जहाजमा जान्छ अनि बाकसमा आउँछ

सुप्रिया खनाल

अन्धकार अनि सुनसान रात, बन्द कोठा अनि कोठाभित्र पीडाले भरिएर नतमस्तक आँखाहरू । बाहिर झ्याउँकिरी कराएको आवाज । त्यही आवाज सुन्दा नि दिक्क लाग्छ । मनमा अनेक कुरा खेल्न थाल्छन् । मध्यरात भइसक्दा पनि आँखाहरू निदाउन मान्दैनन् ।

जिन्दगीमा चाहेर पनि केही गर्न सकिएन । बाबुआमाको लागि कति दुख बढाउने ? यस्ता सोचहरु दिमागमा हावी भइदिन्छन् । परिवारको जिम्मेवारी अनि आफ्नो ओझेल परेको भविष्य सम्झँदा चक्कर आउला झैं हुन्छ । सायद निम्न मध्यमवर्गिय परिरवारमा जन्मिने हरेकको दिमागमा खेल्ने कुराहरू हो यो । बचपनदेखि भोगेका दुःखहरु सम्झँदा मुटु काँप्न थाल्छ ।

च्यातिएको झोला र फाटेको कपडा लगाएर स्कूल जाँदा साथीहरुले गरेका बेइज्जती, कपी किन्ने पैसा नहुँदा लेखेका ठाउँमा मेटेर फेरि लेखेका ती पलहरु साँच्चै नै अविस्मरणिय छन् । स्कुलमा टेकेदेखि धनभन्दा विद्या ठूलो पढियो तर त्यही पैसा बिना परिक्षा हलबाहिर बस्नुपर्दाको क्षण कसले पो बिर्सिन सक्ला र ? भोको पेट साथमा पैसा नहुँदा आज मलाई भोक छैन भन्दै साथीलाई ढाँटेका दिनहरू निकै पीडादायी छन् ।

गरिबीले धेरै कुरा सिकाउने रैछ । मान्छेमा परिपक्वता आउन उमेर नै हुनु पर्छ भन्ने छैन । दुखले नै मान्छेलाई परिपक्व बनाइदिन्छ । हरेक सपनाहरुलाई मनभित्रै दागबत्ती दिन पनि गरिबीले नै सिकाउने रैछ । सोच्न नसक्ने हिम्मत पनि गरिबीले नै जुटाइदिने रैछ । हिजोसम्म पढेर डाक्टर बनेर देशको सेवा गर्छु भन्ने सोच राख्ने छोरा बाउलाई आएर भन्छ, ‘बुबा ! मलाई अब पढ्न मन छैन । पासपोर्ट बनाइदिनु । म विदेश जान्छु ।’ पढ्न मन नभएर होइन, बाबुआमाको दुखको अगाडि सबै कुरा फिक्का लागेर हो ।

आफ्ना मरेका सपना, टुटेका मन अनि जिम्मेवारी बोकी विदेशिन बाध्य एक गरीब परिवारको छोरा दिनरात नभनी खाडी को ४० डिग्रीको घाममा काम गर्न थाल्छ, आफ्नो आमाबाबुलाई केही खुसी दिन सक्छु कि भनेर । तर, उसको फुटेको भाग्य, बाबुआमाको अलिकति भएको खुसी पनि लुटिन्छ । ऊ जहाजमा जान्छ अनि बाकसमा आउन बाध्य हुन्छ । यस्ता पीडाहरू बस् गरिबीले मात्र दिने गर्दछ ।

धनभन्दा विद्या ठूलो भन्ने कुरा बस् किताबका पानामा मात्र सीमित हुन्छन् । आफ्नो जिम्मेवारी उठाउन नसकेर कतिले त आत्महत्या पनि गर्छन् । मजाक लाग्छ कसैले आत्महत्या गर्यो भन्दा तर जिन्दगीको बोझ र परिस्थितिले थाहा हुँदो रहेछ, यो एउटा सवाल या अन्तिम निर्णय हो । यो गर्छु, उ गर्छु आदि अनेक सोच आउँछन् । तर, सबैभन्दा अगाडि आउँछ पैसा अनि सबै सोचहरु हराएर जान्छन् । चाहेर नि न बाबुआमालाई खुसी राख्न सकिन्छ न आफू खुसी हुन नै ।

यी आँखाहरूले कहिल्यै फुर्सद पाएनन् । एउटा अचम्मको कुरा, पुरा नभए पनि यी मनहरुले कहिले सपना सजाउन छोडेनन् । थाके पनि पैताला यी खुट्टाहरू कहिल्यै पछि हट्न जानेनन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button