
मेरो ईश्वरले मलाई हेर्नुहुन्छ

जानवी ठकुरी
तपाईं जुनसुकै धर्म मान्नुहोस्, जुनसुकै भगवानलाई आफ्नो इष्ट सम्झेर पूजा ,आराधना गर्नुहोस्, यदि तपाईं आफ्नो भगवान (इष्टदेव),परमेश्वरमा विश्वास अनि भरोसा गर्नुहुन्छ भने तपाई जुनसुकै परिस्थितिमा पनि अघि बढ्न सक्नुहुन्छ । ईश्वरप्रतिको तपाईको विश्वासले तपाईंलाई राम्रा कामहरु गर्न अभिप्रेरित गर्दछ । तपाईंको सोच स्वतस्फूर्त रुपले सकारात्मक हुन्छ । तपाईंको जीवनमा जस्तोसुकै नराम्रो परिस्थिति आइपर्दा पनि तपाईंको त्यो भित्री सकारात्मकताले तपाईंलाई त्यो परिस्थितिसँग लडेर अघि बढ्न प्रेरित गर्छ ।
रातपछि दिन, अध्याँरोपछि उज्यालो हुन्छ भने जस्तै दुःखपछि सुख पनि आउँछ एक दिन भन्ने झिनो आशाले पनि तपाईंलाई नराम्रो कर्ममा लाग्नबाट बन्चित गर्छ । संसारका सम्पूर्ण जीवजिवात्मामा प्रेम, सद्भावले एक अलग्गै किसिमको खुशी महसुुस गराउँछ । तपाईं घरपरिवार, आफन्त सबैबाट प्रताडित भएको अवस्थामा पनि कुनै पन्छि वा पशुको हावभाव, व्यवहारले तपाईमा खुशी ल्याइदिन्छ ।
तपाईंको मन उदास भएको बेला आकाश धुम्म देखेर सोच्नुहोस्, ओहो मेरो दुःखमा प्रकृति पनि उदास छ । अनि मन प्रशन्न भएको बेला खुल्ला आकाश, चराचुरुङ्गी, पुतलीको नाच अनि कुनै पशुको हास्यास्पद व्यवहारमा सम्झिनुस्, मेरो खुशीमा अरु कोहि नभए नि प्रकृति मसँगै रमाएको छ । कहिलेकाही पशुपन्छिको लागि केही दानापानी दिने पनि गर्नुहोस्, अपाङ्ग,असहायहरुलाई आफ्नो क्षमता अनुसार दान दिनुहोस्, भगवानले कुनै न कुनै माध्यमबाट तपाईंको मद्दत गर्नुहुनेछ । जसरी अरु पशुपन्छिले बास अनि खाना यो प्रकृतिमा नै पाउँछन्, हामीले पनि ईश्वरमा विश्वास गरेर कर्म गर्दै जानुपर्छ, कुनै दिन तपाईं भोको सुत्नु पर्दैन ।
एक चोटि विश्वास गरेर त हेर्नुहोस्, आफ्नो कर्म सँगसँगै ईश्वरको नाम जपेर त हेर्नुहोस्, अरुलाई देखाएर चिच्याएर गर्नु पर्ने होइन । मनमनै ईश्वरलाई सम्झिनुस्, ईश्वरको कृपा अपरम्पार छ । आफुले भोगेको सानातिना खुशीको लागि पनि ईश्वरलाई धन्यवाद भन्नुहोस्, ईश्वर सधै खुशी हुनुहुन्छ, सधैं तपाईंको साथमा हुनुहुन्छ ।
बस्, आत्तिनु भएन, एक दिन त अवश्य मेरो दिन आउँछ, मेरो ईश्वरले मलाई हेर्नुहुन्छ । जस्ले जस्तो व्यवहार गरे पनि सबैको हिसाबकिताब माथि हुन्छ भनेर सत्कर्म, सत्विचारमा हिडौं, ईश्वरप्रतिको भरोसा सधैं कायम राखौँ ,जस्ले जन्म दियो यो धर्तीमा उसले तपाईंको साथ कदापि छोड्दैन भन्ने विश्वास मनमा राखौं, एक दिन अवश्य राम्रो हुन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)