
प्रविधिको विकास र चुनौती

हरिप्रसाद गौतम
मान्छेले कुनै पनि काम गर्न वा समस्या समाधान गर्न आवश्यकताअनुसार नयाँ नयाँ विधिहरू अपनाउने गरेको पाइन्छ । यस्ता विधिहरू समयसँगै परिवर्तन भइरहेका हुन्छन् । छिटो, राम्रो र सजिलो तरिकाले प्रभावकारी ढङ्रगले काम गर्न अपनाइने वैज्ञानिक तरिका नै प्रविधि हो । ‘प्रविधि’ शब्द ‘विधि’ शब्दमा ‘प्र उपसर्ग लागेर बनेको व्युत्पन्न शब्द हो । यही शब्द आज विज्ञान क्षेत्रको चर्चित शब्द बनेको छ । अहिले छिटो, सस्तो र सजिलो विधिको महत्त्व जति जति बढ्दै छ, त्यति त्यति नयाँ समस्या पनि हामीसामु देखा परेका छन् । त्यसैले प्रविधिको प्रयोगसँगै आउने त्यस्ता समस्यासँग जुध्नु आजको चुनौती बनेको छ ।
अहिले प्रविधिकै कारण हरेक क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको छ । आफूले थालेको काम सजिलैसँग पूरा होस्, समयमै पूरा होस् अनि परिणाम पनि राम्रो आओस् भन्ने चाहना सबैको हुन्छ तर काम गर्दै जाँदा समस्याहरू पनि देखिँदै जान्छन् । यस्ता समस्या हटाउन पनि नयाँ प्रविधिका यन्त्रहरू प्रयोगमा ल्याइन्छन् । ती नयाँ प्रविधिले काम छिटो हुने, लागत कम लाग्ने, उत्पादन गुणस्तरीय हुने र काम गर्न पनि सजिलो हुने हुन्छ ।

प्रविधिको क्षेत्र जति फराकिलो छ, यसको इतिहास पनि त्यति नै पुरानो छ । यसको विकास एकैचोटि यो अवस्थामा आइपुगेको होइन । समय र आवश्यकताले यसको जन्म र विकास भएको हो । हिजोको जङ्गली अवस्थाको मान्छेले आफ्ना आवश्यकताअनुरूप प्रविधिलाई प्रयोगमा ल्याएको हो । खेतीपाती, पशुपालन आदिबाट जीवन चलाउने मान्छेले आफ्नै मौलिक प्रविधिको प्रयोग गरी उत्पादित अन्न, दुग्धपदार्थ आदिलाई प्रयोग र भण्डारन गरेको थियो । ढीँकी, जाँतो, सिलौटो, कोल, पानीघट्ट आदिमा तयार हुने कुराहरू आज सोझै तयारी वस्तुका रूपमा उपलब्ध हुन थालेका छन् । कृषि मात्रै होइन, यातायात, विकास-निर्माण, शिक्षण क्षेत्र, चिकित्सा, कार्यालयलगायतका क्षेत्रलाई प्रविधिले सुधार गर्दै लगेको छ । वैज्ञानिक खोजअनुसन्धानको क्षेत्र त आफैमा प्रविधिमय छ नै । यसका साथै प्रविधिले चामत्कारिक फड्को मारेको क्षेत्र सञ्चार क्षेत्र हो । यसको वर्णन गरेर साध्यै छैन ।
प्रविधिको विकास आवश्यकताले भएको भए पनि यसको तीव्रता चरम गतिमा छ । यही तीव्रताभित्र मान्छेमा प्रतिस्पर्धाको होड चलेको छ । अरूलाई हरेक क्षेत्रमा उछिन्न खोज्ने प्रवृत्तिले विकासलाई सकारात्मक गतिमा अगाडि बढाइरहेको र नयाँ नयाँ कुराहरूको आविष्कार भएको भए पनि यसमा नकारात्मक परिणाम आउन थालेका छन् । अरूभन्दा छिटो, सजिलो र सस्तो प्रविधिको विकास गर्ने होडमा गुणस्तरीयता घट्न थालेको छ । आफ्नो विजयका लागि जस्तो पनि विधि अपनाउनाले प्रभावकारितामा कमी आउन थालेको छ । भौतिक सुखसुविधाका लागि मान्छे स्वार्थी बन्दै गएको छ । परिणामस्वरूप विकासका नाममा बेइमानीका धब्बाहरू देखिन थालेका छन् ।
विज्ञानको चमत्कार सूचना प्रविधि तथा विकास निर्णाणमा मात्रै सीमित छैन । नयाँ खोज, अनुसन्धान आदिबाट पत्ता लागेका आविष्कार र सिद्धान्तहरू क्रमशः समस्या समाधान गर्ने बाटो हुँदै डरलाग्दा जैविक हात हतियारको उत्पादन र प्रयोगको होडबाजीसम्म पुगेका छन् । प्रविधिको गलत प्रयोगले सूचना र गोप्यताको चुहावट हुँदा मान्छेको भौतिक-अभौतिक सम्पत्ति धरापमा छ । एकातिर एआईका कारण सिर्जनशीलतामा चुनौती थपिनाले नक्कली र सक्कली सिर्जना छुट्याउन गाह्रो परिरहेको अवस्था छ भने अर्कातिर यन्त्रमानवको विकासले धेरैको रोजगारी खोसिएको छ र अनावश्यक नियन्त्रण पनि भोग्नुपर्ने अवस्था सिर्जना हुँदै छ । यी र यस्तै चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएका छन् । यस्तो स्थिति आउनु भनेको मानव जाति र मानवता धरापमा पर्नु हो । जब मानव स्वयम्ले नै समय छँदै यस्ता कुरामा ध्यान पुर्याउँदैन भने यसको डरलाग्दो परिणाम हामी सबै मानव जातिले भोग्नुपर्ने हुन्छ । त्यसैले यस्ता कुरामा हामी सबै जना समयमै सचेत हुनु जरूरी छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

