
विमलेन्द्र, सशांंक र प्रकाशमानलाई अरविन्द रिमालको संयुक्त खुलापत्र
नेपालनाम्चामार्फत्
विमलेन्द्र निधि, सशाङ्क काेइराला एवम् प्रकाशमान सिँहलाई खुलापत्र !
कुनै पनि राजनीतिक दलका आचारसंहिता, प्रजातान्त्रिक संसदीय राजनीतिका अनिवार्य मूल्यमान्यता, राज्य एवम् सरकारका उच्चतम संस्थाका मानमर्यादा हत्या- हिँसा- अवसरवाद- विश्वासघातरूपी मशानघाटमा नपुगाेस् भन्ने अपील !
तपाईँहरु तीनैजना नेपाली कांग्रेसकाे राजनीतिक जीवनमा एउटा नवीन सद्भावयुक्त प्रतिस्पर्धात्मक उदाहरण तथा अभियान प्रस्तुत गरिरहनुभएकाे छ । आफ्नाे प्रिय पार्टीलाई नयाँ नेतृत्त्व, नयाँ गति, नयाँ आयाम दिन तपाईँहरु सक्रियतापूर्वक लागी परिरहनु भएकाे छ । अर्काे एउटा समूह पनि सक्रिय देखिन्छ । यस सद्कार्यमा तपाईँहरु सबैलाई सफलताकाे हार्दिक शुभकामना व्यक्त गर्दछु ।
तर, यस पत्रलेखनकाे मुख्य उद्येश्य तपाईंहरु त्रिमूर्तिसँग नै महत्त्वकाे कारणबाट सम्बन्धित छ, त्यसैले तपाईँहरुलाई सम्वाेधन गरिएकाे छ । एकतन्त्रीय राणा पारिवारिक शासनविरुद्ध नेपालमा प्रजातान्त्रिक क्रान्ति सुसम्पन्न गरी त्यसलाई राष्ट्रका माैलिक हितमा संस्थागत स्वरूप प्रदान गर्ने उद्धेश्यबाट तपाईँहरुका पितात्रय शीर्षस्थ राजनीतिक इतिहासपुरुष सर्वश्री विश्वेश्वरप्रसाद काेइराला, गणेशमान सिँह एवम् महेन्द्रनारायण निधि सदा उत्सर्ग रहेकाे त हाम्राे देशकाे इतिहास नै साक्षी छ । आफ्ना पूर्वजकाे यस्ताे कीर्तिमान उत्तरदानलाई आफ्नाे देशकाे वर्तमान एवम् भविष्यका अपेक्षाकाे अनुकूल बनाउन पनि तपाईं तीनैजना अहिले यस्ताे अभियानमा लागेकाे हुनुपर्छ । यस्ताे उद्यमले केही निश्चित सत्उद्धेश्य अनिवार्यरूपले अपेक्षा गर्ने कुरा पनि स्वयंसिद्ध छ ।
परन्तु नेपाली कांग्रेसका सभापतिका वर्तमान राजनीतिक भूमिका तपाईँहरुकाे उद्धेश्य अनुकूल हुने वा भएकाेमा तपाईँहरु विश्वस्त हुनसक्नु हाेला त ? प्रत्येक प्रजातान्त्रिक राजनीतिक दल आफ्ना ध्येय प्राप्त एवम् सुसम्पन्न गर्न शान्तिपूर्ण राजनीतिक गतिविधिद्वारा, आमनिर्वाचनद्वारा सत्ता हासेल गर्ने स्वाभाविक उद्येश्य राख्दछ । तर अहिलेकाे राजनीतिक गतिविधि वा घटनाक्रमले यस बाटाे अख्तियार गरेकाे भन्ने कुरामा तपाईहरु विश्वस्त हुन सक्नुहुन्छ त ? माम्लाेलाई सुस्पष्टसँग राख्दा एउटा अत्यन्त गम्भीर प्रश्न नउठिरहन कसरी सक्ला त ? अर्थात्, आफ्नाे