।’ गाउँले साथी विजय बाको कुरा सुनेपछि मास्टर बाजेले आफ्नो तर्क दिनुभयो, ‘घरको अभिभावकले नै यसरी लत्तो छाडेर हिँडेपछि छोराबुहारीहरूले मनमानी गरिहाल्छन् नि मित्र । उनीहरूलाई सम्झाएर, बुझाएर राख्नुपथ्र्यो ।’

विजय बा त्रियासी वर्षका हुनुहुन्छ । उहाँलाई गाउँमा ‘किसान बा’ भनेर सम्मान गर्दछन् । उहाँ एक जमानामा सरकारी जे.टी.ए.हुनुहुन्थ्यो । उहाँका जग्गा–जमीन प्रशस्तै छन् ।

किसान बा चित्त दुखाउँदै भन्नुहुन्छ, ‘तिमीले नै यसो भन्छौ भने त म बूढोको के लाग्छ र श्रीधर । तिमीले पनि मेरो घरको समस्यै नबुझी मलाई दोष देखायौ । जे भए पनि तिमी त मेरा बालसखा हौ नि । त्यही भएर दुई रात भए पनि यहाँ बसूँ भनेर आएको । तर तिमीलाई पनि गणतान्त्रिक हावाले छोइसकेछ !’

‘किन दुई रातको बासको मात्र कुरा गर्नुहुन्छ किसान बा ? बस्नूस् न निकै दिन ।’ एक्कासि आइपुगेकी ताराले अपमानित हुनेगरी भनिन््, ‘एक वर्र्षै बसे पनि भो नि । आखिर यो घर र धर्मशालामा के नै फरक छ र ! गाउँका मान्छेहरू आएर बस्ने यही मेरो घर त छ । हजुर पनि आउनुभएकै हो । बस्नु भएकै हो । यसपालि पनि बस्नूस् । गणतन्त्रको बुढेसकाल हो ।’

नातिनी–बुहारीलाई देख्नासाथ मास्टर बाजे जुरूक्क उठेर हिँड्नुभयो । ताराले गाडी बाहिरै छाडिछन् । मास्टर बाले भित्र ल्याएर ‘ग्यारेज’ मा राखिदिनुभयो । उहाँले सुकाएका लुगाहरू बल्ल ल्याएर ताराको कोठाभित्र पस्नुभयो ।

त्यतिन्जेसम्ममा ताराले ‘किचेन’ निरीक्षण गरिसकेकी रहिछन् । उनलाई थाहा भैहाल्यो । त्यही भएर अपमानित हुने ढङ्गले भनिन्, ‘अब यसो गरिस्योस् हजुरबा ! पसलनी आमालाई सधैँका लागि यो घरमा बोलाइस्योस् । त्यसो भयो भने हजुरबालाई हाइसन्चो हुन्छ ।’

ताराको वचन सुनेर किसान बा पनि मर्माहत हुनुभयो । यद्यपि, उहाँलाई ताराको स्वभावबारे राम्रोसँग थाहा छ । त्यही भएर केही बोल्नुभएन । के बोल्नु ? उहाँ आफ्नै परिवारको व्यवहारले वाक्क भई घर छाडेर यहाँ आइपुग्नुभएको छ ।

किसान बाका तीन जना छोरा छन् । छोरी एउटी मात्र । जेठो छोरा पहिले नै छुट्टिएर बसेका हुन् । नाम हो, राजन । उनको पनि राम्रो बन्दोबस्त छ । तर अंशको नाममा तुनाको धरो पनि पाएका छैनन् ।

माहिला र कान्छाको परिवार सगोलमै छन् । परिवार ठूलो भएको र वैयक्तिक स्वतन्त्रताको मागको कारण किसान बाले छोराहरूलाई अंश भाग लगाएर छुट्याइदिन खोज्नुभएको हो । तर जग्गाको किचलोले गर्दा छोराहरूको मत मिलेको छैन ।

फेरि चनमती आमा पनि त्यस्तै हुनुहुन्छ । राम्रो भूमिका खेल्नुभएको छैन । जेठालाई अंश दिन पर्दैन रे ! उहाँलाई पनि गणतन्त्रको हावाले राम्रैसँग छोएको छ !

चनमती आमाकै कारण किसान बा घर छाडेर हिँड्नुभएको हो । आफू अप्ठेरोमा परेको बेलामा जसले पनि हेप्छ । ताराले पनि हेपिन् । मास्टर बाजेलाई नमज्जा लाग्यो र चित्त दुखाउँदै भन्नुभयो, ‘यो घर मन्दिर हो नातिनी । मन्दिरमा मानिसहरू शान्तिका लागि धाउँछन् ।’

बाजे–ससुराको आदर्शको भारीले नातिनी तारालाई थिचिरहेको थियो । त्यही भएर नमिठो किसिमले जवाफ दिइन्, ‘स्कुल पनि त एउटा मन्दिरै हो नि हजुरबा । तर चालीस–चालीस वर्ष स्कुलमा पढाइस्यो । हेडमास्टर पनि बनिस्यो । तर पेन्सनको नाममा सुको आउँदैन ! अस्थायीमै नोकरी चेट् !’

