
लाजनीतिः यो हो ‘तमो’ राजनीति
ईश्वरीप्रसाद पोखरेल
उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ।
राजनीतिक नेतृत्वलाई प्रभाव पार्ने तत्व मानिसका आफ्ना वैयक्तिक स्वभाव तथा नेतृत्वको आचरणमा पाइने सत्व, रज र तमो गुणका मात्रात्मक प्रभावहरु हुन् भनिन्छ ।
सत्व प्रभाव
सत्वगुणी नेतृत्वमा कथनी र करणीमा कुनै फरक हुँदैन । जस्तोसुकै वैयक्तिक लाभ र हानीको प्रसंग होस् तर आफ्नो स्पष्ट अडान र विवेकबाट च्यूत नभएर सबै सेवा सुविधा त्याग्न तयार हुने तर आफ््नो हितका लागि कुनै अनुचित सम्झौता, लेनदेन नगर्ने गुण भएको नेतामा सत्व गुणको आधिक्यता हुन्छ । यस्ता नेताबाट देश, जनता र विश्वले कुनै हानी व्यहोर्न पर्दैन तर अहिलेको छलछाम र ढाँट राजनीतिमा यस्ता नेतृत्वलाई जित हाँसिल गर्न र टिक्न मुश्किल पर्दछ ।
रजो प्रभाव
नाम चलेका पौराणिक तथा ऐतिहासिक राजाहरु प्रायः युवराज, राजा हुँदा रजो गुणका प्रधानतामा शासन गर्दथे । ती राजाहरु आफूलाई सत्व गुणको प्रधानताले थिच्न थालेको अनुभव हुनासाथ उत्तराधिकारीलाई राजपाट सुम्पेर राजसिंहासन त्यागी वानप्रस्थ हुँदै पूर्ण सन्यास आश्रममा जान्थे । यसैले सत्व गुणीबाट राजपाट चल्दैन भन्ने अर्थ निस्कन्थ्यो । तसर्थ रजो गुणीले साम, दाम, दण्ड तथा भेदको राजनीतिक कुटनीतिलाई उच्च स्थान दिन्छ । सर्वसाधारण जनताले बाहिर देख्दा नेताबाट आदर्शपनको पूर्ण पालना भएको, न्यायपूर्ण शासनमा जनतालाई खुशी राखेको हुन्छ । तर, नेतृत्वको असली चरित्रचाहिँ कसलाई उठाउने र कसलाई पछार्ने भन्ने तिकडमबाजीमा आवश्यकतानुसार शत्रु र मित्रपक्षबीच शक्ति सन्तुलनको रजो गुणी खेल खेलिरहेको हुन्छ । सत्ता, शक्ति र सामथ्र्यका लागि राजनीतिक सन्धि, सम्झौता गर्ने र कमजोर पक्षलाई सधैँ आफ्नो कुशल नेतृत्वकारी सामथ्र्यले नियन्त्रणमा लिएको हुन्छ । यसर्थ रजो गुणी नेतृत्वको राजनीति प्रायःदीगो र सफल हुने राजनीतिज्ञहरुको मत पाइन्छ । अपवादलाई छाड्ने हो भने संसारमा नै रजोगुणी नेतृत्वकै हातमा शासन सत्तानिर्भर हुन्छ भन्न सकिन्छ ।
तमो प्रभाव