तथाकथित ‘सिद्धान्त’काे आडमा सम्पूर्ण राष्ट्रकै घाेर अहित हुने गरी सशस्त्र हिँसाकाे वकालत तथा प्रयाेगद्वारा निरपराध देशवासीहरुलाई हजाराैँकाे संख्यामा हत्या गर्न धक मानिदैन । संसदीय राजनीतिमा ‘फर्केकाे’ भन्ने गरिन्छ तर पनि आफ्नाे पहिलेकाे अपराधका लागि नेपाली जनतासमक्ष आजसम्म क्षमायाचना गरिँदैन । अब ती माओवादी हुन् कि ‘समाजवादीहरु’ एकातिर । आफैँले जन्माएकाे, हुर्काएकाे, नेतृत्व गरेका आफ्नै पार्टीकै विधान- नीतिनियम तथा संसदीय आचारसंहिताविरुद्ध गई राजनीतिक अवसरवाद भनाैँ कि विश्वासघात भनौं, गर्ने, एक किसिमले सन्तानघाती व्यक्तिसमूह, अर्काेतिर । यस्तासँग मिलेर राज्यका सर्वमान्य चारै अङ्गहरुलाई छियाछिया पार्ने दुरुद्येश्य भएकाे जुन घाेर विकृत एवम् अराजक सत्ता राजनीतिमा तपाईँका ऐतिहासिक पार्टीका सभापति संलग्न हुनुहुन्छ, त्याे तपाईँहरुका आदर्श पुरुषहरुका उत्तरदानसित वा तपाईँहरुकै राजनीतिक भविष्यसित मेल खाने कामकुरा हुन् त भन्ने मुटु कमाउने प्रश्न याे पत्रलेखक तपाईँहरुसामु उठाउन बाध्य भएकाे छ ।

उखानकथामा ‘बूढी मरी भनेर हाेइन, तर काल पल्क्याे’ भनेर चिन्ता गर्नु त्यसै भनिएकाे हाेइन । यसमा युगाैँकाे जनबुद्धिमत्ता अन्तर्निहित छ । आज सत्ता हात पार्नमा लगाइने साम, दाम, दण्ड, भेदकाे व्रजपात के आफूमाथि भाेलिपर्सि वर्षिन नसक्ला त ? यस्ताे भाेर जुवाकाे जस्ताे घातक राजनीतिले देश, संस्था तथा व्यक्तिहरुलाई कहाँ कता पुर्याउने हाे ? त्यतातिर तपाईँहरुकाे गम्भीर ध्यान जानु आजकाे सर्वाधिक महत्त्वपूर्ण एवम् अनिवार्य दायित्व लागेर नै याे खुलापत्र लेखी पठाइएकाे हाे ।
मुलुककाे समग्र राजनीतिमा विदेशी दखलकाे खतरा बढ्दै गएबाट आफ्ना जूज्यान नै खतरामा राखी राष्ट्रिय मेलमिलापकाे नीति लिएर स्वदेश फर्के विश्वेश्वरप्रसाद काेइराला, आफ्ना अभिन्न सहयाेगी मित्र गणेशमान सिँहलाई साथ लिएर । यहाँ उनीहरुमाथि मुद्दा चलाइयाे । अदालतबाहिर ‘विश्वेश्वरलाई फाँसी दे’ भनी पञ्चायती सत्ताका बहुलाकुकुरहरु भुकिरहेका थिए । अदालतभित्र ओखलढुङ्गा विषयक हिँसात्मक काण्डआदि जबाफ तलब भइरहेकाे थियाे । पार्टी अध्यक्षका नाताले आफ्ना कार्यकर्ताका कामकार्बाईप्रति जिम्मेवार भएकाे स्वीकार्दा साँच्चै फाँसीकाे सजाय वरण गर्नुपरे त्याे पनि गर्न नहिच्किचाउने यशश्वी राजनेता तपाईं तीनमध्ये एकका नै पिता हुन् !
