खराब गिरिजाप्रसाद, असल गिरिजाप्रसाद

सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।

भरतमोहन अधिकारी

मलाई मोरङको क्षेत्र नम्बर १ बाट उठ्न मन थिएन । उक्त क्षेत्रबाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार प्रधानमन्त्री गिरिजाबाबु नै हुनुहुन्थ्यो । एउटै मन्त्रिपरिषद्मा बसिएको छ । मन्त्रिपरिषद्को दोस्रो बरियताको व्यक्ति म । पहिलो बरियताको प्रधानमन्त्री गिरिजाबाबुसँग एउटै निर्वाचन क्षेत्रमा झगडा नगरौं भन्ने मन थियो । तर, मोरङका खासगरी क्षेत्र नम्बर १ का हाम्रा साथीहरूले मलाई १ नम्बर क्षेत्रबाटै उठाउन जोड गरिरहेका थिए ।

केपी ओली झापामा हुनुहुन्थ्यो । ‘साथीहरूलाई सम्झाई दिनुप-यो’, मैले ओलीजीलाई गुहारें । उहाँ विराटनगर आउनुभयो । उहाँले ‘यहाँबाट अरू साथीहरू उठ्नुहोस्, भरतमोहनजीलाई १ बाट उठाउँदा राम्रो हुँदैन’ भन्ने सल्लाह दिनुभयो । तर, मोरङका साथीहरूले पटक्कै मान्नुभएन । अनि, पछि मलाई थाहै नदिई केन्द्रबाट एकैचोटि पार्टी उम्मेदवारको रूपमा मेरो नाम मोरङ क्षेत्र नम्बर १ र २ बाट घोषणा भयो । अब, क्षेत्र नम्बर १ मा एउटै मन्त्रिपरिषद्का प्रधानमन्त्री र अर्थमन्त्री भिड्ने भइयो ।

गिरिजाबाबुले सत्ता दुरुपयोग कुन हदसम्म गर्नुभयो भने म देशको मन्त्रिमण्डलको दोस्रो मर्यादाको अर्थमन्त्रीलाई स्थानीय प्रहरीले आफ्नो निर्वाचन क्षेत्रमा बस्नै दिएनन् । म रंगेलीको धर्मशालामा बसेर कार्यकर्तासँग भेट गर्दै थिएँ । एकजना प्रहरी अधिकृत आएर भने, ‘हजुर यहाँ बस्न पाउनुहुन्न ।’

‘म यहाँको उम्मेदवार हुँ । निर्वाचन प्रचार–प्रसार गरिरहेको छु । किन मैले यो ठाउँ छोड्नुप-यो ?’, मैले भनें ।

‘हजुर माथिको आदेश यस्तै छ’, ती प्रहरी अधिकारीले भने ।

‘गिरिजाबाबुपछिको माथि त मै हुँ । तपाईंलाई कुन माथिले यस्तो आदेश दियो ?’, मैले आश्चर्य भावका साथ भनें । प्रहरीले करकाप र जबर्जस्ती गर्न खोजेपछि मैले उक्त ठाउँ छोड्नुप¥यो । म त्यहाँ बसेर निर्वाचन प्रचार गर्दा त्यस क्षेत्रका युवामा नयाँ लहर आएको थियो । रंगेलीका मारवाडी युवाहरू धमाधम मेरो हातबाट अबीर र टीका थाप्दै एमालेमा प्रवेश गर्न थालेका थिए । रंगेली बजार त एमालेमय हुन थाल्यो । यही कारण कांगे्रस आत्तियो । आफैं हार्ने भएपछि गिरिजाबाबुले यहाँसम्मको निकृष्ट हर्कत देखाउनुभयो । प्रहरी लगाएर मलाई रंगेली बजार छोड्न बाध्य पार्नुभयो । अनि, मलाई लाग्यो, त्यत्रो उच्च सद्भाव र उद्देश्यका साथ सातबुँदे सहमति गर्दा पनि गिरिजाबाबुको कार्यशैलीमा कुनै सुधार आएनछ ।

मोरङ क्षेत्र नम्बर १ मा निर्वाचन प्रचार–प्रसार गर्न जाने क्रममा कांगे्रसका उग्र कार्यकर्ताले मलाई गाउँ नै पस्न दिएनन् । अवस्था कस्तो भने प्रहरी तैनाथ छ, मलाई सहयोग गर्दैन । बरु तमासा हेरेर बस्छ । म मन्त्री आफ्ना मतदातासँग भोट माग्न पाइरहेको छैन । लाचार भएर म जहाँ रोकिएको थिएँ, त्यही भाषण गरेर आफ्ना कुरा राखें । भाषणका क्रममा मैले भनेको थिएँ ः ‘मैले सुनेको थिएँ, कांगे्रसहरू वास्तविक प्रजातन्त्रवादी होइनन् । देखावटी रूपमा मात्र उनीहरू प्रजातन्त्रको कुरा गर्छन् । उनीहरू जुनसुकै निकृष्ट काम गर्न पनि पछि पर्दैनन् । आज म प्रत्यक्ष त्यही देखिरहेको छु । अब मैले प्रण गरें, मैले टाउकोमा कफन बाँधेको छु । कांगे्रसको गुन्डागर्दी तोड्छु र लोकतन्त्रको रक्षा गर्छु ।’

