दशैँ, जसले उर्जा जगाउँछ, चेतनालाई उचाइमा लान्छ र आफ्नो आभामण्डललाई शुद्ध बनाउँछ
रितु शाक्य
शरद ऋतु सकेर हेमन्त ऋतु सुरु हुँदै गर्दा नेपालमा चाडपर्वहरु शुरु हुन थाल्छन् । अहिले यो समय पनि हाम्रो महान चाड वडादशैं सुरु भैसकेको छ । यो समय मौसम पनि अति उपयुक्त रहेको छ । वडा दशैं हाम्रो लागि रास्ट्रिय चाड पनि हो । यो चाड सामाजिक, संस्कृतिक अध्यात्मिक एवं शारीरिक हिसाबले पनि अति उपयुक्त छ । यो समय अत्यावश्यक कर्म गर्ने सस्थाबाहेक सबै कार्य क्षेत्र विद्यालय, कलेज सबैमा लामो बिदा दिने गरिन्छ । यो समय हर्ष उल्लासका साथ खुशी उत्साह उमंगका साथ मिठो खाई, राम्रो लगाई सबै परिवार एकसाथ बसेर मनाउने गरिन्छ ।
सोह्र दिनको पितृ श्राद्धको साधना सकेर स्वयं आफ्नो जीवनलाई पूर्णता दिलाउने यो विजय दशमीसम्मको नवरात्रको साधना अत्यन्त महत्वपुर्ण छ । यो साधना धार्मिक, मनोवैज्ञानिक, अध्यात्मिक दृस्टीकोणले हेर्दा संसारकै सर्वोत्कृष्ट साधनामा पर्छ । नवरात्र साधनामा सबै कामलाई एकैछिन रोकेर सम्पूर्ण ध्यान स्वयं आफुमा लगाएर गरिन्छ । यो साधना रात्रीमा जागरण बसेर गरिन्छ किनकि राति हल्ला कम, शान्त हुन्छ र मन एकाग्रह गर्न सहज हुन्छ । घटस्थापनामा प्राचिन तथा सर्वोत्कृष्ट अन्नको रुपमा रहेको जौलाई बालुवा मिस्रित माटोमा रोपेर माथिबाट छोपेर अध्यारोमा फलाउने गरीन्छ । कारण यो अन्न जस्तै उत्कृष्ट बिज हामीभित्र पनि छ र घट यानिकी हाम्रो शरीरमा त्यो बिजलाई बिजारोपण गर्नुको संकेत गरिएको हो । जसरी बिज माटोको भित्र आफ्नो पुरानो अस्तित्वलाई मेटाएर पूर्णताले युक्त नयाँ जीवनको विस्तार गर्छ त्यस्तै यो साधना हाम्रा कमि कमजोरीलाई हटाएर एउटा सबल अस्तित्वमा रुपान्तरण हुनु हो ।
दशैं साधनामा सुपाच्य सात्विक आहार लिने गरीन्छ जसले गर्दा आफ्नो शरीरलाई स्वस्थ भएको अनुभव हुन्छ । यो समय आफ्नो ध्यानलाई भजन किर्तनमा लगिन्छ ताकी मन विचार शुद्ध होस् जसले गर्दा मानसिक समस्या समाधान हुन मद्दत मिल्छ । नवरात्र साधनामा पूर्ण धैर्येताको अभ्यास हुन्छ जसले जीवनमा धैर्य गर्न सिकिन्छ । यो चाडले सामाजिक रुपमा आफ्ना अग्रजलाई सम्मान गर्न सिकाउछ । आफन्त या परिवार्जन्संग मनमुटाव भएको भए त्यो सब बिर्सेर पुनः सम्बन्धमा सुधार गर्ने वातावरण तयार गर्छ ।
हाम्रा पूर्वज ऋषिमुनीबाट अत्यन्त बैज्ञानिक ढंगबाट यस्ता चाडपर्व बनाइएका छन् । नवरात्रका प्रत्यक दिनमा देबी भवानी दुर्गे माँका अनेक रुपको आराधना गरीन्छ जसमा साधकले आफूभित्र सत्यता, स्वअध्यन, अहंकार बिसर्जन, क्षमाशिलता, सर्व कल्याण भाव, सेवा भाव, मधुर वाणी, लक्ष्यसंग एकाकार र मुमुक्ष्यजस्ता गुणहरुको विकास गर्न सक्छ । देवीदेवताका पूजाको अर्थ केवल अक्षता फुल मिठाई मात्र नभई देवी देवताका गुणहरुको अनुशरण गर्नु पनि हो । अष्टमी र नवमीमा वली दिने प्रचलन छ । त्यसको वास्तविक अर्थ नबुझी मानिसहरुले निर्दोष निमुखा पशुहजुरको वली दिने गर्छन् । यो बिल्कुल अज्ञानता हो । पशु वलीको अर्थ आफ्ना राक्षशी अवगुणलाई काट्नु थियो तर मानिसहरुले पशुलाई वली दिएर धर्म होइन पाप चै गरिरहेका छन् जुन कुरा बुझ्न अत्यन्त जरुरि छ । आफुलाई सम्पूर्ण दोषबाट मुक्त गरिसकेपछि आफुमा सद्गुणको विकास गरी आफ्ना अग्रज, बुवाआमा, गुरुजनको हातबाट टिका आशिर्वाद र दिब्य उर्जा ग्रहण गर्ने गरीन्छ तर आजभोली ठुलोको हातबाट टिका आशिर्वाद भन्दा दक्षिना दिने चलन चलेको छ जसको कुनै महत्व नै छैन । वास्तविक अर्थ नबुझी मनाइएको पर्वले खासै अर्थ राख्दैन । दशैं त आत्मरुपान्तरण गर्ने एउटा दिब्य अवसर हो । यसमा प्रत्यकले प्रयोगात्मक ढंगले आफूभित्र परिवर्तन भएको अनुभव गर्न सक्छ ।
आफुभित्र उर्जा जगाउने, आफ्नो अभामंडललाई शुद्ध बनाउने, आफ्नो चेतनाको स्तरलाई उचाइमा लाने यस्तो दिब्य महान चाड विजयादशमी तथा बडा दशैं २०८१ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।
दुर्गा भवानीले सबको रक्षा गरुन्।
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)