
वीरेन्द्रका पुत्रद्वयको पनि सम्झना गरियो आज
ब्राह्मणपुत्र लकडाउन डायरी – २०
भरत शर्मा
दाजु रावणकोे अपमान सहन नसकेपछि विभिषण प्रभु रामको शरणमा पुगे । रामका गुप्तचर र रामसेनाले विभिषणलाई रामसँग भेट्ने अनुमति दिन इन्कार गरे । तर, हनुमानले भने, शरणमा आउने व्यक्तिलाई स्वागत गर्नुपर्छ, । अन्तत हुनमान र रामको निर्णयपछि विभिषणले प्रमु रामको दर्शन पाए ।
राक्षस कुलमा जन्मिएका रावणका सहोदर भाइ थिए, विभिषण । तर, उनी रामभक्त थिए, त्यो कुरा हुनमान र रामलाई मात्र थाहा थियो । दाजु रावणको अपमान सहन नसकेपछि जाने कहाँ भन्दा, प्रभुको शरणमा । त्यसपछि लंका छोडेर विभिषण आफ्ना सहयोगीका साथ ‘बनवासी राम’को शरणमा गएका थिए ।
रामले उनलाई राजाको सम्मान दिदै ‘लंकेश’ शब्दको प्रयोग मात्र गरेनन्, हिमालय पर्वतबाट बगेर गएको ‘समुन्द्र शंङ्ख जल अभिषेक’ गरी लंकाको भावी नरेशको मान पदवी दिलाए ।
रामले आफ्नै शत्रुको भाइ विभिषणलाई राजाको पदवी दिए । त्यतिबेला रामले भने, ‘आजदेखि विभिषण तिमी मेरो मित्र भयौ ।’ रामको सेवक बन्न गएका विभिषण राजा भए । अन्तत, रामको शक्तिबाट राक्षस कुलमा रहेका राजा रावण, कुम्भकर्ण र रावणका सहयोगी सबैको नाश गरी लंकामा ‘विभिषण’ प्रजावत्सल राजा भएर राज्य गरेको हामीले रामायण कथामा सुनेका हौं ।
कथाले यही भन्छ, रावणको राज्यसत्ता हरण भएपछि लंकामा विभिषण नैं ‘धर्मपरायण राजा’ भए । अहिले पनि रामायणमा राम, लक्षण, हुनमानको मात्र होइन, राजा ‘विभिषण’को नाम अग्रपंक्तिमा आउँछ ।
अहिले हामी सबै जनता ‘विभिषण’को अवस्थामा छौं । महामारीको चपेटामा परेका जनता अभिभावक (राजा, सरकार)को शरणमा छौं ।
सत्ता, शक्तिमा बस्नेहरुलाई रामायण कथा सुनाएर के गर्नु ? त्रेता युगको कथा अहिले कलियुगमा सान्दर्भिक छ र ? यतिबेला कलिको मध्यान्तर र राक्षस सवत्सर चलिरहेको समय छ । समयले यही भन्छ, अहिलेको सरकार र सत्ता सञ्चालकहरुमा पनि राक्षस प्रवृतिमात्र हावी भएको छ । लंकामा रावण राज्य हुँदा विभिषण र रामभक्तहरुले दुःख पाए जस्तो, अहिले नेपाल राज्यका जनताले पनि यही रामायणकालिन शासक रावणको राज्यको जस्तो नियति भोग्नु परेको छ ।
कलिकालले हामीलाई शोक, रोग, भोग र डर मात्र भरिदिएको छ । हामी बाँच्नु र मर्नुको भयमा जीवन यात्रा चलाइरहेका छौं । शास्त्रले भनेको कुरा अकाट्य छ, कलियुगमा मानिससँग धन भयो भने मन हुँहैन, मन भएकाहरुसँग धन हुँदैन । धनीहरु रोगी हुन्छन्, गरिवहरु भोकसँग लडिरहेकै हुन्छन् । सत्य, त्रेता, द्वापर युगका मानिसहरु त हावा र पानी मात्र खाएर बाँचेको कुरा हामीलाई नै असत्य कथा जस्तो लाग्छ । तर, कुरो सत्य हो । यही युगमा शुरुमा बर्षहरुमा हावा र पानी खाएर बाँच्न सकिने प्रमाण हाम्रा ऋषिमुनिहरुले हिमालय पर्वतमा साधनामा बसेका इतिहास पढेका थियौं ।
अहिले खानेकुरा मात्र होइन, हावा र पानी समेत शुद्व खान नपाएका मानिसहरुको शरीरमा शक्ति क्षीण हुँदै गएको अवस्था छ । मानिसको शरीरमा रोगसँग लड्ने ‘इम्युनिटी पावर’ नहुँदा रोग सर्वव्यापी हुन थालेको छ । रोग र भोक नै अहिलेको प्रमुख समस्या हो ।
