लुम्बिनीलाई लाइमलाइट

पारसमणि घिमिरे
फोटोः अशोक सिलवाल

सिद्धार्थ गौतम, गौतम बुद्ध अथवा भगवान बुद्ध आजका अरबौ मान्छे हरुको आस्था का केन्द्र हुन् । गौतम बुद्धले आजभन्दा करिब २६०० बर्षअगाडि यो धर्तीमा पदार्पण गरेका थिए । उनलाई बौद्ध धर्मको प्रवर्तक मानिन्छ । तर, धेरै मानिसहरु उनलाई बौद्ध धर्ममा मात्रै सिमित नगरेर सम्पूर्ण मानव जातिको जीवनको लागि आवश्यक बैज्ञानिक दर्शनको प्रतिपादक मान्दछन् । सायद यही भएर होला आजको विश्वमा अन्य धर्ममा आस्था राख्नेहरु पनि बुद्धप्रति छुट्टै सम्मान राख्दछन् । एशियाली महादेशमा मात्र नभएर, पश्चिमी देशका मानिसहरु पनि बुद्धका ध्यान विधि र उनका मानव शान्तिका सिद्धान्तहरु अपनाइरहेका छन् ।

सिद्धार्थ गौतम तत्कालीन राज परिवारमा जन्मे पनि आफ्नो राजसी जीवन त्यागेर सम्पुर्ण मानवकल्याणका उपायहरुको खोजीमा कसरी लागिपरेका थिए भन्ने कुरा हामी सबैले पढेकै हो । भौतिक सुखसुविधा र बनावटी प्रतिष्ठा र प्रतिस्पर्धाको लागि राष्ट्रहरुबीचको विवाद र विवादका कारण भएको झगडाले उत्पन्न अशान्तिले विश्व भाइचारमा नै खलल पारिरहेको आजको अवस्थामा बुद्ध जयन्तीको उपादेयता थप सान्दर्भिक लाग्छ ।

शान्तिका दुत बुद्धको जन्म हाम्रो देशको लुम्बिनीमा हुनु हाम्रो गर्व को विषय हो । बुद्ध धर्म र बुद्धप्रति श्रद्धा भएका तमाम मानिसहरुको लागि लुम्बिनी एक महत्वपूर्ण तिर्थस्थल हो । तर, लुम्बिनीको प्रचार जति हुनुपर्ने हो, हुननसक्नु दुखको कुरा हो । लुम्बिनी मात्र नभएर उनको जीवनसँग सम्बन्धित तिलौराकोटलगायत अन्य ठाँउ पनि हाम्रै देशमा रहनु हाम्रो लागि महत्त्वपूर्ण छ । जसरी ईस्लाम धर्मको मक्का, इसाई धर्मको जेरुशेलम (बेथ्लहम) हरेक बर्ष करोडौं मानिस जान्छन्, हाम्रो लुम्बिनीको महत्वको बारेमा सहि प्रचारप्रसार हुन सके त्यतिकै संख्यामा मानिस हाम्रोमा पनि आउन सक्छन् । यसले हाम्रो देश को अर्थंतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ ।

आजभोलि भौतिक श्रोत साधन र त्यसबाट प्राप्त हुने अस्थाई सुख शान्तिको लागि हामी सबै लम्पट भएका छौ ! वास्तवमा दीगो सुख र शान्ति त हामीले आफू भित्रबाट नै अनुभव गर्न सक्नुपर्छ । यसको लागि हामीले हामीभित्र नै बुद्ध भावनाको विकास गर्न सक्नु पर्छ ।

बुद्धम शरणम गच्छामी !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button