जहाँ भात नै तीजको दर

प्रतिभा सुवेदी

पाटमारा गाउँमा ५ दिन बसेर हामी डाँडाकोट गाउँ आयौं । त्यहाँ धान रोपाई गर्ने जस्तो जमिन थिएन । भिरालो डाँडामात्र थियो । नाम पनि त्यसैले डाँडाकोट रहेछ । त्यहाँको मुख्य वाली गौ, जौ र आलु । त्यो गाउँमा जम्मा ८४ घरधुरी थिए । खेतीबाट बर्षमा २ महिना मात्र खान पुग्ने रहेछ ।

त्यसताका जुम्ला बजारमा अस्पताल बन्दै गरेको थियो । त्यसैले त्यस गाउँमा मनिसहरु त्यहाँ ढुंगा बोक्ने काम गर्दैथिए । त्यहाँ महिलाहरुले कथित् ठुलो जातले थिचोमिचो गर्ने र पुरुषहरुले मादक पदार्थ रक्सी पिएर दुःख दिने कुराहरु व्यक्त गरे । त्यो ठाउँ पटमारा गाविसभन्दा रुग्ण र दयनिय अवस्थाको थियो ।

त्यो गाउँ चार दिन बसेर फर्कंदा हामीलाई ती महिलाहरुले फूलमाला, टिका र अविर लगाएर विदा गरे । वर्षौंवर्ष काम गरेर समुदायमा परिवर्तन ल्याउँदा पाएको सम्मान जस्तो चारदिनमा महिलाहरुले व्यक्त गरे । हामी लज्जित पनि भयौं, फूलमालासहितको विदाईले । त्यसको कारण थियो, हामी वाहुन क्षेत्रीका घरका बुहारीहरु ।

ती महिला समूहसँग चौरमा सबैले तीजको दर खाएको अनि गीत गाएर नाचेका थियौं । उनीहरुको गीतमा विरह मात्र थियो । म र साथी मीना कार्की जुम्लाको तत्कालिन डाँडाकोट गाविसमा महिला विकासका कुरा गर्न बोलाइएका थियौं ।

महिलाका अवस्थाबारे छलफल गर्दा पिडाहरु नै धेरै देखिए । उनीहरुले पिडाबारे परामर्श गर्ने साथीहरु पाएका नै रहेनछन । जम्मा चार दिन सँगै बसेर दुखसुखको कुरा गर्दा हामी बीच आत्मियता भयो अनि तीजको दर चामलको भात, दाल तरकारी सँगसँगै खाएका थियौ ।

हामीलाई त्यहाँ बोलाउने इसिमोडकी स्वयंसेवी महिला थिइन्, जसले मात्र ४ दिनको खानपिन र बास बस्ने जोहो मिलाएकी थिइन् । चामलको भात खान चाडपर्व आउन पर्ने रहेछ । त्यही समयमा महिलाहरको चाड हरितालिका तीज परेको थियो । ती स्वयंसेवीलाई भनेर जिल्ला प्रमुखको कार्यालयमा सम्पर्क गरेर ५० जनालाई पुग्ने चामलको बन्दोबस्त गर्न लगायौं । अनि दरखाने दिन चामलको भात, दाल र तरकारी सँगै खाने योजना बनायौं । महिलाहरु आएका ठाउमा केटाकेटीहरु आइहाले । उनीहरु पनि रमाए ।

केटाकेटीहरुले मिठो खानेकुरा मागे भने आमाहरुले बनमा पाइने ‘बाको’ खोजेर लेराएर खान दिने गरेका रहेछन् । बाको भनेकोसानु पिँडालुजस्तो हुँदोरहेछ । जंगलबाट आमाहरुले खोजेर ल्याउँछन् अनि उसिनेर सिलौटोमा पिन्छन् अनि गोलो गोलो ससाना डल्ले लडडू बनाएर खान दिन्छन् । चपायो भने कोक्याउँछ भनेर मुखमा हाल्ने वित्तिकै निल्नपर्ने रहेछ । हामीले पनि उनीहरुको अनुरोध टार्न नसकेर निल्यौें । मैले त स्वाद पनि पाइनँ । केटाकेटी, बुढाबुढी सबैले निले । म त छक्के परेँ । दिक्क पनि लाग्यो, हरे ! दुर्गममा जन्मेको नेपाली घरपरिवार भनेर । हामीले हाम्रा छोराछोरीले मिठो खान खोजे भने बनाउने परिकार सम्झन पुगेँ । त्यो परिवेशमा भात, दाल र तरकारी त कति राम्रो खाना कति ! त्यसको स्वाद सबैलाई मनपर्ने नै भयो ।