आफ्ना पार्टी नेताकाे आव्हानमा पञ्चायतीशासनविरुद्ध भएकाे सशस्त्र संघर्षमा विमति हुँदाहुँदै पनि त्यसलाई कतई सार्वजनिक नगरी पञ्चायतविरुद्ध देशैभित्रबाट शान्तिपूर्ण वैचारिक- सङ्गठनात्क राजनीति चलाइआएका पनि तपाईमध्येका एक पिता नै हुन् ।
अनि विश्व इतिहासकै एक विशिष्ट राजनीतिक आन्दोलनकाे सर्वाेच्च कमाण्डरकाे रूपमा नेतृत्व गर्ने, आन्दाेलनलाई वामपन्थी सहयाेगीहरुकाे याेगदानबाट सुसम्पन्न गरी एकतन्त्रीय शासनका अधिनायकलाई पराजय स्वीकार गराउने तर राजाले आफू न्यायाेचित रूपले प्रधानमन्त्री हुन आग्रह हुँदा, निमन्त्रण गर्दा पनि त्यसलाई त्यागेर आफूले याेग्य ठानेकाे सहयाेगीलाई सत्ता सुम्पने आदर्श राजनेता पनि तपाईँमध्येकै एकजनाकाे किर्तिमान पिता हुन् ।
अब यस्ता ऐतिहासिक राजपुरुषहरुकाे नेतृत्व पाएकाे पार्टी आज देशी वा परदेशी परजीवी तत्त्वहरुले शब्दाडम्वरी नाम- विशेषण दिएकाे नारामा डाेर्याइँदै गएकाे र हत्या- हिँसा- अराजकता-राजनीतिक स्खलनकाे मशानघाटमा लगिएकाे दयनीय दृश्यावली असहाय भएर तपाईँहरु हेरिरहन सक्नु हाेला त ?
अनि प्रकाशमानजी, तपाईँकाे वर्तमान संसदीय राजनीतिमा यस् वृद्ध पत्रलेखक तथा उसकी पत्नीकाे मतदानकाे पनि, पत्याउनु हाेस् वा नपत्याउनु हाेस्, याेगदान भएकाे सम्झना गराउँदै याे खुलापत्रलाई यतिमै टुङ्ग्याउने अनुमति चाहन्छु ।
जय नेपाल !
अभिनन्दनसहित
अरविन्द रिमाल
एक नेपाली नागरिक डिल्लीबजार, कालिकास्थान ।
२०७८ असार १८
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



सबै नेपाली पंच,,,,भने जस्तै सबै कंग्रेशी प्रजातान्त्रिक हुने भए जनमत बाट निर्बाचित भएको व्यवस्था लाई सडक आन्दोलन बाट फाल्नु पर्ने ठिक कि अर्को जनमत बाट फाल्नु पर्ने थियो , ,तसर्थ “any how come to power
” को सिधान्त प्रजातन्त्र बादी को हो र ? भारत ले अमेरिका ले मान्यता दिए पछि प्रजातान्त्रिक पो हुने होकी , त्यसो त पंचायत लै पनि सब बिदेशी ले मान्यता दियेक्कै थिए !
सैनिक शाशन भएका देश हरु लई पनि अमेरिका ले सघा येक्कै थियो र अझै छ पनि !
तसर्थ यो प्रजातन्त्र को नाउ मा नेपाल मा भएका परिवर्तन हरु 2007 साल देखि आज सम्म कत्तिको देश ले उन्नति गरेको छ त्येसको लेखा जोखा गर्दा निस्कर्छा के निस्कंनछ !
2007 साल मा राजा र प्रजा ले मिलेर ल्याको भनिएको प्रजातन्त्र को कोठा लाई येसो चिहाएर हेर्दा भारतीय सैनिक बाद पो आये को रैछ भन्ने देखिन्छ जुन आज सम्म पनि कुनै न कुनै रुप मा रहेको छर्लंग छैन र !
अरु परतन्त्र मुलुक हरु र विश्व युद्ध पछि बने का देश हरु संग नेपाल लाई तुलना गर्नु या अरु हरुको देखासिकी गरि सधै प्रजातन्त्र को दुहाई दिई राख्ने सधै क्रान्ति नै भई राख्नु पर्ने मुलुक जस्तो भएको जस्तो देखिन्छ ,,,”पर धर्म भयाबह”
राणा शाशन को येसो निस्पक्ष्य बिस्लेशण गर्यो भने ब्रिटिश शाशन को समर्थन पाएको सैनिक शाशन नै होकी भन्ने आभाष हुन्छ,,,, ब्रिटिश गोरा गए त्यहाँ का राजा महाराजा को देश लाई टुक्र्याऊन लगाएर उनि हरु को शाशन फेरी औन नसक्ने गरि बनाएर गए को अझ पनि देखिन्छ ,,,,,,