जीवन यत्तिकै सार्थक बन्दैन

जीवनमा अनुशासनको महत्त्व

हरिप्रसाद गौतम

‘शासन’ शब्दमा ‘अनु’ उपसर्ग लागेर ‘अनुशासन’ शब्द बनेको हुन्छ । शब्दको यो संरचना हेर्दा यसको आधार पदमा नै ‘शासन’ भन्ने शब्द रहेको हुँदा यस शब्दले नियम र कानुनभित्र बाँधिने कुरालाई सङ्केत गरेको छ । यही हिसाबले हेर्दा पनि ‘अनुशासन’ शब्दले कुनै पनि नियममा बाँधिएर रहनु भन्ने अर्थ दिने कुरा सजिलै अनुमान गर्न सकिन्छ । त्यसैले अनुशासनले जीवनलाई व्यवस्थित ढङ्गले चलाएर सफलता दिलाउने हुँदा हाम्रो जीवनका हरेक क्षण र क्षेत्रमा यसको ठुलो महत्त्व छ ।

हाम्रो यो जीवन अमूल्य छ । पूर्वजन्म र पुनर्जन्म हुन्छ वा हुँदैन भन्ने कुरा कसैलाई पनि थाहा छैन । एकचोटि प्राप्‍त भएको यो मानव चोलालाई हामी कसैले पनि निरर्थक हुन दिनुहुँदैन । निरर्थक हुन नदिनु भनेको नै सार्थक जीवन जिउनु हो । जीवन यत्तिकै सार्थक त बन्दैन नै । यसका लागि जीवनमा सफलता हात-लाग्नु पर्दछ । त्यो सफलता हात पार्नका लागि हामीले अनुशासित भई लगनका साथ कडा मिहिनेत गर्नुपर्दछ । जसरी नियमविपरीत खेल्ने खेलाडी खेलबाट निकालिन्छ, उसैगरी अनुशासनहीत व्यक्ति पनि समाजको नजरबाट गिर्न पुग्दछ । यसबाट पनि जीवनको सार्थकतामा अनुशासनको अपरिहार्यता कति रहेछ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

अङ्ग्रेजीमा एउटा भनाइ छ: “वेल्थ इज गन नो थिङ इज गन, हेल्थ इज गन समथिङ इज गन बट् क्यारेक्टर इज गन एभ्रीथिङ इज गन” । यस भनाइले मानिससँग भएको धनलाई निकै तुच्छ कोटिमा राखेको छ । त्यसैगरी यस भनाइले मान्छेको स्वास्थ्यलाई धनलाई भन्दा अलि बढी महत्त्व दिएको छ तर उसको चरित्रलाई चाहिँ जीवनको सर्वस्व नै ठानेको छ । अर्को भाषामा भन्ने हो भने यही चरित्र नै जीवनका लागि नभईनहुने सम्पत्ति हो र यसलाई निर्माण गर्ने आधार भनेकै अनुशासन हो । यसबाट पनि जीवनका लागि अनुशासन कति महत्त्वपूर्ण छ भन्ने कुरा राम्रैसँग बुझ्न सकिन्छ । जन्म र मृत्युबिचको अवधि नै हाम्रो जीवन हो । यसै अवधिभित्र पनि जीवनका निकै अघिल्ला र निकै पछिल्ला क्षण हाम्रा वशमा हुँदैनन् । ती क्षण क्रमशः अबोध र अशक्त भएर बित्तछन् । बाँकी बचेको क्षणमा जब हामी हुर्कँदै जान्छौँ, त्यही अवधिमै हामीले जीवनका लागि चाहिने आधारभूत कुराहरू सिक्दछौँ । त्यही सिकाइले हाम्रो बाँकी जीवनलाई सफलतातर्फ उन्मुख बनाउँछ । तिनै सिकाइभित्र पर्ने ज्ञानगुन र नियमका कुराको समष्‍टि रूप नै अनुशासन हो । योबिना जीवनको हरेक क्षेत्र अपूरो र अव्यवस्थित हुने हुँदा हामी मानवको जीवनलाई व्यवस्थित ढङ्गले सफल पार्न यसको निकै ठुलो महत्त्व रहेको कुरा बुझ्न सकिन्छ ।

यसरी समग्रमा भन्नुपर्दा अनुशासन भनेको सफल जीवन जिउनका लागि हामीले पालना गर्नुपर्ने नियम हो । यसले हामीलाई धैर्यवान् र चरित्रवान् बनाउँछ । यसका साथै यसले हामीलाई जीवनका लागि चाहिने सुख, शान्ति, ऐश्‍वर्य र प्रसिद्धि प्राप्‍त गर्न प्रेरितसमेत गर्ने हुँदा हामी सबैले अनुशासित भई जीवन जिउन सिक्नुपर्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button