कुनै निश्चित सिद्धान्तमा नचल्ने । फिल्मी शैलीमा भीडभाडलाई प्रभावित पार्न सक्ने । झुट्ठा नारा र विषयमा पनि आत्मविश्वासका साथ भाषण गर्न सक्ने । जनताको मनमस्तिष्क तथा आँखामा भ्रमको अफवाह फैलाएर वाहवाहको प्रशंसा बटुल्न सक्ने । सर्वसाधारण जनतालाई प्रभावित पार्ने क्षमताराख्ने । सत्ता, शक्तिको आडमा विधि, विधान र ऐनकानुनलाई आफूखुशी प्रयोग गर्न साहस गर्ने । आफूलाई सर्वोत्तम सावित गर्न तर्क वितर्कको तोडमरोडमा खप्पिस । आफू अनुकूलको ऐनकानुनको व्याख्या गर्दै राज्यका सबै अंग, प्रत्यंगका पदाधिकारीलाई मोहित गर्न सक्ने । उचित अनुचितको विभेद नगरी विरोधीमाथि ढाड खुस्किने गरी धावा बोल्ने र सबै शक्तिमाथि कब्जा जमाउने । समूहको कुरा, हितकारी कुरा सुन्न पर्ला भनी एकल निर्णयले नेतृत्व चलेको देख्न चाहने । आफूलाई अद्वितीय क्षमताको नेता ठान्ने र सबैले देवत्वकरण गरेर ताली पिटुन् भन्ने नियतले राजनीतिलाई आफ्नै घरको नीति र अनुयायीहरुलाई गोठाला ठान्ने चरित्रको नेतृत्व तमो गुणीप्रधानका हुन्छन् भनिँदो रहेछ । तमोगुणी नेतृत्वमाथिको आरोप सुनिन्छ, यस्तो नेताले आफ्नो विवेकले राजनीति र लाजनीतिको विभेद पर्गेल्दैन । आफै मपाईंमा रमाएकोले तमो गुणी नेतृत्वबाट देश तथा जनता सबै किसिमको जोखिममा हुन्छन् भनिन्छ ।
अति सत्तामोह पतनको बाटो
कुनै बेला बाबु छोरा (मुलायम र अखिलेश) को मनमुटाव र सत्ता, शक्तिको आन्तरिक संघर्ष र पार्टी विभाजनसम्मको घटनावलीलाई विश्लेषण गर्दै भारतीय राजनीतिज्ञ अमर सिंहले भनेका थिए, ‘दौलत, औरत र सौहरत (राजनीतिकशक्तिको अधिकार) यी तीन वस्तु हस्तान्तरण भएपछि फर्किदैनन् ।’ संस्थागत विकेन्द्रित अधिकार तथा जिम्मेवारीमा शिर्षस्थ नेतृत्वबाट हस्तक्षेप वा नियन्त्रण गर्ने वा आफूमा निहित गर्न खोज्नु राजनैतिक पतनको प्रारम्भ मानिन्छ । व्यवहारमा मुखबाट छोडिएको बोली, पिस्तोलबाट चलाइएको गोली र समय चुकेपछिको अमृत सरह औषधीबाट पनि क्षतिबाहेक केही लाभ हुँदैन । भारतका पूर्व प्रधानमन्त्रीचन्द्रशेखरले कुनै बेला राजनीतिक लाजनीतिका बारेमा भनेका थिए, ‘महाकाली दमनकारी चण्डीस्वरुप तथा वेश्या (शरीर बेच्नेवाली) को असली रुपमा एउटै नारी उत्रिएझैँ राजनीति विकृत भएपछि लाजनीति कहाँ पुगेर रोकिन्छ, टुंगिन्छ र नतिजा के निस्किन्छ ? अनुमान गर्न गाह्रो हुन्छ ।’ यसर्थ भन्न सकिन्छ, अति सत्तालिप्सा वा कुर्सीमोह राजनीतिक पतनको बाटो हो ।
जनराजनीति वा समूहस्वार्थ ?
