
‘तपाईं त ज्योतिषी पनि हो, भन्नुस् अब के हुन्छ ?’
सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।
ब्राह्मणपुत्रको लकडाउन डायरी–६०
भरत शर्मा
सोमबारदेखि स्मार्ट् लकडाउन तालिकामा केही फेरबदल हुनसक्ने छ । सुनिन्छ, लकडाउन अझै एकसाता थप हुन सक्नेछ । ठीकै छ, कोरोना महामारी र संक्रमणदर कम होइन, बढ्दै गएको छ । खोप खरिद गर्ने कुरा पनि केही दिन यता सेलाउन थालेको छ । चीन, रुस, अमेरिका आदि देशबाट खोप ल्याउनका लागि राष्ट्रपति र सरकारप्रमुखले पहल गरेको खबरले जनताले खोप पाउने आशा राखेका थिए । तर, अब खोप कहिले आउने भन्ने चिन्ता र निरासा एकैपटक छाएको छ ।
झण्डै दुई महिनापछि आइतबार कार्यालय समयसम्म खातापाता खोलेर हिसाब गर्ने काम गरियो । किनकी, असार मसान्त लाग्दै छ । बर्षभरी गरेका खर्च र आम्दानीको लेखाजोखा राख्ने समय हो असार । सरकारलाई कर बुझाउने कम्पनीको हिसाब रापसाफ गर्नुपर्ने भएकाले आइतवारको दिनभर काम गर्दा मन चङ्गा भयो ।
यो बर्ष आम्दानीभन्दा खर्च नै बढी भएछ । अफिसको भाडा, टेलिफोन, इन्टरनेटको खर्च पनि कमाउन धौं–धौको अवस्था रहेछ । हेरौं, पर्यटन क्षेत्रमा यस्तो अवस्था कहिलेसम्म हो ? अहिले नैं कसैले भन्न सक्ने अवस्था छैन ।
हिजो एकजना मित्रले टेलिफोनमा भने, ‘तपाईं त ज्योतिषी पनि हो, अब भन्नुस् पर्यटन क्षेत्र खुल्ने र हामीले काम गर्न पाउने कहिले हो ?’ मित्र मुक्तिनाथ र कैलाश यात्रा गराउने पर्यटन कम्पनीका मालिक हुन् ।
मैले के उत्तर दिएँ होला ?
‘म पनि यही प्रश्नको उत्तर खोज्दै छु ।’
मेरो ब्रह्मले भन्छ, ‘पर्यटन क्षेत्र चलायमान हुन अझै दुई बर्ष लाग्न सक्छ । महामारीले यात्रा गर्न चाहने व्यक्तिको मनोवल र अर्थतन्त्रमा निकै नकारात्मक सर्किट हानेको अवस्था छ । त्यसैले यात्रीले घरबाट बाहिर घुम्न निस्कनुअघि तीनपटक सोच्न बाध्य हुनेछन् ।’
छिमेकी चीन र भारतबाट केही यात्री नेपाल आउन सक्छन् । तर, अहिले नैं भन्न सक्ने अवस्था छैन । दुवै देशका सरकारले आफना नागरिकलाई विदेश भन्दा आन्तरिक यात्राको उर्दी जारी गर्न सक्छ । चीनमा आन्तरिक पर्यटन निकै राम्रो छ । चिनियाँहरु विदा र फुर्सद भयो कि घुम्ने योजना बनाइहाल्छन् ।
चीन र चिनियाँ नागरिकको अर्थतन्त्र पनि बलियो हुँदै गएको छ । महामारीलाई चीनले काबुमा लिइसकेको छ । पहिलो चरणको महामारीपछि चीनले १ अर्ब नागरिकलाई खोप लगाइसकेको छ । चीनले आफ्ना नागरिकलाई स्वदेश भ्रमणका लागि अनुमति दिए पनि विदेश जाने र आउने नियममा कडाइ नै गरेको छ ।
नेपाल–भारत त खुल्ला सिमाना । महामारीको बीचमा पनि काठमाडौं–दिल्ली एअर बबल अन्तर्गत हवाई यात्रा जारी गरे पनि पर्यटक आउन सकेका छैनन् । २० बर्षदेखि भारतीय यात्रीको सेवामा लागेको मेरो एकजना मित्रले आइतवार भने, ‘महामारीपछि भारतीय पर्यटकको संख्यामा कमी आउन सक्छ ।’
नेपालमा तीर्थयात्रा गर्न आउने विशेषगरी दक्षिण भारतीय हुन् । उत्तरभारतीयहरु घुम्न र नेपालमा जुवाँघरमा क्यासिनो खेल्न बढी आउने गर्दछन् ।
नेपालमा चीन, भारतबाहेक अमेरिकन, युरोपियन, रसियन, सार्क र अन्य दक्षिण एसियाली मुलुकबाट पनि पर्यटन आउँछन् । नेपालको हिमाल यात्रा र पदयात्रामा आउने युरोपियन र अमेरिकन पर्यटकहरुको पनि महामारीपछि संख्यात्मक कमी हुने प्रक्षेपण गरिएको छ ।
त्यसैले महामारीलाई परास्त भएको सूचना विश्व स्वास्थ्य संगठनले जारी गरेपछि मात्र यात्रीहरु एक देशबाट अर्को देशमा जाने आउने सहज होला । यो सबै अवस्था सन् २०२५ भित्रै हुनसक्ने आशा राखौं ।
आइतबार कार्यालयमा बसेर मित्रमण्डलीसँग निकै संवाद गरियो । सबैको चासो, चिन्ता र प्रश्न थियो, ‘के तपाईले खोप लगाउनु भयो ?’
