
लकडाउन वार्ताः उज्यालो बिहान मुसुक्क हाँस्दै आउँछ
कोरोना महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा लेखिका ईल्या भट्टराई ।
लकडाउन छ । तर, तपाईको कन्फिडेन्स त डाउन भएको छैन नि ?
जीवनका धेरै उकालीओरालीहरुले मेरो मन निकै बलियो बनाइदिएको छ, त्यसकारण विषम परिस्थितिमा पनि म छिट्टै आँत्तिहाल्दिन । अहिलेको यो लकडाउनको बेलामा मनको कन्फिडेन्स वा आत्मविश्वास गुमिहालेको त छैन, तर रोजै एकपछि अर्को आफ्ना चिनारुहरुको कोरोनाको कारणले भइरहेको मृत्युले मन एकतमासको भएको छ । मृत्यु यति सस्तो भएको देखेर दुखचाहिँ पक्कै लागेको छ ।
दिनहरु कसरी बित्दै छन् ? कसरी गर्दै हुनुहुन्छ समयको सदुपयोग ?
दिनहरु त यसैउसै पनि बितेर जाने रैछन् । यतिखेर घरसहयोगी आउन नमिल्ने भएकोले घरायसी कामले र बगैंचाको स्याहारले दिनैभरि अल्झाउँदो रहेछ । हेर्दा खासै काम नदेखिने, तर यिनै कामले सम्पूर्ण दिन खाइदिने । तर, पनि दिनमा केहीबेर पढछु । अहिले पिताजी मदनमणि दीक्षितको जीवन महाअभियान, द गर्ल अन द ट्रेन र ने.प्र.प्र.बाट प्रकाशित पाकिस्तानी महिला लेखन भन्ने कथा संग्रह पढिरहेकी छु । द गर्ल अन द ट्रेन भर्खर सकेँ । त्यो पहिल्यै पढिसकेको पुस्तक थियो तर हालसाले नेटफ्लिक्समा हिन्दीमा त्यही उपन्यासमा आधारित सिनेमा हेरेँ । सिनेमा पुस्तकभन्दा फरक लागेकोले पुस्तक फेरि एकपल्ट पढेकी हुँ । यो हलुको थ्रिलर खालको पुस्तक हो ।
घरकै काममा व्यस्त भइरहने भएकोले लेख्नचाहिँ समय पनि नपाएकोले हो । नत्र लेख्ने विषयवस्तुहरु मस्तिष्कमा ओहोरदोहोर गरिरहेका छन् ।
अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
निश्चय नै अघिल्लो वर्षको लकडाउनभन्दा यसपालिको लकडाउन निकै भयावह भएकोले परिस्थिति धेरै फरक छ । अघिल्लो वर्ष कोरानाले स्थिति गम्भीर बनाउनुभन्दा पहिले नै लकडाउन भएकोले स्थिति डरलाग्दो थिएन । त्यतिखेर कतिजना आफन्तलाई कोरोना लागे पनि उहाँहरुले त्यसमाथि विजय पाउनु भएको थियो । मेरी ९५ वर्षिया आमालाई लक्षणसहितको कोरोना भएता पनि उहाँले त्यसबाट मुक्ति पाउनु भएको थियो । मृत्युदर निकै कम थियो । आफ्ना चिनेजानेका कसैको खासै मृत्यु भएको सुनिएको थिएन । तर यसपालिको कोरोना डरलाग्दो भएर आएको छ । यसले प्रत्येक दिन आफ्ना चिनेजानेका लागि मृत्युको मृुखमा पु¥याएको खबर सुन्ने क्रम निकै बढेको छ । त्यही भएर पनि मन आतंकित छ ।
छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
छिमेक र वरिपरिको वातावरण सामान्य छ । वरिपरि कसैलाई कोरोना लागेको छैन । पछिल्लो लकडाउनमा यो भित्री सडकमा दिनभरि मानिसहरुको ओहोरदोहोर चलिरहेको हुन्थ्यो, तर यसपालि बिहान ९ बजेपछि सबैतिर सुनसान नै हुन्छ ।
यदि लकडाउन नभएको भए, आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?