भाषण त गरियो । आफ्नो आवेग देखाइयो । तर, जनताबीच जान पाइएन । यो त क्षेत्र नम्बर १ को कथा भयो । क्षेत्र नम्बर २ को कथा पनि त्यत्तिकै पीडादायी छ ।

गिरिजाबाबु नेतृत्वको निर्वाचन गराउने सरकारमा रहँदाका तीनवटा कुरा उल्लेख गर्न चाहन्छु । एकपटक मन्त्रिपरिषद्को बैठक सकेर बाहिर निस्कँदा मन्त्री गजेन्द्रनारायण सिंहले ‘भरतबाबु, एउटा कुरा छ’ भनी एकातिर तान्नुभयो । उहाँले भन्नुभयो, ‘गिरिजाबाबुलाई साँच्चै हराउन चाहनुहुन्छ भने म तपाईंहरूलाई इमानदारीपूर्वक सहयोग गर्छु । हाम्रो सहयोग तपाईंहरूलाई भयो भने गिरिजाबाबुले अवश्य हार्नुहुन्छ । मोरङ क्षेत्र नम्बर १ रंगेलीमा हाम्रो ७÷८ हजार ठोस मत छ । तपाईंहरूलाई क्षेत्र नम्बर १ मा हाम्रो पार्टीले समर्थन र सहयोग गर्छ । त्यसबापत तपाईंहरूले मोरङ क्षेत्र नम्बर ६ मा हाम्रा उम्मेदवार बद्री मण्डललाई सहयोग गर्नुहोस् । त्यहाँ तपाईंहरूको उम्मेदवार र संगठन दुवै कमजोर छ । तपाईंहरूको समर्थन भयो भने हामी जित्छौं । क्षेत्र नम्बर १ मा एमालेले जितोस् । क्षेत्र नम्बर ६ मा हामी जित्छौं । त्यसैले क्षेत्र नम्बर १ र ६ मा तपाईंहामी निर्वाचन तालमेल गरौं ।’

‘तपाईंको प्रस्ताव मलाई ठीकै लाग्यो । म पार्टीमा यो कुरा अवश्य राख्नेछु’, मैले गजेन्द्रनारायण सिंहलाई भनें ।

मैले पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपालसमक्ष सद्भावना पार्टीको प्रस्ताव सुनाएँ । उहाँले ‘हुन्छ, हेरौं, कुरा गरौंला’ भन्नुभयो ।

केही दिनपछि गजेन्द्रनारायणले मलाई बोलाएर फेरि प्रश्न गर्नुभयो, ‘तपाईंहरू मोरङ १ बाट जित्न चाहनुहुन्छ कि चाहनुहुन्न ? गिरिजाबाबुलाई यसपटक सजिलै हराउन सकिन्छ । यो अवसर हो सदुपयोग गर्नुहोस् ।’

मैले फेरि यो कुरा माधव नेपाल र केपी ओली दुवैलाई भनें । पछि निर्वाचन प्रचारमा जाँदा मैले क्षेत्र नम्बर १ को रंगेलीमा के देखें भने त्यहाँ त सद्भावनाको राम्रो पकड रहेछ । सद्भावना र कांगे्रसबीचको सम्बन्ध पनि अत्यन्तै तिक्ततापूर्ण रहेछ । कांगे्रसले प्रहरी लगाएर सद्भावनाका कार्यकर्ता र समर्थकहरूलाई दुःख दिइरहेका रहेछन् । सोही कारण वास्तवमै सद्भावना पार्टीले गिरिजाबाबुलाई हराउन चाहेको रहेछ ।

विडम्बना, सद्भावनासँग हाम्रो तालमेल भएन । गिरिजाबाबुले मभन्दा करिब ६ हजार मत बढी ल्याएर निर्वाचन जित्नुभयो । उता, क्षेत्र नम्बर ६ मा पनि निर्वाचन हारियो । निर्वाचनमा तालमेल गरेको भए निश्चित रूपले गिरिजाबाबुले निर्वाचन हार्नुहुने रहेछ । मोरङ क्षेत्र नम्बर १ को निर्वाचन परिणामको टिप्पणी गर्दै राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले मसँग भन्नुभएको थियो, ‘भरतमोहनजी, तपाईं हारेको होइन, गिरिजाप्रसादजस्तो व्यक्तित्वसँग टक्कर गरेर त्यत्रो मत ल्याउनुभयो । यो नै तपाईंहरूको विजय हो ।’