शिर्षस्थ नेतृत्वमा र पार्टी कार्यकर्तामा क्षणे तुष्टा, क्षणे रुष्टाको अस्थीर राजनीतिक चरित्रले दुखद परिणाम दिन्छ । राजनीतिज्ञमा पातलो नैतिकता तथा वैयक्तिक आचरणमा इमानदारिता कमजोर हुनु अर्को समस्या हुन्छ । राजनीतिक पार्टीका सञ्चालकहरुले कमजोर चरित्रका सदस्यहरुको बाहुल्यतामा नेतागिरी चलाउनु तेस्रो समस्या देखिन्छ । नेतृत्व व्यवहारले राजनीतिलाई लाजनीतिमा पुराउन जग तयार भएको कुरा पत्तो नपाउनु चारौँ समस्या हुन्छ । राजनीतिक नेतृत्वमा कथनी र करणीमा फरक देखिनु तथा असल निष्ठाको बाहिरी आवरणमा स्वार्थी समूहको राजनीतिक दलको नेता हुने र समग्र मुलुकलाई दोहन गर्ने पाँचौँ समस्या हुन्छ । नेपाली अभ्यासमा राजनीतिका आडमा सत्ता, शक्ति र सार्वजनिक सेवासुविधा कब्जा गर्न के कस्ता लाजनीतिका खेल खेलिन्छन् भन्ने कुरा कुनै लुकेको छैन । पछिल्लो नेपालको विकृत राजनीतिक अपराधजन्य घटनावलीहरुले सबै प्रष्ट पार्दै गएका छन् । संसदीय पद्धतिमा मौलाएका राजनीतिक सत्ताकब्जा गर्ने ध्येयका गुट, उपगुट र स्वार्थ समूहको विगविगी कति बलियो छ भन्ने छरपस्ट भएको छ । यसले कुनै दलका पछाडि लाग्दा वा नेताको अनुसरण गर्दा वा समूहलाई समर्थन गर्दा उसप्रतिको भाव, अभाव र स्वभावको प्रभाव हुन्छ । यो नीतिमा वशीभूत भएर वैयक्तिक स्वार्थमा चल्ने नेताहरुको बानी हुनाले राजनीति लाजनीतिमा रुपान्तरण हुँदै आफैँ लजाउने अवस्थामा पुग्दो रहेछ, जुन नेपालीहरुले राम्रै अनुभव गर्न पाएका छौँ ।
राजनीतिको अर्थ छलकपट र अविश्वास !
राजनीतिमा नैतिकता र इमानदारिता तथा गहिरो विश्वास भन्ने कुरा केही हुँदो रहेनछ । राजनीतिमा के गर्न हुने र के गर्न नहुने ? केही निधो पनि हुँदो रहेनछ । आपसी वैरभाव, जन्मजन्मान्तर मित्रता र शत्रुताको श्रृङ्खलाबद्ध निरन्तरता पनि राजनीतिमा पाउन कठिन हुँदो रहेछ । यसैले सत्ता, शक्ति र राजकीय साधनस्रोतमा पहुँच कायम गर्न अस्वाभाविक गठबन्धन र दुई विपरित धु्रवका राजनीतिक दर्शन तथा समूहका बीचमा अनौठो मेलमिलाप हुँदा रहेछन् । भारत उत्तर प्रदेशका बाबु र छोरा मुलायम सिंह र अखिलेश यादवबीचको राजनीतिक निकटता र शत्रुतापूर्ण दूरीले पार्टीभित्र र बाहिर के के वितण्डा मच्चाएन ? यी दुईबीचको राजनीतिक सत्ता संघर्ष र सत्ताशक्ति मोहको आपसी भिडन्त कलीयुगी महाभारतभन्दा फरक रहेन । घरपरिवार बाहिर आएर समूहको कुरा गर्दा पछिल्लो अवधिमा यसका निकृष्ट वा उत्कृष्ट उदाहरण नेपाल कम्युनिष्ट पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्र र तिनका नेताहरु हुनपुगेका छन् । पाँच दशक एउटै थाल, भान्सा र सामूहिक विश्वासमा चलेर कठिनताका साथ पार्टी राजनीतिलाई सुरक्षित गर्दै, नेताहरुको रक्षा गर्दै आएका नेताहरु आफै सत्ता, शक्ति र सुविधाका लागि कसरी कुकुरबिरालोझैँ लडिरहेछन् ?
एउटाले अर्कोलाई कसरी नामोनिसान मेटाउन लाग्दा रहेछन् तथा देश र जनतालाई कतिसम्म बेवास्ता गर्दा रहेछन् सबै घामझैँ छर्लङ भएको छ । पोल लगाउने र क्याम्प फेर्ने तथा सत्ता, शक्ति र सेवासुविधाका लागि नैतिकता, इमान र आस्थालाई व्यापार गर्नेहरुको त झन के कुरा गर्ने ?