
जब टुट्छिन् आमा, त्यसको भरपाई सन्तानले कहिल्यै गर्न सक्तैनन्
आमा
दुर्गा कार्की
आमा शब्द शब्दकोशकै सबैभन्दा प्यारो, गहकिलो र सम्माननीय शव्द हो । आमा शव्द उच्चारण गर्दैमा नशानशामा प्रेमको धारा प्रवाह भएको अनुभूत हुन्छ । स्वयम आमाको काखमा पल्टन पाउँदा अझ संसारकै सुखको अनुभूत हुन्छ । मानौॅ शीतल छहारीमा सिरसिर हावाको बेगले सारा शरीरलाई स्पर्श गरिरहेको छ ।
आमा ती हुन् जो आफूभन्दा जन्माएका सन्तानलाई बढी माया गर्छिन् । आमा हरेक कुरा सिकाउने पहिलो गुरू हुन् । ती सन्तान भाग्यमानी हुन् जुन सन्तान आमाको न्यानो काखको शीतल छहारीमा जीवन बिताउन पाउँछन् । आमाको काखमा पल्टिँदा उनका औॅलाहरुले जब कपाल मुसार्छिन्, हातगोडा दुख्यो कि भनेर मिचिदिन्छिन्, मनभित्र स्वर्गीय आनन्दको अनुभूति हुन्छ । उनको निस्वार्थ माया यसरी छचल्किन्छ कि त्यसको कुनै मूल्य हुँदैन ।

आफ्नो गाँस काटेर सन्तानको पेट भरिदिन्छिन् । यसैमा उनलाई सन्तुष्टि मिल्छ । आफ्नो सन्तान दिनप्रतिदिन हुर्कँदै गर्दा सुन्दर भविष्यको कल्पना गर्छिन् । सन्तानको परिकल्पना गर्दागर्दै आफ्नो उमेर बितेको पत्तै हुँदैन । सन्तान टाढा हुँदा कत्ति कल्पिन्छिन्, तड्पिन्छिन् । आमाको लागि सन्तान नै सर्बस्व हुन् । सन्तानलाई कतै चोटपटक लाग्दा मात्रै पनि उनको मुटु दुख्दछ । आफू बिरामी परौँ बरु सन्तानलाई कहिल्यै केही नहोस् भन्ने चाहना राख्छिन् र भगवानसँग यही प्रार्थना गर्छिन्।
संसारकै खुसी मिलोस् भन्ने चाहना सदैव रहन्छ । त्यसैले त कथमकदाचित आफूले जन्माएका सन्तानले चित्त दुखाए भने नराम्रोसँग टुट्छिन् आमा । त्यसको भरपाई सन्तानले कहिल्यै गर्न सक्तैनन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)