आमा थरिथरिका

सरिता शर्मा शैली

सन्तान थरिथरिका भन्ने त सुन्दै आएको हो तर आमा थरिथरिका भनेको सुन्दा चाहिँ अलि अनौठो लाग्न सक्छ । कानलाई जे सुन्ने बानी परेको छ त्याे भन्दा फरक सुन्दा अनौठो लाग्नु पनि स्वाभाविक नै हो । तर फरक कुरा सुन्न, देख्न र अनुभव गर्न पनि आफूलाई तयार राख्नु पर्ने रहेछ ।

सुनिआएको परम्परागत परिभाषाका बारेमा त केही भनिरहनु नपर्ला । किनकि त्यो त सर्वजाहेर नै छदैछ । तर जनमानसले सुनेको परिभषा भन्दा फरक प्रकारका आमाहरू पनि हाम्रै समाजमा नभएका होइनन् । ती मध्ये केही यहाँ प्रस्तुत गरिएको छ । हुन त यहाँ उल्लेख गरेका बाहेक पनि धेरै प्रकारहरु हुन सक्छन् । तर अहिलेलाई भने केहि मात्र–

पहिलाे- ममतामयी आमा– ममताकी खानी अर्थात परम्परागत परिभाषा अनुसारको स्वरूप । यसमा धेरै लेख्नु आवश्यक नपर्ला । अनि अधिकांश आमाहरु यसै प्रकार अन्तर्गत पर्दछन् ।

दोस्रो- विद्रोही वा हिम्मती आमा– सन्तान र आफ्नो हितका लागि समाजसँग टक्कर लिन सक्ने आमा । सन्तानको सुरक्षा र संरक्षणका लागि जस्तोसुकै परिस्थिति आएपनि डटेर सामना गर्न सक्ने आमा । हरेक चुनौती स्वीकार गर्दै आफ्नो र सन्तानको अस्तित्वको रक्षा काे लागि लड्न सक्ने आमा ।

तेश्रो- मौसमी आमा– मौसम अनुसार आफ्नो स्वभाव परिवर्तन गर्ने आमा । सन्तानको राम्रो र सुखद समयमा माया दर्शाउने अनि सन्तानलाई दुःख कष्ट वा समस्या परेमा “तेरो भाग्य नै त्यस्तै रहेछ” भनेर उम्कने आमा । यी आमाहरुको व्यवहार मौसम जस्तै परिवर्तन भइरहन्छ । अनि आफ्नै सन्तानहरु बिचमा भेदभाव गर्न पनि राम्ररी जानेका हुन्छन् यी आमाहरुले ।

चौथो- डन आमा– यी आमाहरुकाे स्वभाव अलि कडा हुन्छ । यिनीहरू लोलोपोतो देखाएर माया दर्शाउन जान्दैनन् । अनुशासन मन पराउँछन् । सन्तान सक्षम र आत्मनिर्भर बनून् भन्ने कुरामा जोड दिन्छन् र त्यहि अनुसार मार्ग दर्शन गर्छन् । आफ्नो जीवन आफ्नै तरिकाले बिताउन सकुन् भन्ने चाहन्छन् । “खाना खाइस् कि खाइनस” भनेर सोध्न फोन गर्दैनन् । न त “कति कमाइस, मलाई पनि अलिकति पठाइदिन्छस कि” भनेर नै सोध्छन् । यस्ता आमा आफै पनि आत्म निर्भर हुन्छन् । अनि सन्तान पनि निडर र आत्मनिर्भर रहून् भन्ने चाहन्छन् ।

पाँचौं- नौटङ्की आमा– एक थरी आमा जो सन्तान त जन्माउँछन् तर आफ्नो कर्तव्य पूरा नगरी (हुर्काइ, बड़ाई, पढाई) नगरी बीचमै छोडेर हिँड्छन् । सन्तानको बाल्यकाल कति कष्टकर र दुःखद भयो हाेला भन्ने सोच्दैनन् । अनि अर्काले जन्माएर हुर्काइ, बडाई, पढाई गरेका सन्तानहरुप्रति भने खुबै माया गरेझैँ गरी नाटक प्रदर्शन गर्दै ममतामयी बन्ने प्रयाश गर्दछन् ।

आजलाई यत्ति नै, बाँकी पछि कुनै दिन । क्रमशः

अनुरोध- यहाँहरुले पनि केहि थप्न सक्नु हुन्छ कि आ-आफ्नो अनुभवको आधारमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button