यदि कोरोनाको कहरपूर्वको जीवनजस्तै सामान्य परिस्थिति भएको भए म कि त पहिलेकै जस्तो घरमै लेखपढ गरिरहेकी हुन्थेँ । अथवा कि त साहित्यिक कार्यक्रमहरुमा भाग लिइरहेकी हुन्थेँ । कि त साथीभाई वा आफ्ना आफन्तहरुको संसर्गमा रमिरहेकी हुन्थेँ । वा आपूm संलग्न भएका संस्थाहरुको मिटिङमा भाग लिइरहेकी हुन्थेँ । वा हुनसक्छ साथीभाई वा आफन्तहरुसंग सिनेमा हलमा सिनेमा हेर्दै गरेकी पनि हुन्थेँ ।
लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
आमाले आफुले दोस्रो विश्वयुद्धमा भोगेको कफ्र्युको कुरा मलाई बाल्यकालदेखि नै सुनाउँदै आउनु भएको थियो । त्यही कफ्र्युसँगको केही सीमासम्मको तादात्म्यता यो लकडाउनले दिलायो । तर, प्रत्यक्ष भेटघाटको, स्पर्शको महत्व र शक्तिको आभाष यो लकडाउनले गरायो । आफन्त र साथीभाइहरुलाई अहिलेको यो स्मार्ट फोनले दर्शनसहितको कुराकानी त गराएकै थियो । र, पनि प्रत्यक्ष भेट्न नपाउँदाको खल्लोपन यसले मेटन सकेन र जीवनै खल्लो हुनपुगेको थियो । यो कुरो सके जीवनभरि सम्झिइन्छ होला । साथै लकडाउनले रोजै कमाएर रोजै खाने वर्गलाई परेको असरको बारे सम्झिँदा त मन जहिले पनि कटक्क खान्छ नै होला ।
के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
वास्तवमा लकडाउन नै समस्याको एकमात्र समाधान होइन, तर थुप्रै समाधानमध्ये एउटाचाहिँ हो । यसले चेनब्रेक गर्न ठूलो भूमिका खेल्छ । तर, यो नै मुख्य समाधान भने पक्कै होइन । भारतमा दोस्रो लहरले त्यतिविधि आतंक मच्चाएको देख्दादेख्दै पनि सरकार बेफिक्री भएर बसिरह्यो । छिमेकमा त्यस्तो भयावह स्थिति देखेपछि सबैभन्दा पहिला सबैकुरा छाडेर आफ्नो सीमाहरु बन्द गरी हवाइजहाज पनि रोकी सबैप्रकारको आवागमन रोकी आफ्नोतर्पm यो महामारी सोझिएमा गर्नु पर्ने सबै उपायहरु अपनाउन सकेको भए सके लकडाउन गर्नुपर्ने आवश्यकता हुँदैन्थ्यो होला । बिना लकडाउन नै स्थिति सहज र सामान्य हुनसक्थ्यो होला ।
कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
२०४२ सालमा मेरो सारसौंदो ससुराबुवाको अचानकै भएको देहावसानपछि मेरो मन निकै विचलित भएको थियो । आफ्नो नजिकमा पहिलो मृत्यु देखेर पनि होला, मेरो मनमा यो जीवनको क्षणभंगुरताको बोधले निकै गहिरोसँग जरा हाल्यो । त्यसै घटनाले मेरो भित्री मनस्थितिलाई केही सीमासम्म अहम्विहिन बनाइदियो । म सम्बन्धहरुलाई निकै महत्व दिन थालेँ । झन् अहिलेको यो महामारीले जीवनलाई यति सस्तो बनाइदिएको बेलामा मान्छेले आफ्नो अहम्लाई सर्वोपरि ठान्ने सोच कति महत्वहीन भन्ने कुरा प्रष्ट देखिएको छ । यो महामारीले सबै मनुष्यलाई उसको हैसियत चिनाइदिएजस्तो लागेको छ । वास्तवमा प्रकृतिको यो चेतावनी बुझेर मनुष्यले आफुलाई बदल्नुपर्ने अवस्था आएको छ ।
भविष्यप्रतिको तपाईंको धारणा के छ ?
भविष्यप्रति खास त्यस्तो केही धारणा बनाएकी त छैन । तर, मबाट कसैलाई पनि केही हानीनोक्सानी नपुगोस् भन्ने कुरालाई महत्व दिंदै यसैगरी लेखपढ् गरी सबैसँग राम्रो सम्बन्ध राखी जीवन बितोस् भन्ने चाहना छ ।
केही थप्न चाहनुहन्छ ?
प्रत्येक अँध्यारो रातपछि उज्यालो बिहान मुसुक्क हाँस्दै आउँछ भने भैंm अहिलेको यो विषम परिस्थिति पनि पक्कै टरेर जानेछ । २०७२ सालको भुइँचालोपछि पनि हाम्रो जीवन सामान्य भएको थियो । त्यसकारण अत्तालिन त हुँदैन, बरु सचेत भएर जीवनयापन गर्नुपर्छ । तर, मनुष्यले यो महामारीले सिकाएको पाठ राम्ररी नै सिकेर आफ्नो अहम् त्याग्नुपर्छ । आफुलाई बदल्नुपर्छ । तर, मनुष्य नै यस्तो जीव हो जसले कुनै घटनाबाट पनि कुनै पाठ सिक्दैन होला ।
मेरा आफ्ना यी धारणा राख्ने मौका दिनुभएकोमा म नेपालनाम्चाप्रति हार्दिक धन्यवादसहित आफ्ना भनाईहरु टुंग्याउँछु ।