किसान बा तर्क दिनुहुन्छ, ‘निःस्वार्थ भावले शिक्षामा गरेको योगदानलाई सरकारले दिने ‘निवृत्तभरण’ सँग तुलना गर्न हुन्न नातिनी । फेरि नोकरी अस्थायी हुनु श्रीधरको दोष पनि त हैन । पेन्सन नपाए पनि सरकारले दिएको सा.सु.भत्ता त तिम्रै खातामा जम्मा हुन्छ भनेको सुनेको छु ।’

ताराले अझै अपमान गरिन्, ‘आफ्नो साथीको ‘अन्धोभक्त’ हुने कि तथ्य कुराको ‘सपोर्ट’ गर्ने किसान बा ? सोधिस्योस् न हजुरको मित्रलाई, ‘प्रोफेसर’ हुन किन बुद्धि नपुगेको भनेर ।’

रातको खाना खाइसकिएको छ । बन्द कोठामा मास्टर बाजे र किसान बाको भलाकुसारी चलिरहेको छ । त्यसै क्रममा किसान बा सोध्नुहुन्छ, ‘हैन हो श्रीधर । तिम्रो नाति नेपाल फर्किँदैन रे ? कति पैसा कमाउन परेको हँ त्यसलाई ?’

‘नातिले कमाएर के गर्नु विजय ? जत्ति पैसा भए पनि उसकी बूढीलाई नै पुगेको छैन । व्यापारको आमदानी के गरेर सक्छे, त्यो म जान्दिनँ ।’

दिक्क मान्दै मास्टर बाजे वेदना पोख्नुहुन्छ, ‘पाँच वर्षको भिसा लागेको थियो । तर फर्किएन । राहदानीको पनि म्याद सक्किसक्यो । रकम पठाएकै छ । उसकी श्रीमतीले उडाउन पाएकी नै छ । जे सुकै गरून् ।’

किसान बाले मास्टर बाजेलाई एउटा उपाय सुझाउनुभयो । देवघाट र चतराधामको नाम लिनुभयो । त्यहाँ बुढेसकाल आरामले कट्छ । त्यहीँ बस्न गए जाती हुन्छ ।

अहँ, मास्टर बाजे यो घर छाडेर कतै जानेवाला हुनुहुन्न । उखानै छ नि, साँवाभन्दा ब्याजको माया । त्योभन्दा बढी माया, स्याजको ।

अर्को दिन

बिहान मास्टर बाजे ताराको कोठामा पुग्नुहुन्छ । तारालाई सधैँ ‘बेड टी’ चाहिन्छ । बाजे–ससुरा नै हुनुहुन्छ, नातिनी–बुहारीको सेवा पु-याउने सेवक ।

चियाको कप हातमा लिँदै ताराले वाइयात कुरा गरिन्, ‘अबचाहिँ म पर्खेर बस्न सक्तिनँ है हजुरबा ! एउटा छोराको रहर मलाई पनि त छ नि । हजुरको नातिको भर भएन । म त एउटा ‘ब्वाइ फ्रेण्ड’ बनाएर पनाति जन्माइदिन्छु नि हजुरबा ।’

मास्टर बाजे केही बोल्नुभएन । किसान बालाई हिजै बेलुका नमज्जा लागेको थियो । त्यही भएर झोला बोकी त्यो घरबाट निस्केर हिँड्नुभयो । उहाँ सडकको पेटीबाट हिँड्दै हुनुहुन्थ्यो । एउटा मोटर नजीकै आएर घ्याच्च रोकियो । मोटरभित्र गाडीबा हुनुहुँदो रहेछ ।

उहाँले चिनेर बोलाइहाल्नुभयो, ‘कता लाग्यौ हो विजय ? आऊ, मेरो मोटरमा बस ।’

किसान बा मोटरभित्र बस्नुभयो । चालकले गाडी अगाडि बढाए ।

किसान बाले प्रशन्न मुद्रामा भन्नुभयो, ‘वास्तवमा म तिम्रै घरतिर जान हिँडेको थिएँ हरिबोल । अँ, साँच्चै ! आज तिम्रो ‘ह्याप्पी बर्थ डे’ हगि ? ल, मेरो तर्पmबाट पनि मुरी मुरी हार्दिक बधाई छ ।’