मैले माथि नै उल्लेख गरिसकेको छु, एउटै मन्त्रिपरिषद्मा रहेर काम गरिरहेकाले म गिरिजाबाबुको विरोधमा क्षेत्र नम्बर १ मा उठ्न चाहन्नथें । मैले यो कुरा नेताहरूलाई भनें पनि । तर मेरो कुराको सुनुवाइ भएन र जबर्जस्ती गरेर त्यहाँबाट मलाई लडाइयो । परिस्थिति यस्तो बन्दै थियो कि त्यहाँबाट गिरिजाबाबुलाई हराउन सकिन्थ्यो । तर, हामी त्यसतर्फ गम्भीर नै भएनौं । यो त गिरिजाबाबुको अपाच्य व्यवहारको प्रसंग भयो । म सरकारमा उहाँसँग ६ महिना बसें । त्यो अवधिमा उहाँले सधैं सहयोगीको व्यवहार गर्नुभयो । दुईवटा घटना म अझै पनि सम्झन्छु ।
इलामको मेची चिया निगमलाई पूर्ववर्ती नेपाली कांग्रेसको सरकारले भारत, मद्रासको पाला स्वामी भन्ने एक व्यापारीलाई बेचेको थियो । सो चिया बगान भारतको सिमानासम्म जोडिन्थ्यो । चिया बगान भारतीय व्यापारीलाई बेच्दा भारतकै सीमा विस्तार भएजस्तो हुने मलाई लाग्यो । म अर्थमन्त्री भएपछि त्यो निर्णय खारेज गरिदिएँ । चिया निगमका सातवटा बगान सातजना नेपाली उद्यमीलाई दिने सोच बनाएर त्यसतर्फ काम थालेको थिएँ । सातजना नेपाली धनी होऊन् भन्ने मेरो सोच थियो । त्यसबखत चिया निगम बन्द थियो । निगम बन्द भए पनि कर्मचारी त थिए । उनीहरूले लामो समयदेखि तलब पाएका थिएनन् । कर्मचारीलाई तलब खुवाउन ५० लाख ऋण सापटी निगमलाई दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगें । प्रस्ताव पारित भयो । कर्मचारीलाई त्यसबाट तलब पनि दिइयो । तीन÷चार महिनापछि त्यो पैसा सकियो । फेरि कर्मचारीलाई तलब खुवाउन समस्या प¥यो । निर्वाचनको नजिकै थियो । मैले फेरि ५० लाख निगमलाई सापट दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगें । कांगे्रसका केबी गुरुङ शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँले मेरो प्रस्तावको ठाडै विरोध गर्नुभयो ।

‘अर्थमन्त्रीजी, तपाईं निजीकरण पनि गर्न नदिने, व्यवस्थापनले निगम चलाउन पनि नसक्ने अनि सधैंभरि ५०÷५० लाख मागिरहने ? कसरी दिन सकिन्छ ?’, शिक्षामन्त्री गुरुङले भन्नुभयो ।

‘म निगमको व्यवस्थापन गर्दैछु । सातवटा बगान सातजना नेपाली उद्यमीलाई दिने प्रयत्न गर्दैछु । त्यो पनि मेची अञ्चलकै उद्यमीलाई । त्यसको लागि मन्त्रालयलाई अरासकेको छु । प्रस्ताव पनि आइरहेको छ । केही समय लाग्ने भयो । यो सरकारले दिने पैसा अनुदान होइन, ऋण सापटी हो । त्यो फर्किन्छ’, मैले भनें ।

मैले निगम सञ्चालनको सविस्तार बुझाउने प्रयत्न गरे पनि उहाँ मानिरहनुभएको थिएन । हाम्रो विवाद भइरहेको थियो । हाम्रो बहस सुनिरहनुभएका प्रधानमन्त्री गिरिजाबाबुले ‘एकछिन रोकिनुस्’ भन्नुभयो । हामी दुवै चुप लाग्यौं ।

‘अर्थमन्त्रीको कुरा मलाई चित्त बुझ्यो । उहाँकै कुरालाई आजको मन्त्रिपरिषद्को निर्णयमा लेखिदिनुहोस्’, गिरिजाबाबुले मुख्यसचिवलाई भन्नुभयो ।

उहाँले मन्त्रिपरिषद्को बैठकमै आफ्नै पार्टीका मन्त्रीको कुरा काटेर मेरो प्रस्तावको समर्थन गरिदिनुभयो ।

