
के थाहा ! त्यही दाइजोले छोरीको ज्यान जान्छ कि ?
छोरा, दाइजो र छोरी
प्रतिभा तिमल्सिना
हाम्रो समाजमा छोरीलाई देवी लक्ष्मीको रुपमा पुजिन्छ । सरस्वतीको रुपमा पुजिन्छ । देवीको रुपमा पुजिन्छ । जिवित देवी कुमारीको रुपमा पुजिन्छ । धेरैजस्तो शुभकार्य पञ्चकन्याबाट सुरु गराइन्छ । तर, बिडम्बना ! यही समाजमा छोरी जन्मदा हर्षित हुने परिवार औंलामा मात्र गन्न सकिन्छ । आखिर किन त ? कारण धेरै हुनसक्छन्, जस्तै आर्थिक अवस्था, छोराले मरेपछि दागबत्ती दिन्छ र स्वर्ग जान पाइन्छ भन्ने विश्वास, छोरीलाई विवाहमा दाइजो दिनुपर्ने कुचलन अनि विवाह गरेपछि छोरीले आमाबुवा अशक्त हुँदा पनि घरबाट छुट्टी नपाउने अवस्था आदि ।
कानुनले दाइजोप्रथा हटाइसकेको छ तर पनि उपहार, दक्षिणा र समाजमा आफ्नो हैसियत देखाउने नाममा छोरीको विवाहमा सकिनसकी गरगहना, कोठाका सामान, भोजभतेर्, सम्धिनी भेट् गरिरहेक हुन्छौं । छोरीलाई दाइजो नदिँदा कर्मघरमा खुसी नहोली भनेर आफ्नो जायजेथा बेचेर छोरीको बिहे गरिरहेका हुन्छौं । के येतिसम्म पनि गर्नु जरुरी छ र ? जबसम्म बुहारी ल्याउने बेलामा ‘हामीलाई बुहारी मात्र पठाउनुस्, उपहार, दाइजो, सम्धिनी भेट केहि गर्नुपर्दैन’ भन्दैनौं, तबसम्म यो चलन हट्नेवाला छैन । किनभने, छोरीको बाबुआमामा दाइजो नदिँदा छोरी खुसी हुँदिन कि भन्ने चिन्ता हमेशा रहिरहन्छ ।
छोरीलाई जबसम्म परिवारको खुशीको लागि श्रीमानको परिवारका सदस्यको अपमान वा हेँला सहेर पनि वैवाहिहिक जीवन चलाउनुपर्छ भनेर सिकाउँछौ र दाइजो कम भाको हो कि भनेर थप्दै जान्छौं, हाम्री छोरी कहिल्यै पनि खुशी हुन सक्दिन । हामीले हाम्रा छोराछोरी दुवैलाई शिक्षित, आत्मनिर्भर र अरुलाई सम्मान गर्ने बनाउनुपर्छ । ‘दाइजो दिने र लिने दुवै चलन नराम्रो हो’ भनेर सचेत गराउनुपर्छ ।
हामीले सानै बेलादेखि ‘छोराछोरी समान हुन्, भोलिपर्सि छोरी बिहे गरेर गए पनि हामी सधैं तिम्रो साथमा हुन्छौ, कर्मघरमा केहि गारो भयो भने हामीलाई भन्नुपर्छ, हामीसँग लुकाउनु हुँदैन’ भन्नुपर्छ । साथै छोरालाई पनि ‘तिमीले अरुको छोरी बिहे गरेर जीवनसाथी बनाएर ल्याउने हो, उसलाई पनि आफ्नो दिदिबहिनी, आमा, हजुरआमालाई जस्तै सम्मान माया र साथ दिनुपर्छ, यदि तिमीले केहि गल्ती गर्यौ भने हाम्रो छोरा हो भनेर हामी तिमीलाई साथ दिदैनौ’ भनेर भन्नुपर्छ ।
हामी कसैको विवाहमा जाँदा ‘फलानोले त छोरीलाई यति दाइजो दियो, फलानाले बुहारीलाई यत्ति गहना हाल्यो कस्तो खान्दानी, उसकी छोरी अब हाइसुखम परी’ भनेर कुरा गर्छौ । के साच्चैं दाइजो दिँदैमा वा गहना दिँदैमा छोरी बुहारी खुशी हुन्छन् त ? के थाहा त्यही दाइजोले उसको भोलि ज्यान जान्छ कि ? त्यही गहनाको निहुँमा उसको घरमा कलह हुन्छ कि ? तिम्रो छोरीको श्रीमान, सासु, ससुराले तिम्रो छोरीलाई आफ्नै मानेर माया गरेनन् भने त्यो गहना अनि त्यो दाइजोको के अर्थ भयो ?
हामीले छोरीलाई बिहे गर्नुभन्दा अगाडि ‘तिमी बिहे गर्न तयार छौ कि छैनौ ?’ भनेर सोध्ने गरौं । र, बिहे गरेर पञ्चरात सोह्र दिन गर्न आउँदा वा मुख हेर्दा ‘के के दिए’ भनेर सोध्नुभन्दा ‘तिम्रो घरमा तिमीलाई कस्तो व्यवहार गर्छन्, माया गर्छन् गर्दैनन्, काममा सहयोग गर्छन् गर्दैनन्’ भनेर सोध्ने गरौं ।
आमाबुबालाई चिन्ता हुन्छ भनेर हाम्रा छोरीहरुले घरमा आफुमाथि भएको अन्याय लुकाइरहेका हुन्छन् । फलत कति छोरीहरुले ज्यान गुमाउँछन् त कति अङ्गभङ्ग हुन्छन् । त्यसैले हामीले हाम्रा छोरीहरुले हामीसँग हरेक समस्या र जिज्ञासा खोल्नसक्ने वातावरण बनाउनुपर्छ । साथै, आफ्नो छोराछोरी दुवैलाई दाइजो र अंशभन्दा शिक्षा र आत्मनिर्भर हुन लगानी गरौं ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