दुई बाहरूको हात मिल्यो । आपसमा पारिवारिक कुराकानीहरू पनि भए । गाडीबालाई साथीभाइहरूको दुःख देख्दा निकै चिन्ता लाग्छ । मास्टर बाजे र किसान बालाई धेरै माया गर्नुहुन्छ । उहाँले किसान बालाई घर फर्केर अंशवण्डा गरिदिन सुझाव दिनुभयो ।

साँझको कार्यक्रम

सुविधायुक्त पक्की भवनको बाहिरी ढोकामाथि ठूल्ठूला अक्षरमा लेखिएको छ– ‘ज्येष्ठ नागरिक मिलन केन्द्र ।’

भवनको परिसरमा टाँगिएको त्रिपालमुनि गाडीबाको ‘बर्थ डे सेलिब्रेसन’ भइराखेको छ । मञ्चभरि मास्टर बाजे, किसान बा, पसलनी आमालगायतका ज्येष्ठ नागरिकहरू हुनुहुन्छ ।

मञ्चको तल तीन पुस्ताका पाहुनाहरू बसेका छन् । सामूहिक स्वरमा ‘ह्याप्पी बर्थ डे टु यु…’ गाएइपछि लामो थपडी बज्छ ।

गाडीबा कुनै भूमिकाविना बोल्न थाल्नुभयो, ‘यो भवन मैले मजस्तै बूढाबूढीहरूको सामूहिक भेटघाट, आराम, मनोरञ्जन आदि सुखका खातिर निर्माण गरेको हुँ । यसमा सरकारी निकायको एक रूपैयाँ दाम पनि परेको छैन । गणतन्त्र आयो भन्दैमा सबै चीजको लागि सरकारको मुख ताक्नु राम्रो होइन ।’

त्यति बोलिसकेपछि गाडीबाले बत्ती निभाइदिनुभयो । चारैतिर अँध्यारो छाउनासाथ स्कुल, कलेज पढ्ने केटाकेटीहरू कराउन थाले । करिब आधा मिनेटपछि फेरि विद्युत् आपूर्ति सुचारू गरियो ।

गाडीबा अगाडि बताउनुहुन्छ, ‘हेर केटाकेटीहरू, तिमीहरूमा धैर्यता भन्ने कुरो अलिकति पनि छैन ! तिमीहरू जानिराख कि, हामी भनेका ज्ञानका ज्योति हौँ । सीप, अनुभव, योग्यता र धैर्यताले हामीलाई यति लामो जीवन दिएको हो ।’

गाडीबाले अन्तिममा भन्नुभयो, ‘गाडीको बारेमा मजतिको अनुभवी र पोख्त व्यक्ति यो सहरमै छैन । त्यसैगरी यो मञ्चमा बसिरहनुभएका बाजे, बज्यैहरू पनि कुनै न कुनै विषयमा निपूर्ण हुनुहुन्छ । मलाई थाहा छ, यहाँ बसिरहेका कतिपय छोरा, नातिहरूले घरका बाजे, बज्यैहरूलाई हेपेका छन् । अन्याय गरेका छन् । कस्सैलाई नआएको गणतन्त्र तिनलाई आएको छ ! सरकारले दिने गरेको सा.सु.भत्तासमेत खाइदिने गरेका छन् । आइन्दा यस्तो नगर्नू । नत्र राम्रो हुने छैन ।’

गाडीबाको मन्तव्य सकियो । सबैले भोज खाए र आ–आफ्नो घरतिर लागे । किसान बा पनि ‘नाइट बस’ मा घर फर्किनका लागि ट्याक्सी लिएर बसपार्कतिर लाग्नुभयो ।

गाडीबाले भन्नुभएका कुराहरू सामाजिक व्यवहारमा लागू हुन थाले । ताराले ‘ट्युसन मास्टर’ राख्न छाडिन् । बल्ल उनले मास्टर बाजेको योग्यता र क्षमता बुझिछन् ।

एकदिन साँझपख ताराले मास्टर बाजेको हातमा एउटा ‘पार्सल’ थमाइदिइन् । मास्टर बाजेले खोलेर हेर्नुभयो । नातिनी–बुहारी पनि हेरिरहेकी थिइन् । एउटा दामी स्वेटर रहेछ । मास्टर बाजेले लगाएर हेर्नुभयो । ठ्याक्कै मिल्यो ।

मास्टर बाजेको जिज्ञासा थियो, ‘कस्ले पठाएछ यो ?’