मैले त चिनियाँ सरकारले उपहार दिएको (आठलाख) मात्राको खोपको पहिलो चरणमा लगाएँ । साथीहरु भन्दै थिए, ‘लौन ! खोप लगाउने केही उपाय छैन ?’
मैले भनेँ, ‘मैले त पर्यटन व्यवसायीका नाताले पहिलो चरणमा लगाएँ । अब सरकारले चीनबाट खोप ल्याएपछि लगाउने पालो आउला ।’
‘चीन सरकारले दोस्रो चरणमा उपहार दिएको १० लाख खोप ६० देखि ६४ बर्ष उमेरका व्यक्तिको पहिलो चरणपछि असार २२ बाट दोस्रो चरण पनि शुरु गर्ने अभियान नै चलेको छ’, साथीहरुलाई सूचना दिएँ ।
कुराकानी भएकामध्ये एकजना मित्र चीनको कुरा ग¥यो कि विरोध गर्ने, चीनमा लोकतन्त्र नभएको कम्युनिष्ट भन्ने मित्रले भेरोसेल खोप लगाएका रहेछन् । खोप लगाएपछि मित्र अलि नरम भएको कुरा गरे ।
अर्का मित्र भारतको खुब विरोध गर्ने, भारतले नेपालीलाई दुःख दियो, भारतको विस्तारवादको नीति छ, भारतीयहरु यस्ता छन्, उस्ता छन् भन्ने । भारतीय शासन नेपालको राजनीतिमा इतिहासदेखि अहिलेसम्म हस्तक्षेप गर्छ भन्ने मित्रले पहिलो चरणमा भारतमा निर्मित ‘कोभिशिल्ड’ लगाएका रहेछन् । उनले दोस्रो चरणको खोप लगाउन पाइन्छ कि भनेर सल्लाह मागेका रहेछन् । उनले निकै माथिलो तहसम्म पहल गरे पनि खोप लगाउन नपाएपछि भारतीय सीमा क्षेत्र बीरगन्जमा लगाउन सकिन्छ भन्ने सूचना पाएपछि उतैं गएर कोभिशिल्डको दोस्रो मात्रा लगाउन पहल गर्दै रहेछन् ।
मेरा मित्रहरु पनि विचित्रका छन् ।
अर्का मित्रले प्रश्न गरे, ‘तपाई त चीन–भारत दुवै जाने आउने गर्नुहुन्छ ? खासमा हाम्रा लागि कुन देश ठीक हो ? मित्रलाई भनेँ, ‘तपाईको प्रश्न नै गलत छ । हाम्रा लागि दुवै देश छिमेकी हुन् । छिमेकीले आपत परेको बेला सहयोग गरेको छन् । भारत र चीन दुवैले खोप सहयोग गरेका थिए । महामारीको बेला को ठीक को बेठिक भन्ने होइन । हाम्रा लागि चीन–भारत दुवै देश समान हुन् । अहिले कसैले कसैलाई विरोध गर्ने बेला होइन । राजनीति र महामारी अलग कुरा हो । सीमाका समस्या चीनको भन्दा बढी भारततिर छ । भारतका शासकहरुले नेपाललाई हेपाह व्यवहार गर्छन । तर, दुवै देशका जन–जनबीच सौहार्द सम्बन्ध छ । चीनले सबैसँग सम्बन्ध राम्रो र आफनो व्यापार र विकास गर्न सकिन्छ कि भनेर मौका खोजेर हिँड्छ । चीन कम्युनिष्ट समाजवादी अर्थतन्त्रमा विश्वास गर्ने भइसकेको छ । त्यसैले दुवै देशबाट हामीले हाम्रो देशको विकासबाट जनताको समृद्विका लागि के फाइदा लिन सकिन्छ, त्यो मात्र सोच्ने हो ।’
मित्रहरु सहमत भए ।
‘हामी न भारततिर न चीनतिर । जसले सहयोग र सदभाव राख्छ, त्यसबेला धन्यवाद दिने हो । जसले गलत र हस्तक्षेपकारी काम गर्छ, त्यसबेला हामीले गलत भयो भनेर प्रश्न गर्न सक्नु नै हाम्रो आफनो पहिचान हो ।’
मित्रहरु सहमत भए ।
यतिबेला राजनीतिक नेताले आफनो हैसियत देखाएका छन् । तर, जनताका लागि त्यो राजनीतिको कुनै काम छैन ।
जनतालाई यतिबेला चाहिएको खास कुरो चाहिँ खोप हो ।
चीनबाट ४० लाख खोप किनेर ल्याउने कुरा कहाँ पुग्यो ? शासकलाई सोध्न मन लागेको थियो ।
महामारीबीच ४ पटक स्वास्थ्यमन्त्री फेरिने देशका शासकलाई प्रश्न गर्नु बेकार छ ।
देश त रामभरोसामा चलेको छ । चलिरहन्छ ।
जय श्रीराम !
श्रीरामको मूर्तिचाहिँ चितवनको ठोरीमा राखिएको छ ।