अहिले हामी ‘विभिषण’ चरित्र बोकेर शरण खोजिरहेका छौं । तर, हामीलाई शरण दिने ‘प्रभु राम’ सत्पात्र नहुँदा बेलाबेलामा मनमनै हामी गर्जने गछौं, भगवान कहाँ छौं, किन हामीलाई यस्तो दुःख मात्र दिएको ।
हामीले ‘प्रभु राम’ नामको शरणमा जान खोजे पनि अहिले प्रभुका रक्षकहरुले हामी कसैलाई भेट गर्न दिएको छैन ।
कलिमध्यान्तरको आखिरी समय भएर होला, मानिसमा अध्यात्मको चिन्तन हुन नसक्दा रिस, राग, द्वेषले रोग, भोग र शोक जन्माएको छ ।
आनन्द, खुसी र शान्ति भन्ने नै लुप्त भएको छ व्यक्तिमा । जब हामीमा यस्ता गुणको कमी हुन्छ, समाजमा अशान्ति, भय र डर पैदा हुन्छ । व्यक्ति र समाजले बन्ने देशमा राजा (सरकार)हरु नैं ‘राक्षस’ प्रवृत्तिका व्यवहार, अहम् र घमण्ड गर्छन् । यस्तो अवस्थामा नाश नभए के हुने ?
मंगलबार ‘गणेश’को आराधना गर्ने बार हो । शिवका पुत्र गणेश अल्छी थिए तर कर्तव्यनिष्ठ थिए, शास्त्रले यही भन्छ । सनातनी कर्म गर्दा पहिले सम्झने पात्र हुन् गणेश । गणेशको आराधना गरेपछि मात्र कुनै सनातनी कर्मकोे शुरुवात गरिन्छ ।
हामी सनातनीहरु संस्कृति र परम्पराका धनी छौं । हरेक दिन, हरेक साता, हरेक महिनाको भिन्न भिन्न महत्व छ । हरेक बारको महिमा र महत्व छ ।
हामी धर्तीमा बाँच्ने भनेको सात बार भित्र हो । त्यो पनि थाहा छ, आइतबारदेखि शनिबारसम्म । यो हामीलाई थाहा छैन कि हामीले गरेका कर्ममा आधारमा दुःख र सुख भोग्नु पर्छ । दुःख पर्दा मात्र प्रभुको शरणमा जाने, सुख र समुन्नत भएको बेला मेहनतको फल भनेर मख्ख हुने समाजमा छौं हामी । उखान नै छ नि ‘आफू नपुगी स्वर्ग पनि देखिन्न’ ।
देशका प्रमुख शासक नै ‘ईश्वर र प्रतीक्षा’ शब्ददेखि डराउँछन् । यस्ता शासकले चलाएको राज्यका जनता कति दुःखी होलान् भनेर भन्नै पर्दैन । कल्पना गरौं, समृद्धिको गफ गरेर ‘प्रतीज्ञा’ गर्न नसक्नेबाट के आशा राख्नु ?
गणेशबार अर्थात मंगलबार सनातनी परम्परा र आस्था अनुसार कर्म गर्नुपर्ने थियो ‘श्राद्र’ । हिजोदेखि एकभक्ति बसेर आस्था र श्रद्रापूर्वक अर्चन गर्दा मनमा अनेक तर्कनाहरु आए । पूर्खा र पूर्वजका स्मृति आए । रामायणकालिन राजा विभिषणको यादले सताइरह्यो ।
शास्त्रमा ‘श्राद्व’ गर्दा सबैभन्दा महत्वपूर्ण कर्म भनेको ‘जलतर्पण’ हो । पुरोहित गर्ग गोत्री भूमिश्वर शर्माले पटक–पटक सोधे, पुर्खालाई मात्र होइन, राजालाई पनि तर्पण दिने चलन छ कि छैन ?
स्वास्थ्य मापदण्डको पालना गर्दै अलि टाढा बसेको पुरोहितले दुईपटक सोधे, राजालाई तर्पण दिने कि नदिने ?
मैले भनेँ, ‘राजा विभिषणदेखि त्रिभुवन, महेन्द्र, वीरेन्द्रको नाम र गोत्र सम्झेर तर्पण दिनुपर्छ ।’
पुरोहितले भने, ‘दीपेन्द्र र निराजनलाई किन छुटाउने ?’
वीरेन्द्रका पुत्रद्वयको पनि सम्झना गरियो आज ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)