शहरतिर र काठमाडौंका महिलाहरुको मिठो मिठो परिकार खान पाउने तीज सम्झेँ । अझ गहना र लुगाको सजधज र भड्किलो तीज र त्यहाका महिलाहरुको तीजमा आकाश जमिनको फरक थियो । तुलना गर्न नै सकिन्न । काठमाडौंको के कुरा ? सातसमुन्द्रपारी रोजगारी र विभिन्न अवसरका लागि यूरोप र अमेरिका विदेशिएका परिवारका महिलाहरु पनि सजधज सँगै छड्के तिलहरी लगाएर दर खान र नाच्न रमाएका छन् ।

डाँडाकोट गाउँका कतिपय घरका छोराहरु रोजगारीका लागि भारत गएका थिए । जवान श्रीमतीहरु घरमा सासु ससुरालाई खेतीका काममा सघाएर बस्नु परेको छ भन्दैथिए । समूहमा होइन, एक्लै कुराकानी गर्दा महिलाहरु रोगले आफना साना नानीहरु मरेको कथा सुनाउँदै थिए । अनि लोग्ने कामका लागि भारत गएको घरमा काम गरिन भन्ने कचकच सुन्दा विरह चल्छ भन्दैथिए । महिलाको एक्लोपनाको समस्या र बालबालिकासँग विछोडिन परेका व्यथाहरु मनछुने थिए ।

मातृशिशु स्वास्थ्य र सरसफाइमा समस्या । खानाको अभाव । बालबालिकाहरुमा कुपोषण । सरसफाइको विषयमा त अत्यन्त पछाडि । लुगा धुने र नुहाउने चलन थिएन भन्ने देख्दै थाहा पाइने । अर्को ठूलो समस्या, साँघेरो गोरेटो अनि बजारबाट बेलुका भएपछि लोग्ने मानिसहरु लडखडाउदै घर आउने ।

तात्कालिन डाँडाकोट गाविसमा त अधिकांश पुरुषहरु रक्सीको अधिक सेवन गर्ने समस्या बढी देखियो । एक पटक त त्यस गाउँका महिलाहरु उनीहरुका घरका लोग्ने मानिसहरु रक्सी खाने होटलबाहिर कुरेर सबैलाई लछारपछार पनि पारेछन र हार गुहार मागेछन् तर समस्या जस्ताको तस्तै थियो ।

त्यसताका माओवादीहरुको हिंसा अति भएको थियो । सबै शान्तिवार्ताका पक्षमा थिए । हामी नागरिक समाजका सवै पनि भद्रकालीमा माओवादी जनयुद्धमा लागेकाहरुलाई र सरकारलाई शान्तिवार्ताका लागि दवाव दिन रिले अनसन बसेका थियौं । अखवार पढ्ने र गफ गर्ने गरेर २४ घण्टा पालोपालो कटाउन गर्दथियौं । काठमाडौंको विकास कार्यकर्ताहरुको माझ गफगाफ गर्दा एकपटक डा. गोपाल सिवाकोटीले भने, ‘दशैंमा टिका चामल लगाएर हामी चामल खेर फाल्छौं ।’

म त छक्क परेर सुनिरहेको थिएँ । मनमनै उनले ‘कस्तो कुरा’ गरेको जस्तो लाग्यो । त्यतिकैमा त्यो तर्कको जवाफमा डा. मीना आचार्यले ‘विदेशी प्रभावमा परेर कुरा नगर्नृुस् है गोपालजी’ भनिन् । मलाई मीना दिदीको जवाफमा मनमनै रमाईलो लाग्यो, आफुले जवाफ दिन नसकेकोमा मीना दिदीले ठिक्कको जवाफ दिनुभो भनेर ।

चामल देख्दा संसारमा सबैभन्दा उत्तम खाना खान पाएको अनुभव हुने हामी नेपाली । त्यसमा पनि जुम्लाको गाउँमा चामलको भात देख्दा र खान पाउँदा नै सवैभन्दा मिठो खानाको परिकार मान्न पर्ने वाध्यता देखेर छक्क परेर आएको मानिस थिएँ म । विकास कार्यकर्ताका बहस असान्दर्भिक पनि छन् भन्ने मलाई पनि लाग्छ । किनकी, दशैंमा टीका लगाउँदा चामल खेर जाने तर्क त त्यति राम्रो लागेन । अन्नबाट रक्सी बनाउँदा खेर जान्छ भनेको भए पनि एउटा कुरा । मेरोचाहिँ केही दातृ संस्था र मानव अधिकारवादीहरुसँग के गुनासो हुने गरेको छ भने यी बिहान बेलुकाको दालभात खान नपाएका नेपालीलाई दालभात खानसक्ने, सफा लुगा लाउन सक्ने, स्वस्थ हुने कुरा महत्वपूर्ण हो ।

काठमाडौंमा जुम्लाबारे विभिन्न दुखःका समाचारहरु आइरहन्छन् । कहिले खाद्यान्न अभाव । कहिले ज्वरोको महामारी । हाल कोरोनाले उस्तै आक्रान्त पारेको छ रे कर्णालीवासीलाई ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button