
थारूको ‘ह्याप्पी न्यु इयर’
कृष्णराज चौधरी
माघे संक्रान्तिलाई थारुहरुले नयाँ बर्षको रुपमा मनाउँछन् । माघी पर्वलाई थारू समुदायमा स्वतन्त्रताकोे पर्व, उन्मुक्तिको अवसरको रुपमा पनि चिनिन्छ । मुक्त कमैयाको घोषणा हुनु २०५७ साल साउन २ अघि मालिकको घरमा एक वर्षको लागि करारमा राखिएका कमैयाहरु मालिकबाट विदा लिन चाहेमा माघीमा फुक्का हुन्थे । माघीमा उनीहरु आफनो बारेमा निर्णय गर्न स्वतन्त्र हुन्थे ।
यो पर्वलाई ठाँउ विशेष अनुसार माघी, माघ, माघी डेवानी, खिचरा आदि नामले पनि मनाइन्छ । पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म तराईमा बसोबास गर्ने थारूहरु माघीलाई विशेष महत्वको साथ मनाउने गर्दछन् । माघी थारूहरुको एक चाड मात्रै नभएर यही अवसरमा गाउँको अगुवासम्म चुनिने भएकोले यसको आफ्नै महत्व छ ।
माघीलाई थारूहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रुपमा लिईन्छ । माघे संक्रान्तिको अघिल्लो दिन अर्थात पुष मसान्तको अन्तिम दिन घर घरमा सुंगुर काट्ने चलन छ, जसलाई “जिता मरना दिन” भनिन्छ । यद्यपि पूर्वी क्षेत्रका कतिपय थारुले सुंगुर काट्दैनन् । पुष मसान्तमा घर घरमा सुंगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछा, घोंघी लगायतको परिकार बनाएर जाँड, रक्सीको साथ खानपीन गरेर रातभर मघैटा नाचका साथ रमाईलो गर्ने चलन छ । यसबेला सखियै हो, माघीक पिली गुरी जाँर भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई “धमार” भनिन्छ ।
माघे संक्रान्तिको दिन विहान सबैजना नजिकैको खोलानालामा नुहाउन जान्छन् । धारा, इनार, कुवाको पानी बाँधिएको हुने जनबिश्वासले कुलो, नहर, खोलानालामा मात्रै नुहाइन्छ । यो दिनलाई स्थानीय भाषामा ‘माघ लहान’ भन्ने गरिन्छ । नुहाईसकेपछि घरमा आई दाल,चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशिर्वाद लिइन्छ । माघीको दिन स्नान गरी तिलको आगो आगो ताप्नाले वर्ष भरीको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ ।
दाङ्गदेउखुरीमा पर्ने धार्मिक स्थल रिहार थारू समुदायको परम्परागत देवथानको रुपमा रहेको छ, जहाँ थारु महिला पुजारी रहेकी छिन् । त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरुको ठूलो घुइचो लागेको हुन्छ । त्यहाँ भारतबाट समेत ठूलो संख्यमा तीर्थालुहरु आउँछन् । त्यहाँ स्नान गरेमा आफूले चिताएको मनोकामना पुरा हुने, निसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास रहेको छ । यसैगरी दाङदेउखुरीकै गोबरडिहाको जंगलवा कुट्टीमा पनि माघे सक्रान्तिमा विशेष गरेर थारू समुदायको मानिसहरु रातभरी जाग्राम बसी पूजाआजा गर्छन् ।
माघीको दिन नुहाएर दाल, चामल छोई सकेपछि मान्यजनहरुसँग ढोगभेट गरी आशिर्वाद लिने चलन छ । यसलाई सेवाढोग वा सेवासलाम लग्ना भनिन्छ । यो प्रक्रिया घरबाट सुरु भई गाउँभरी नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन रहेको छ । जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामको लागि पस्नुपर्ने हुन्छ । मन मिल्ने समूह समूह भै सेवासलाम लाग्नेहरुको लर्को हुन्छ । यसले समुदायमा एकता, प्रगाध सम्बन्ध, आपसी सहयोग सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । कसैसंग रिसिइबी छ भने माघी नुहाएर, सेवाढोक लागेर एकापसमा अंकमाल गरी मेलमिलाप गरिन्छ । त्यसैले माघीलाई सम्बन्ध प्रगाध बनाउने दिनको रुपमा पनि लिइन्छ ।
माघीमा आफ्नो चेलीबेटीहरुलाई उपहार स्वरुप पाहुर दिने चलन छ, जसलाई थारू भाषामा “निसराउ” भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउ स्वरुप चेलीबेटीहरुलाई उपहार दिइन्छ । माघी मनाउन माइती आएका छोरीचेलीहरु घर फर्किनेबेला निसराउ लिएर जान्छन् । माघीको जाडोमा दांगमा सासु ससुरालाई उपहारको रुपमा एक भारी दाउरा समेत लगिन्छ । माघको दोश्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई “खिचरहवा” भनिन्छ ।
पुष मसान्तमा आ आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गते देखि नयाँ हिसाबकिताब शुरु गर्ने प्रचलन पहिल्यैदेखि थारू समुदायमा चलिआएको छ । माघीमा नै घर परिवार भित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपाती लगायत यावत अन्य व्यवहारहरुको नवीकरण गरिन्छ । माघीमा भाई भाई एक ठाँउमा बसेर खानपीन गर्दै घर सल्लाह गर्ने गरिन्छ । घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने जस्ता कुराको छलफल हुन्छ । घर परिवारभित्र जिम्मेवारी पाएका सदस्यले माघीमा स्वतन्त्र भएर हेरफेर गर्न सक्दछन् । जस्तै गरढु्रै (घरमुली बन्ने) गर्ने, “बहरिया” (घर बाहिरको कामको जिम्मेवारी) आदि कामको जिम्मेवारी परिवर्तन माघीमा नै गर्ने गरिन्छ । यही बेला घरमा मिलेर बस्ने या छुट्टिने कुराको समेत सल्लाह हुन्छ । भाई भाईमा मन नमिले माघीमा नै चल अचल सम्पत्ति अशंबण्डा गरिन्छ । यसलाई घर फुटाई पनि भनिन्छ । अंशबण्डामा कुनै भाईलाई मर्का नपरोस् भनेर गाउँका अगुवा महटाँवा, बरघरहरुको अनिवार्य उपस्थितिमा गरिन्छ ।
लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ । लोकतान्त्रिक किन हुन्छ भने अगुवा चुन्ने सो भेला (भुरा खेल) मा एक घरका उमेरदार सदस्य अनिवार्य उपस्थित हुनुपर्छ । यसरी गणतन्त्रात्मक अभ्यास थारु समुदायमा पहिलेदेखि चल्दै आएको छ । गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो हप्ताभित्रै छलफल गरिन्छ । बैठक गाउँको अगुवाको घरमा बस्छ । अगुवालाई ठाउँ बिशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ । बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठ लगायत विकासको काम सम्बन्धी समीक्षा हुन्छ । आगामी वर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने बिषयमा छलफल हुन्छ ।
सोही बैठकले बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनौट गर्छ । यही खेलले गाउँलाई अनुशासित बनाउन नयाँ नियम कानून पनि बनाउँछ । नियम उलंग्घन गर्नेलाई बरघरको अध्यक्षतामा बसेको बैठकले जरीबाना तोक्छ । यसरी थारुहरुको नयाँ बर्ष माघी एउटा पर्व मात्रै नभई यसले समुदायमा शक्ति सञ्चार गर्ने विविध आयाम बोकेको हुन्छ ।