उहाँको सवालको जवाफ पनि मिलिहाल्यो । त्यसमा एउटा खाम पनि रहेछ । उहाँले पत्र पढ्नुभयो । पढ्दापढ्दै उहाँ पुलकित हुनुभयो । तारा पनि छक्क परिन् ! त्यो पत्र र सामान पठाउने त उहाँकै चेलो रहेछ ।

उक्त पत्र पढिसकेपछि मास्टर बाजेले खामभित्र फेरि हात हाल्नुभयो र एउटा चेक प्राप्त गर्नुभयो । उक्त चेकमा भरेको रकम देखेर उहाँलाई शङ्का लाग्यो । ताराका आँखा पनि तन्किरहेका छन् ! पत्रको पुछारमा दिइएको मोबाइल नम्बरमा मास्टर बाजेले फोन गर्नुभयो ।

उताबाट चेलोको स्वर आयो, ‘प्रणाम गुरुवर ! मैले पठाएको सामान हजुरको हातमा परेछ । खुसी लाग्यो । आशा गर्दछु, त्यो स्वेटर गुरुवरलाई मन प¥यो होला । ठीक पनि भयो होला । चेकचाहिँ हजुरको बैँक-खातामा जम्मा गर्नुहोला है गुरुवर ?’

मास्टर बाजे भन्नुहुन्छ, ‘धन्यबाद सङ्गम बाबु । जाडो महिनाभरि अब म यही स्वेटर लगाउँछु । किनभने यसमा बाबुको माया पनि उनिएको छ । तर एउटा कुरामा मलाई दुविधा भयो । मलाई पठाएको चेकमा त एउटा शून्य बढी भएजस्तो लाग्यो ! सायद सट्टापट्टा प-यो कि ?’

फेरि चेलो बताउँछ, ‘हैन गुरुवर । अक्षरमा पनि लेखेको छु नि । मेरो तर्फबाट हजुरलाई ‘सानो भेट’ पठाएको हुँ । हजुरले ‘गुरु दक्षिणा’ सम्झिएर ग्रहण गरिदिनुभए आभारी हुने थिएँ ।’

चेलोले बोल्दाबोल्दै लाइन काटियो ।

‘मेरो चेलोको मप्रति यत्रो अनुकम्पा !’ मास्टर बाजेका दुवै आँखाबाट तररर्र आँसु चुहियो । स्वाभाविक थियो, करिब तीस वर्ष नभेटिएको, नदेखिएको चेलोको सम्मानबाट मास्टर बाजे ज्यादै भावुक हुनुभयो ।

ताराले आँसु खसाउँदै बाजेससुराको गोडा छोएर भनिन्, ‘मलाई माफ गरिदिनूस् हजुरबा । मैले हजुरलाई धेरै नै अपमान गरेँ । धेरै नै सताएँ । मलाई सजाय दिनूस् हजुरबा । मलाई…।’

हजुरबाले सम्झाउनुभयो, ‘धेत् ! नातिनी भएर गोडा छुन हुन्न नि ? आफ्नो गल्तीको लागि प्रायश्चित ग¥यौ । माफी माग्यौ । सम्झ, यही सजाय भयो । ल ल । आँसु पूछ नातिनी । बरु मलाई एक कप मीठो कफी बनाएर ल्याइदेऊ न, हस् ?’

‘हस् हजुरबा ।’ ताराको मन हलुका भयो । उनी तुरून्तै भान्छातिर लागिन् ।

अर्को दिन

मास्टर बाजेले बैँकको काउन्टरमा चेक साट्न लाग्दा कर्मचारी युवतीले लिन मानिनन् । तब उहाँ सिधै म्यानेजरको कार्यकक्षमा पुग्नुभयो ।

म्यानेजरले हातमा चेक लिएर सोधे, ‘चेकमा कसरी यस्तो दाग लाग्यो बा ? चेकलाई यसरी जथाभावी गर्न हुन्न नि त । रकम पनि पचास हजार रहेछ !’

मास्टर बाजेले जवाफ दिनुभयो, ‘यो फोहर हैन सर । मेरो आँसुको दाग हो ।’

जवाफ सुनेपछि म्यानेजरलाई अचम्म लाग्यो ! उनको मनमा जिज्ञासाको पर्खाल उभियो । जब मास्टर बाजेले खास कुरा बताउनुभयो, तब म्यानेजर पनि नतमस्तक भए । उनले हरियो मसीले चेकलाई तुरुन्तै सदर गरिदिए ।

मास्टर बाजे अचानक भावुक हुनुभयो र उहाँका आँखाबाट उसैगरी आँसु तररर्र झरे । उक्त आँसुले टेवलको फाइल भिज्यो । म्यानेजरले केही भनेनन् । सम्मानपूर्व नमस्कार गरे । मास्टर बाजेले नमस्कार फर्काउनुभयो र लामो लामो फड्का मार्दै काउन्टरतिर प्रस्थान गर्नुभयो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button