
सिकेकामध्ये कतिपय गर्नुपर्ने अनि कतिपय गर्न नहुने रहेछ भनेर सिकियो
सरिता शर्मा ‘शैली’
पाँच दशकको याे जीवन यात्रामा धेरै कुरा सिकियो । कुनै पढेर सिकियो, कुनै गरेर सिकियो, कुनै सुनेर र देखेर पनि सिकियो भने सवैभन्दा धेरै भोगेर सिकियो अर्थात अनुभवले सिकायो । सिकेका कुरामध्ये कतिपय गर्नु पर्ने रहेछ भनेर सिकियो अनि कतिपय गर्न नहुने रहेछ भनेर सिकियो । यसरी जीवन ज्ञान सिक्ने प्रक्रिया चलिरह्यो र आज पर्यन्त चलिरहेको छ ।
सिकाइका क्रममा कहिले व्यक्तिबाट सिकियो, कहिले परिस्थितीबाट सिकियो, कहिले अनुभवबाट सिकियो, कहिले ब्यवहारबाट सिकियो । यस्तै आदि इत्यादि तरिकाबाट सिक्ने, जान्ने र बुझ्ने क्रम चलिरहेकै छ। कतिपय कुरा खुशी भएर वा उत्साहित हुँदै सिकियो । कतिपय आवश्यकता र बाध्यताले सिकायो । त्यस्तै कतिपय निराश र दुःखी हुँदै पनि सिकियो । कतिपय ज्ञान सहज वातावरणमा सिकियो, धेरैजसो अत्यन्त असहज अनि कठिन समयमा सिकियो ।
जीवन ज्ञान सिक्ने क्रममा कसैले सकारात्मक भावले सिकाए, कसैले सामान्य भावले सिकाए भने कतिपले नकारात्मक र तिरस्कारको भावले पनि सिकाए । कसैले सहयोग गरेर सिकाए, कसैले असहयोग गरेर, बाधा व्यवधान उत्पन्न गरेर सिकाए । कसैले कृतज्ञता प्रकट गरेर सिकाए भने कसैले कृतध्न भएर सिकाए अनि कसैले उपेक्षा र अपमानको व्यबहारले पनि सिकाए अझ भनौं मानिसहरूले गरेका विविध व्यवहारबाट मैले सिक्ने मौका पाए ।
जे होस्, यो जीवन ज्ञान सिक्ने क्रममा सकारात्मक भावले ज्ञान दिने साकार तथा निराकार अनि प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पूर्ण गुरुहरू प्रति सादर नमन् गर्दछु अनि ज-जसले नकारात्मक भाव र व्यवहार देखाएर मलाई ज्ञान दिए उनीहरू प्रति पनि आभार ब्यक्त गर्दछु । किनकी उनीहरूका तुक्ष्य बोली र व्यवहार नै मेरा लागि हौसला र प्रेरणाका साधन बने । जे जस्तो अवस्था आए पनि हरेस नखाई अनि हतास नभई अघि बढ्न सक्ने बनाए ।
अन्त्यमा, यो जगत् रुपी विश्व- विद्यलयबाट जीवन रुपी यात्राका क्रममा विविध ज्ञान सिक्ने अवसर पाएकोमा आफूलाई भाग्यमानी महसुस गर्दछु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
एकदम सुन्दर संस्मरणात्मक लेख।