पढाइ नपुग्ने पो भयो त राजनीति गर्न ?

बाबुराम पौडेल
शंकरनगर, रुपन्देही

यो देशको एकिकरणका अभियन्ता पृथ्वीनारायण शाह, कालू पाँडेहरु, जङ्गबहादुरदेखि आधुनिक नेपालका राजा महेन्द्र, विश्वेश्वरप्रसाद, गणेशमान, कृष्णप्रसाद भट्टराई, तुलसीलाल, पुष्पलाल, मदन भण्डारीहरु कुनै विश्वविद्यालयका डिग्रीधारी होईनन् ।

तर हालैको भूटानी काण्डका गृहसचिव, अघिल्ला अक्तियार प्रमुख दीप बस्न्यात, जेल बसेर निस्केका ३ जना भूपू आईजिपीहरु चाँही डिग्रीधारी हुन् । जागीरको २० बर्षमा २२ वटा घर र २७ करोड जोडने बहादुर राष्ट्रसेवक पनि त डिग्री वाला हो नि । प्रतिकात्मक उदाहरणबाहेक बिस्तृत नलेखौं ।

सायद २०४७ पछि पिएचडी नगरेको मान्छे योजना आयोगको उपाध्यक्ष नै भएन । तर नेपालको विकासको खास खाका खै त ? ईन्जिनियरिङ्गमा डिग्री पढेकै मान्छे डिई सुई भएका छन् त । तर खै त नि विकास निर्माणमा गुणवत्ता ? डिग्री गरेकैले विश्वविद्यालय, कलेज पढाउँछन् नि, कता छ त नि शैक्षिक गुणस्तर, स्वाभिमानी स्वावलम्बी पाठ्यक्रम ? किन शैक्षिक अराजकता छ ? डिग्रीधारी कतिपय अध्यापकहरु नै किन राजनैतिक दलका झोले, लफङ्गा, संस्कारहीन छन् त ? त्रि वि वि मा राखिएको ईलेक्ट्रोनिक हाजिरी मेसिन नै प्राध्यापकले चोर्यो रे नि त । चोर तस्कर समात्न राखेको सरकारी संयन्त्र नै चोर तस्करसँग मिल्यो नि त । अब देशको ढुकुटी सुरक्षार्थ राखेको सुरक्षा फौजले नै ढुकुटी नै रित्याएर हिंड्छ कि भन्ने पो डर लाग्ने भै सक्यो त ।

राजप्रशादभित्रै राज परिवारको वंश सखाप भएको, पारिएको देश हो नि त यो । कहाँ कसलाई कुन आधारमा भरोसा गर्ने हो खै ?

जनप्रशासन चलाउने मान्छे छनोट गर्न नेपालमा लोकसेवा आयोग छ । त्यो आयोगले लिने परीक्षा वांछित योग्यतावालाले नै दिने हुन् । तिनीहरु हज्जारौं मध्येबाट अब्बल भनेर छानिएकै मध्ये चामलमा बियाँजस्तै बाहेक बाँकी लगभग सबै किन भ्रष्ट, जनपिराहा, सेवाग्राहीलाई रैति ठान्ने, घुस्याहा, कामचोर, राजनैतिक दलको भतुवा भएर निस्कन्छ ?

हाम्रो पूर्बीय दर्शनका अध्येता, दर्शनशास्त्रीहरु कुनै पनि विश्वविद्यालय पढेका थिएनन् । हज्जारौं बर्ष पहिले साधना र खोज अनुसन्धानबाट संसारलाई सुखी खुसी समृद्ब हुने र भावी पुस्तालाई उन्नत अब्बल पृथ्वी हस्तान्तरण गरेर जाने भनेर मान्छेलाई अथाह ज्ञानामृत, दर्शन र शास्त्रका ठेली दिएर गए । चर्चित वैज्ञानिकहरुले पनि डिग्रि नै लिएको भन्ने सुनिएन ।

अपवादबाहेकका हाम्रो देशका ईतिहासकार, चर्चित कवि, साहित्यकार, कलाकार पनि डिग्रीधारी होईनन् । उनीहरुले यो देशको वर्तमान र पछि सम्मलाई धेरै दिए । जानेहरु गुन लगाएर गए ।

एउटा कुनै राजनैतिक दलको केन्द्रीय सदस्य हुन नेपालका खैराँते कलेज पढेर कथित डिग्री लिएको हुन पर्ने ? के गुणवत्ता छ र यहाँको पाठ्यक्रममा ? पार्टी भित्र कसको डक्ट्रिन हो यो योग्यताको मानक ? मस्तै यानिकी, डक्टरेट गरेका मान्छेको हो कि यो नयाँ र कुनै राजनैतिक दलमा आजसम्म नभएको आबिष्कार ? कम पढेको कार्यकर्ता वा अभियन्ता तल ग्रासरुट तिरै घोटिएर खिईनु पर्ने, महाप्रस्थानतिर जानू पर्ने हो ? पढ्दै नपढेको तर डिग्री वा पिएचडी गरेका मान्छे बराबर मताधिकारको ओजन भएको जनताले पार्टीको केन्द्रीय कार्यालयसम्म पनि टेक्न, त्यतातिर हेर्नसम्म नपाईने पो हो कि त ?

गत मङ्सीरको संसदीय चुनावमा तपाईं डिग्रीधारीहरुलाई हेरेर जनताले मत दिएको हैन नि हजुर । पुराना राजनैतिक दलहरुको कूशासन, अकर्मण्यता, भ्रष्ट्राचार, अराजकता, नीति विधिबिहीनताबाट वाक्क दिक्क भएको जनताले बिकल्प खोजेको थियो । त्यो बिकल्पको रुपमा तपाईहरु खडा भएको देखेर जनताले ब्यालेटमा मत खन्याउन तयार भएर थियो । पुराना दलबिरुद्ध त्यो एक प्रकारको जनबिद्रोह नै थियो । त्यो जनमत मत थाप्ने झोला लिएर मुलुकभर हज्जारौं नपढेका, डिग्री नभएकाहरु पनि आफ्नै पकेटको खाएर नखाएर खटेका थिए भन्ने ख्याल गरियोस् है ।

ग्राह्य हुने भए सुझाव दिने कुरा धेरै छन् । विपक्षीहरु र परिवर्तन बिरोधीहरु खुईल्याउन कृयाशील भएका बेला आफै भित्र कचपाँई गर्नु अनुपयुक्त हो । र पनि यस्ता अतिसयोक्तिपूर्ण निर्णयले पार्टीको सुदूर भविष्यको क्षितिज अलि परसम्म देखिन्न है । डिग्रीवाला निर्णय अबिलम्ब फिर्ता लिनुस् । हैन भने जनसहभागितामूलक राजनीति हुन्न, हुँदै हुन्न । जनता भड्क्यो भने त सम्हाल्न सकस पो हुन्छ त हजुर ।

र, देश बनाउन, चलाउन, सुशासन दिन, स्वाभिमान बचाउन, दृढ इच्छ्याशक्ति चाहिन्छ । हुटहुटी र कानून कार्यान्वयनको हकमा अलिकता अधिनायकवादी सोच पनि । डिग्री त फगत निश्चित विषय वा विधाको शैक्षिक योग्यता मात्र हो, प्राप्ताङ्कको मार्कसिट न हो । पढेको वा नपढेकै भए नि संसार बुझेको बहुआयामिक विषयको ज्ञाता हुन पर्छ मुलुक हाँक्न, विधि विधान बनाउन र कार्यन्वयन गर्न ।

नेपालको जय होस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button