अर्को एउटा प्रसंग पनि उल्लेख गरौं । २०५६ सालमा निर्वाचन भइसकेपछि कांगे्रसका नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुने भयो । हामी संयुक्त सरकारका मन्त्रीहरूले राजीनामा गर्ने भयौं । प्रधानमन्त्री गिरिजाबाबुले बालुवाटारमा बिदाइ रात्रिभोज आयोजना गर्नुभयो । हाम्रो पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपालसहित एमालेका चारजना मन्त्रीहरू, कांगे्रसका कृष्णप्रसाद भट्टराई र मन्त्रीहरू गरी केही सीमित व्यक्तिहरूलाई मात्र त्यस भोजमा निम्त्याइएको थियो । त्यसबेला गिरिजाबाबुले माधव नेपाललाई भन्नुभयो, ‘तपाईंको पार्टी एमालेका मन्त्रीहरू ज्यादै काबिल रहेछन् । राम्रो सहयोग गर्नुभयो । तपाईंलाई धन्यवाद छ । त्यसमा पनि अर्थमन्त्री साह्रै योग्य लाग्यो । म त उहाँको कामबाट निकै प्रभावित भएँ ।’

गिरिजाबाबुको कुरा सुनिरहनुभएका कृष्णप्रसाद भट्टराईले भन्नुभयो, ‘होइन सामान्य शिष्टाचार मात्र हो कि साँच्चै भन्नुभएको हो, गिरिजाबाबु ?’

‘हेर्नुहोस् किसुनजी, भरतमोहन कांगे्रसमा हुने हो भने हामीले अर्को अर्थमन्त्री खोज्नै पर्दैन’, गिरिजाबाबुले भन्नुभयो ।

गिरिजाबाबुले यसरी नेताहरूबीच खुलेर मेरो प्रशंसा गरेको सुनेर म त दंग परें । एकातिर निर्वाचनको बेला सामान्य लोकतान्त्रिक मूल्य र मान्यतालाई पनि वास्ता नगरी निकृष्टतामा उत्रने र अर्कोतिर कांगे्रसका नेताहरूमाझ नै मेरो खुलेर प्रशंसा पनि गर्ने । मैले गिरिजाबाबुमा यो विरोधात्मक रूप देखें । उहाँमा विरोधात्मक स्थिति किन होला भनेर कहिलेकाहीं म घोत्लिन्थें । मलाई लाग्छ, उहाँमा अहम् बढी थियो । उहाँसँग टक्कर गर्न खोज्यो भने जुन तहसम्म पनि तल झरेर जस्तो व्यवहार गर्न पनि पछि नपर्ने एउटा स्वभाव थियो भने अर्कोतिर उहाँको पद, प्रतिष्ठा र सम्मानमा धक्का नपु¥याउने र आदरभाव देखाउनेसँग उहाँ त्यत्तिकै उदार पनि हुनुहुन्थ्यो । चित्त बुझेको र मन परेको मान्छेले जे प्रस्ताव लगे पनि ‘हुन्छ, गर’ भन्नुहुन्थ्यो । मन परेको मान्छे छैन भने नमस्ते पनि फर्काउनु हुन्नथ्यो ।

२०५६ सालको निर्वाचनमा बैंकबाट एक पैसा कर्जा नलिई बढी राजस्व उठाएरै मैले निर्वाचन खर्च पु-याएको थिएँ । अर्थ मन्त्रालय पनि व्यवस्थित ढंगले चलाएको थिएँ । सायद उहाँ त्यसैबाट प्रभावित हुनुहुन्थ्यो । म सरकारमा हुँदा राम्रो परम्परा बसोस् भनेर बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन र मदन भण्डारी गरी जनताले सम्मान गरेका पाँचजना राजनेताको सम्झनालाई चीरस्थायी गर्न केही काम गर्ने मन्त्रिपरिषद्मा प्रस्ताव पनि लगेको थिएँ । ती पाँच राजनेताहरूका नाममा स्थापित प्रत्येक प्रतिष्ठानलाई बर्सेनि ५० लाख दिने मेरो प्रस्ताव थियो । त्यो पैसा उहाँहरू जोडिएको पार्टीले समर्थन गरेको प्रतिष्ठान छ भने त्यो संस्थालाई दिने, त्यस्तो छैन भने उहाँहरूनजिकको नातेदारले देखाएको संस्थालाई दिने प्रस्ताव गरें ।

गिरिजाबाबुले दंग भएर ‘राम्रो प्रस्ताव’ भन्नुभयो । प्रस्ताव पारित भयो ।

(घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको अधिकारीको पुस्तकको ‘गिरिजाप्रसाद: फरक-फरक व्यवहार’ च्याप्टरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button